संसदले लिएन गति, सभामुखले मागे प्रधानमन्त्रीसँग भेट्ने समय


प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेका छन्। फागुन ११ मा पुन:स्थापित प्रतिनिधिसभाले बिजनेस नपाएर समस्यामा परेपछि सभामुख सापकोटाले कार्यकारी प्रमुखसँग भेट्ने  समयमा मागेका हुन्।

फागुन २३ यता बसेका चार वटा बैठकमध्ये तीनवटा शोकसभामै सीमित भएका थिए। पछिल्लो बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका केही सांसदहरुले बोलेका थिए। तर संसदले गर्नुपर्ने कानुन निर्माणका काम अहिले ठप्प छ। सरकारले पेश गरेका अध्यादेश अड्किएका छन् भने विधेयक पनि रोकिएका छन्।

यस्तोमा सभामुखले कार्यपालिका प्रमुखसँग अन्तरक्रिया गर्न चाहेका हुन्। पुस ५ अघि बसेको संवैधानिक परिषद् बैठक बहिष्कार गरेयता सभामुख र प्रधानमन्त्रीबीच बोलचाल नै बन्द छ। तत्कालीन नेकपाको विवादमा संवैधानिक दायित्व बिर्सेर सभामुखले पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा चलेको भन्दै सभामुखप्रति प्रधानमन्त्रीले रोष प्रकट गर्दै आएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका बेला सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख सापकोटाले कानुनमन्त्री लीलानाथ श्रेष्ठमार्फत प्रधानमन्त्रीसँग भेट्ने समय मिलाइदिन भनेको बताएका छन्। उनले विमानस्थलमा पनि प्रधानमन्त्रीसँग कुरा भएकाले अब संवादको ढोका खुल्ने बताएका छन्।

‘यसअघि पनि कानुनमन्त्रीमार्फत कुरा भइरहेकै थियो। उक्त कुरा प्रधानमन्त्रीसँग पुगेको रहेछ', उनले भने, 'आज राष्ट्रपतिलाई बिदाइका क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो, समय पनि मागेको छु, खबर आउने अपेक्षा छ।'

सभामुख सापकोटाले सरकारले ल्याएका अध्यादेश संसदमा अड्काउने मनसाय नरहेको पनि बताएका छन्। संसदबाट चाँडै अध्यादेश पास गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी सापकोटाले दिएका छन्। 



‘सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्‍ने मलाई लागेको छैन,अड्काउने मनसाय पनि छैन', उनले भने, 'निष्पक्ष र तटस्थता भएर अगाडि बढ्छु, निष्‍ठाका साथ काम गर्छु।'

संसदमा टेबुल भएका अध्यादेश पारित नगरेको भन्दै सभामुखमाथि मन्त्रीहरुले प्रश्न उठाइरहेका छन्। उनीहरुले सभामुखको नियत ठीक नभएको बताउँदै स्वतन्त्र बनेर काम भनिरहेका छन्। प्रधानमन्त्रीले ओलीले पनि प्रचण्डको कुरा सुनेर अघि बढेकाले सभामुखको कामबाट सन्तुष्ट नरहेको बताइसकेका छन्। 



  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १६:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया