'प्रधानमन्त्रीलाई धक्का दिएर लडाउन खोज्‍नेहरु पार्टी फुटाउन लागे'
प्रचण्डको सेकतापकै कारण एमालेभित्र अन्तर्विरोध

गत फागुन २३ सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै दलका रुपमा स्थापित गर्‍यो। सर्वाेच्चले एमालेलाई २०७५ जेठ ३ गते भन्दा अगाडिको अवस्थामा फर्काएपछि नेता ईश्वर पोखरेल एमालेका महासचिव भएका छन्। पोखरेलले पहिले नेकपा र अहिले एमालेमा आएको विवादको दोष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। उनले अहिले एमालेमा देखिएको अन्तर्विरोधमा प्रचण्डले ‘सेकतापका' गरेका कारण उत्पन्न भएको दावी गरेका छन्। संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले भित्रको अन्तरकलह उत्कर्षमा पुगेका बेला न्युज एजेन्सी नेपालले महासचिव पोखरेलसँग गरेको कुराकानी :

नेकपा एमाले भित्र के भएको हो अहिले?

नेकपा एमालेभित्र जे कुरा भइरहेको छ। त्यो सार्वजनिक नै छ। तर यसको कारण बुझ्न खोज्नुभयो भने त्यसका दुईवटा पाटा छन्। पहिलो पाटो भनेको हिजो नेकपा एमाले र माओवादी केन्द्रको बीचमा जुन किसिमले पार्टी एकीकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने। राजनीतिक स्थायित्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो। तर सारमा के भयो भन्दा विचारलाई व्यवस्थित गर्ने काम अलिकति भएको थिएन। संगठनलाई व्यवस्थित गर्ने काम भएको थिएन  र नेतृत्वको मामिलामा व्यवस्थित गर्ने काम भएको थिएन।

किन त्यस्तो आलोकाँचो निर्णय भयो त?

पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरू थिए, ती केन्द्रहरूमा रहेका आग्रहहरू हावी भए। ती आग्रहहरू हावी भएकाले त्यो महान र पवित्र एकता परिपक्व हुन नपाइकन सम्पन्न भएको थियो। त्यस कारण के भन्न सकिन्छ भने यो एकताका बेलामा जुन भ्रूणहरूमा समस्या थिए। त्यही समस्या प्रकट भयो अहिले। त्यसको उत्कर्षको अवस्था हो अहिले।

अर्को कारण भनेको नेकपा एमालेभित्र लोकतान्त्रिक अभ्यास गर्ने नाममा हिजोदेखि नै पक्षधरता, गुटबन्दीको स्थिति थियो। त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो त्यसलाई व्यवस्थित गरिसकेका थिएनौँ। त्यही व्यवस्थित गरि नसकेकै अवस्थामा हामी एकताबद्ध भयौँ। एकतावद्ध भएपनि पूर्व घटकहरू भित्र रहेको अन्तर्विरोध चलायमान नै थिए। त्यही अन्तर्विरोध दुरुपयोग भएर अहिले यो स्थिति आएको हो। त्यसकारण अहिले जे भएको छ, यसको पृष्ठभूमिमा यो कारण हो भनेर बुझ्नुपर्छ। कारण ठिक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ भनेर भन्न सकिँदैन।



केही कमजोरीका कारण आज यो अवस्था सिर्जना भयो। अब कसरी समाधान गर्नुहुन्छ?

समाधान के हो भने अहिले जुन उचाइमा हामी पुगेका छौँ। यही उचाइमा चुनौतीहरू पनि आए। जुन उचाइमा चुनौतीहरू आएका छन्। यही उचाइमा चुनौतीको सामना गर्ने सामर्थ्य पनि हामीले आर्जन गर्नुपर्छ। त्यो सामर्थ्यका लागि एउटा भावनात्मक आधार भनेको कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउनुपर्छ। यो राष्ट्रको आवश्यकता हो।



जनताको आवश्यकता हो। विगतमा हामी जो जसले कमीकमजोरी गरेको भएता पनि त्यसलाई एउटा वस्तुनिष्ठ भएर त्यसको आत्म समीक्षा पनि हुनुपर्छ। आत्मसमीक्षा गर्दा आफ्ना कमि कमजोरीहरूलाई रियलाइज गर्दा सानो भइँदैन। कमजोर भइँदैन। झन त्यसले शक्ति प्राप्त हुन्छ।

म सबै साथीहरूलाई के भन्न चाहन्छु भने आज यतिबेला नेकपा एमालेको नाममा जे जस्ता कुराहरू भइरहेका छन्। त्यो बढो दुःखद् छन्। ती जनता र कार्यकर्ताले मन नपराउने कुराहरू हुन्। ती कुरा हामीले रोक्नुपर्छ  र नयाँस्तरमा एकताका लागि पहल र प्रयत्न गर्नुपर्छ।  

पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो।  यो कर्तव्य हाम्रो कुनै वैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन। यो राष्ट्रिय आवश्यकता हो। त्यसकारण कमीकमजोरी भए हामी आफैँबाट भए। अब यसलाई सच्याउने आँट पनि हामी आफैँले गर्नुपर्छ।

यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हुँदैन होला नि त? 

यो कमजोरीका कुरा मात्रै होइन। पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि सतप्रतिशतमा बुझ्नु हुँदैन। सापेक्षतामा बुझ्नुपर्छ। प्रतिशतमा बुझ्नुपर्छ। 

भिडियो

कमिकमजोरी भएका हुनसक्छन्। कहीँ धेरै मात्रामा कमजोरी भएका हुनसक्छन्। कहीँ कमी होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ। गम्भीर कमजोरी भएपनि त्यो नेकपा एमालेभित्र कै साथीहरूबाट भएका हुन्। त्यसलाई सच्याउने आँट गर्नुपर्छ। त्यो साहस गर्नुपर्छ। 

मैले अघि नै भनेँ, कमजोरी सच्याएर मान्छे सानो भइँदैन। यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिलाई पनि उसको मोरल हाई पनि हुन्छ। त्यो गर्नु जरुरी छ। के गर्न हुने र के गर्न नहुने भन्ने कुरा त केही आधारभूत सीमारेखाहरू त हुन्छन् नि। जस्तो पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो। पूर्व पार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो। अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो। यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्यौं

अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ। छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौँ। त्यो भन्दा अझै छिटो हो भने माघ मा नै गरौ। अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिन। महाधिवेशनको तयारी गरौँ, गरौँ अनि त्यो नगरिकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा भो भने त्यो कस्तो देखिन्छ? त्यो कुन खालको कमजोरी? त्यो कुन खालको गल्ती? त्यो हामीले बुझ्नु जरुरी छ।

एउटा पार्टीको दुईवटा समूहले आफूलाई वैधानिक भनिरहेका बेला आम जनताले के मूल्यांकन गर्ने?

देशभरीका पार्टी कार्यकर्ताले यी विगतमा भएका कुराहरूलाई कसरी मुल्यांकन गर्ने? यो आज वस्तुनिष्ठ समिक्षा गर्नुपर्छ। आत्मालोचना गरिरहनु पर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ। अर्को कुरा निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले वाम गठबन्धन बनायौँ। 

त्यसबेला हामीले तात्कालिन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेर लडियो। विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो। 

त्यसैले पनि उहाँ विजयी बन्नुभयो। हाम्रो पार्टी विजयी बन्यो। संसदीय दलको नेता सर्वसम्मत हुनुभयो। संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो। माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रुपमा उहाँलाई नै प्रस्तुत गर्यो। दुई वर्ष बित्न पाएको छैन, बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउने जस्तो खालको कुरा गर्यो भने कस्तो देखिन्छ? यो कुरा कुन तहको वदनियतपूर्ण कुरा हो भनेर भन्नुपर्छ।

वरिष्ठ नेता माधव नेपाल पक्षले त नेपाल कम्युनिष्ट पार्टी माओवादीसँगको एकता बिथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भनिरहेका छन् नि त?

कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाइयो। त्यो अभियोग अत्यन्तै संगीन छ। त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन मात्रै नालायक होइन केपी ओली ,पार्टी सदस्य पनि रहन नसक्ने। त्यत्ति मात्रै होइन फौजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालका अभियोग छन्। 

एउटा संगीन अभियोग लगाइसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो? त्यो जग कसरी टिक्न सक्थ्यो? त्यस्तो बेलामा प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीले आफैँ खुमलटारमा गएर पुष्पकमल दाहाललाई भन्नुभयो तपाईँले जुनखालको अभियोग लगाउनुभएको छ यो अभियोगलाई म अस्वीकार गर्छु तपाईले फिर्ता लिनुहोस्। पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौँ। 

यदि गर्नुहुन्न भने आधा शताब्दीको मेरो राजनीतिक जीवनमाथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ। जनता न्यायाधीश हुन्। न्याय दिने जनतासँग मैले जानुपर्छ भनेर उहाँले भन्नु भयो। तर त्यसलाई गम्भीरताका साथमा लिइएन। कुरो के हो भने अन्तर्विरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त हुनुहुन्थ्यो पुष्पकमल दाहाल। पूर्व एमालेभित्र विभिन्न कारणले अन्तर्विरोधहरू थिए। त्यही अन्तर्विरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो। 

दुर्भाग्यले त्यसबेला एमालेका नेताहरू पनि हिजोदेखिका सञ्चित अन्तर्विरोधहरूलाई पुष्पकमल दाहालजीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोज्नुभयो जस्तो लाग्छ। यो आरोप होइन। मेरो बुझाइ हो।
 
यस बीचमा धेरै राजनीतिक घटना भए, अबको कार्यदिशा के हो?

हिजो नेकपा भएको कालमा जेसुकै भएको होस्। अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौँ। अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो। त्यो पूर्व अवस्थामा आइसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्नका लागि कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ।

गाउँघरतिर घर झगडा धेरै हुँदा मानो छुट्याउने चलन छ। अहिले मानो छुट्याएर घर झगडा मिलाउन सकिँदैन?

तनावका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई। सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो अब हामी अलग–अलग रहौँ भनेर भन्छन्। त्यो अभ्यास पनि प्रारम्भ भएको छ। राजनीतिमा त के भो र? राजनीति यही समाजमा गर्ने हो। हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरूले जज गर्ने हुन्। त्यसकारणले यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहले नै गर्दा भइहाल्छ केही पनि फरक परेन।

अब त्यसमा चाहिँ सम्बन्धित् पक्षहरू जो–जो छौँ। हाम्रो व्यवहार नचल्ने भयो। व्यवहार नचल्ने भएपछि आफ्नो–आफ्नो गरौँ है भन्ने खालको कुरो हुन्छ नि। त्यसो भन्न पनि सकिन्छ।  अब हेरौँ कसरी जान्छ?

नेकपा एमालेको महासचिवका नाताले म के भन्न चाहन्छु भने हामीले त्यसो गर्नु भन्दा पनि अहिलेको अवस्थामा भरसक आफ्ना कमीकमजोरीहरू सच्याउने , आत्मसमीक्षा गर्ने , यसलाई जित र हारको विषय बनाउनु हुँदैन। हामीले गल्ती गर्यौ। हामीले नै गर्यौ। ठिक गर्यौ हामीले नै गर्यौ। गल्ति कमजोरीको नोक्सानी हामी सबैले नै व्यहोर्नुपर्छ। लाभका अंशियार पनि हामी आफैँ हौँ।                                      

दोश्रो कुरा ...यो नै सबैभन्दा उत्तम र गर्नुपर्ने कुरा हो। म सबै साथीहरूलाई  यही आग्रह गर्न चाहन्छु। त्यसलाई कुनै तनावमा इरिटेसनमा र कुण्ठा पालेर, द्वेष भावका साथ प्रस्तुत नभइकन लागेका कुरा खुलस्त भन्नुपर्छ। त्यो भन्दा फरक ढंगले जानुहुँदैन। कमीकमजोरी छन् भने पनि वीथ डिउ प्रोसेस सच्याउने के–के कुरा हुनसक्छ सच्याउनु पर्छ। यसरी जानुपर्छ भन्ने मलाई लाग्छ। 

होइन यदि त्यसरी जान नसक्ने हो भने पनि किन हामीले तत मम गरिरहन पर्यो र? राजनीति आफ्नो स्वेच्छाले गर्ने हो। एउटा मान्यतालाई लिएर हामीले राजनीति गर्ने हो। देश र जनताको नाममा राजनीति गर्ने भनिसकेपछि के गर्दा इज अफ माइल्ड (मनको चैन) हुन्छ। त्यस अनुरुप गर्न सकिन्छ।

आजको संसदीय दलको बैठकमा उहाँहरू (नेपाल पक्ष) नआउने कुरा छ, तपाईहरु के गर्नुहुन्छ?

नेकपा एमालेको नवौँ महाधिवेशनले निर्वाचित गरेको अध्यक्ष केपी ओली। निर्वाचित गरेको महासचिव म। हाम्रो विधानले अध्यक्ष र महासचिवले कार्यकारी हैसियतले भूमिका खेल्छन्। अध्यक्ष र महासचिवको तर्फबाट नै बैठक बोलाइएको हो। संसदीय दलको बैठक दलको नेताका तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्री जीले बोलाउनुभएको हो। त्यो बैठकमा आउनु सबैको कर्तव्य हो। बैठकमा हामीले बोलाएका छौँ उहाँहरू आउनुहुन्छ। त्यस विषयमा पनि आवश्यकता अनुसार छलफल हुन्छ। 

विशेष बैठक भनेर हामीले २८ गते (फागुन) गरेका थियौँ। विशेष बैठक किन जरुरी थियो भने नेकपा एमालेको विधानलाई यज इट इज राखेर बैठक नै गर्न सकिँदैनथ्यो। त्यस कारणले पनि विशेष बैठक भनेर गर्नुपर्थ्यो। बाधा अड्काउ फुकाउने केही–केही बैठकहरू नगरी नहुने थियो। त्यो गरिसकेपछि बैठक औपचारिक ढंगले जानसक्थ्यो। अध्यक्ष र महासचिवको हैसियतमा त्यो बैठक आयोजना भयो। त्यो बैठकले मूलतः ७ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरू तयार गरेको हो। त्यो प्रस्ताव ७ चैत्र बैठकमा प्रस्तुत गरिन्छ।

दुई समूहका आ–आफ्ना अडानले कार्यकर्ता  झनै भड्किएलान् कि भन्ने चिन्ता छैन? के बुझ्ने एमालेको मतदाताले?

हाम्रो पार्टीको जीवन कस्तो छ भने। हामीले अनेक उतारचढाव झेलेका छौँ। उतारचढाव भोगेका छौँ। हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन्। एकता गर्दाको अनुभव पनि छ। 

एकता टुटेर दुःख पाएको अनुभव पनि छ हामीसँग। अनि ती अनुभव प्राप्त गरेका नेता साथीहरू पनि हुनुहुन्छ। हाम्रो पार्टीले अनेक खालका उतारचढावहरू झेल्दै आएको छ। हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ। संयमता अपनाउनुपर्छ ।

एकले अर्कालाई आरोप लगाउने जस्तो मात्रै कुरा गर्नुहुँदैन। हामीले यतिबेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ। आज नेकपा एमालेको जीवनमा देखा परेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने, यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो? त्यसमा केन्द्रीत भएर बहस छलफल केन्द्रीत गर्ने। 

हामीले कुनैपनि किसिमको अधिनायकवाद मञ्जुर गर्दैनौँ भन्दैछौँ। हाम्रो संगठनात्मक सिद्धान्तमा कतिपय चाही अधिनायकवादको गन्ध आउने केही कुरा छन् भने त्यो अभ्यासलाई पनि पुन व्यवस्थित गर्नुपर्ने जरुरत छ। पार्टीले सरकार सञ्चालन गर्ने भनेको कुन किसिमले हो? हाम्रो जस्तो देशको विशिष्ठ अवस्थामा पार्टीले सरकार चलाउने भन्नाले के–के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई ख्याल गर्नु जरुरी छ। र लोकतान्त्रिक अभ्यासको नाममा हामीले विगतमा जे जे कुरा गरेका छौ त्यसलाई पनि रिभिज गर्नुपर्ने जरुरत छ।

नेकपा एमालेभित्र अहिले देखिएको अन्तरसंघर्षको निकासले कस्तो स्वरुप लिन्छ होला आँकलन गर्न सकिने अवस्था छैन। महासचिवको हैसियतले के भन्नुहुन्छ?

देशभरिका कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सबै साथीहरूलाई भन्न चाहन्छु यतिबेला उत्तेजना र आवेशबाट होइन, संयमताका साथ हामीले अगाडि बढ्नुपर्छ। र विगतका अनुभवहरूलाई पनि सम्झना गर्नुपर्छ  । पार्टी एकता सबैभन्दा ठूलो चीज हो।

एकतामा आँच नपुगोस् भन्नका लागि हामी सबैले संयमता धैर्यता साथ अगाडि बढेर, अब नयाँ ढंगले पार्टी आन्दोलनलाई कसरी अगाडि बढाउने, यो चुनौतीलाई कसरी सामना गर्ने भन्ने बारेमा सोच्नुपर्छ। सबै साथीहरूलाई म भन्न चाहन्छु, चुनौतीका गर्भभित्र अवसरहरू नि लुकेका हुन्छन्। त्यो अवसरलाई चिर्नुपर्छ। त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने काम गर्नुपर्छ।

  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १३:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया