एमालेमा गएका माओवादी नेता पुरानै घरमा फर्केलान्?
फकाउँदै नारायणकाजी श्रेष्ठ नेतृत्वको कार्यदल

सर्वोच्च अदालतको फैसलाबाट साविक कायम नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका नेताहरुलाई फर्काउने कसरत जारी राखेको छ। एमालेमा गएर त्यतैको जिम्मेवारी लिइसकेका नेताहरुलाई एक पटक स्पष्टीकरण सोधेको माओवादीले नारायणकाजी श्रेष्ठ नेतृत्वमा कार्यदल नै बनाएको छ। 

त्यसकै पहिलो पहललस्वरुप १ चैतमा पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमालेको कमिटीमा राखिएका नेता–कायर्यकर्तालाई आफ्नै घर फिर्ता बोलायो। बैठकले केपी ओली नेतृत्वको सरकारका मन्त्रीलाई फिर्ता बोलाउने र सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको थियो। 

त्यसको दुुई दिनपछि अर्थात् ३ चैतमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्यो। जुन बैठकमा एमालेमा गएका नेता कार्यकर्तालाई फिर्ता बोलाउन उपाध्यक्ष नारायणकाजी श्रेष्ठका नेतृत्वको कार्यदल बन्यो।

उक्त कार्यदलले अहिले पनि एमालेमा गएका माओवादी केन्द्रका मन्त्री, सांसद र नेताहरुसँग परामर्श जारी राखेको छ। कार्यदलमा श्रेष्ठसहित स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ र देव गुरुङ सदस्य छन्। 

ओली नेतृत्वको सरकारमा माओवादीबाट मन्त्री बनेका केहीले ५ पुसमा प्रधानमन्त्रीले सरकार विघटन गरेपछि राजीनामा दिएका थिए । तर, गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले ओलीसँगै रहने निर्णय गर्दै राजीनामा दिएनन् । नेकपा राजनीतिक रुपमा विभाजित भएलगत्तै प्रधानमन्त्री ओलीले माओवादी नेताहरु टोपबहादुर रायमाझीलाई ऊर्जा, प्रभु साहलाई सहरी विकास, मणि थापालाई खानेपानी र दावा लामालाई खेलकुदमन्त्री बनाएका थिए । 

के गर्दैछ कार्यदल ?



एमालेमा गएका मन्त्री फर्काउन बनेको कार्यदलले छलफल अघि बढाइरहेको छ। तर, एमालेको जिम्मेवारी सम्हालिसकेका नेता कार्यकर्ताले स्पष्ट जवाफ दिइसकेका छैनन्। 

पार्टी ब्यूँतिएपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठक तत्कालका लागि स्थगित भएको छ। केही दिन बसेर बैठक स्थगित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘रिफ्रेस’ हुन भन्दै सिन्धुली पुगेर फर्किसके। तर, एमालेतर्फ गएका मन्त्री तथा सांसदहरुले फर्कने छाँटकाँट देखाएका छैनन्।



कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष श्रेष्ठले छलफल जारी रहेको बताए। फरकधारसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘चिठी पठाएका छौँ। त्यससँगै एकपटक प्रत्यक्ष कुराकानीको प्रयत्न गरेका हौं। त्यो करिब करिब सकिएको छ। अब निर्णयमा जाला बिस्तारै।’

एमालेमा गएका सबैसँग कुराकानी भएको भन्दै श्रेष्ठले एक÷दुई जनाले प्रष्टिकरण दिएको पनि फरकधारलाई बताए। माओवादी केन्द्रमै फर्कने ठोस निर्णय कसैले पनि नगरिसकेको श्रेष्ठले उल्लेख गरे।

फर्किने सम्भावना कति ?

यसैबीच माओवादीबाट एमालेमा गएका केही थान नेता फेरि माओवादी केन्द्रमै फर्कने तयारी रहेको चर्चा चलिरहेको छ। पूर्व माओवादीबाट संघीय मन्त्री बनेका प्रभु साह र गौरीशंकर चौधरी फर्काउने गरी प्रचण्डले छलफल गरिहेको समाचार पनि आएको छ।

शहरी विकास मन्त्री साह कुनै हालतमा माओवादी केन्द्रमा नफर्कने अडानमा छन्। साहकै सचिवालयका एक सदस्य बाहिर आएजस्तो हल्ला नभएको दाबी गर्छन्। उनले फरकधारसँगको कुराकानीमा भने,‘अहिले उहाँ माओवादीमै फर्किने कुनै सम्भावना छैन। यो सम्भव कुरा पनि होइन।’

त्यस्तै, माओवादी केन्द्रबाटै प्रदेशसभा सदस्य बनेका रुपन्देहीका दधिराम न्यौपाने अहिलेसम्म पार्टीको पत्र नपाएको बताउँछन्। माओवादी केन्द्रका निर्णयबारे उनले अनभिज्ञता प्रकट गरे। उनले आफूहरु जहाँ बसेको त्यही नै पार्टी भएको बताए। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमालेमा गएकाहरुलाई बोलाइएको छ ? कहिले जानुहुन्छ ? भन्ने फरकधारको प्रश्नमा उनी भन्छन्, ‘कसले बोलाउने ? को हो र पार्टी ? हामी जहाँ छौं त्यही हो पार्टी।’ 

आफूहरु चुनावदेखि उतै (ओलीको भाव देखाउँदै) लागेकोे बताउँदै उनले भने,‘हामी चुनावदेखि नै हौं। चुनाव लड्दादेखि संयुक्त मोर्चा थियो। त्यसपछि पार्टी एकता भयो। पार्टी एकता भएदेखि हामी उतै छौं। जहाँ छौं त्यहीँ रहन्छौं।’

माओवादी केन्द्रले आधिकारिक जानकारी नदिएको भन्दै उनले थपे, ‘अहिले छुट्टाछुट्टै देखिएको छ, हामी पहिले जहाँ लागेका थियौं, त्यहीँ छौं। माओवादी केन्द्रले केही खबर गरेको छैन।’

श्रेष्ठको कार्यदलले गौरीशंकर चौधरी लगायत नेताहरुसँग पनि छलफल गरिरहेको छ। तर, माओवादीतर्फ लाग्नेबारे अहिले नै सम्भावना नरहेको उनी निकटहरू बताउँछन्।

प्रचण्डको चर्को आलोचना

सर्वोच्चले २३ फागुनमा नेकपा नामलाई आधिकारिकता नदिएपछि एमाले र माओवादी केन्द्रका नेताहरु पूर्ववत् पार्टीमा फर्किएका छन्। तर, माओवादीबाट गएर ओली सरकारमा मन्त्री बनेका नेताहरु भने पुरानै घर नफर्कने मुड बनाएर प्रचण्डको चर्को विरोध गर्दै हिँडेका छन्। 

१० वर्षे जनयुद्ध र प्रचण्ड वरिपरि लामो समय बिताएका नेताहरु मन्त्री भएपछि सार्वजनिक भाषणमा खरो रुपमा उत्रिएका छन्। संसद् विघटनपछि ओली सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेका टोपबहादुर रायमाझीले प्रचण्ड र माओवादी आन्दोलनको खिल्ली उडाइरहेका छन्। प्रचण्डले ३३ वर्षसम्म आफैं टीको लगाएर पार्टी अध्यक्ष बनेको, पार्टीलाई आफ्नै खल्तीको जस्तै ठानेकोसम्म आरोप उनले लगाएका छन्। 

त्यस्तै खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका पूर्व माओवादी खेमाकै नेता मणि थापा पनि मन्त्री भएयता माओवादीको आलोचनामा व्यस्त छन्। उनले प्रचण्डलाई अस्थिर, डबल डिलर र दुईवटा जिब्रेका रुपमा अथ्र्याएका छन्। २५ पुसमा काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डमा लिम्पियाओवादी सोच अझै जीवित रहेको बताएका थिए। 

सिन्धुपाल्चोकबाट प्रदेशसभा हारेर संघीय मन्त्री बनेका दावा तामाङ पनि प्रचण्डमा परिवारवाद् हावी भएको भन्दै आलोचनामा उत्रेका छन्। मन्त्री बनेपछि सिन्धुपाल्चोकमै आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटालाई दिनगन्ती गनेर बस्न चेतावनी दिएका थिए।

प्रचण्डका अर्का विश्वास पात्र मानिने मधेसका नेता प्रभु साह पनि प्रचण्डको चर्को आलोचना गर्न थालेका छन्। प्रचण्डले मधेसी जनतालाई झुटो बोलेकोदेखि माओवादी आन्दोलनलाई धोका दिएकोसम्म आरोप लगाएका छन्। 

माओवादीबाटै मन्त्री बनेका अर्का नेता गौरीशंकर चौधरीले त झनै सहिद परिवारको मुद्दा सम्बोधन गर्न एमालेतर्फ गएको बताउँदै आएका छन्। प्रचण्डले प्रधानमन्त्री भएर पनि सहिद परिवार र घाइतेका लागि केही नगरेको भन्दै उनीहरुको मुद्दा सम्बोधन गर्न आफू ओलीतिर लागेको बताउँदै आएका छन्। 

  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार १८:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया