संसदमा कांग्रेसले भन्यो : भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदा सरकारकै समर्थन !

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पश्चिमी सिमाना महाकालीमा भारतले एक पक्षीय रुपमा बनाइरहेको तटबन्धबारे संसदमा प्रश्न उठाएको छ। नेपालतर्फको भूमि मिचेर भारतले तीन महिनादेखि तटबन्ध बनाउँदा पनि राष्ट्रवादी भनिएको केपी ओली नेतृत्वको सरकार मौन बसिरहेको भन्दै कांग्रेसले आजको प्रतिनिधिसभामा आलोचना गरेको हो।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुरूमै समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुलामा आएको बाढीका कारण नेपाली भूमि खण्डित भएर भारततर्फ परेको भन्दै त्यसलाई फिर्ता ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए। उनले बाढीका कारण ३५ हेक्टर जमिन भारततिर बगेर गएको पनि जानकारी गराए ।

'दार्चुला सदरमुकामस्थित गल्फै गाउँमा नेपाल सरकारलाई थाहा नदिई भारतले एकतर्फी नेपाली भूमि समेत मिचेर तटबन्ध बनाइरहेको छ,' बडूले भने, 'भारतका एसडिएम र डिएमसँग पनि सिडियोले कुरा राखे। तर सुनेको छैन। दार्चुलाबासीले पटकपटक विरोध गर्दा जवाफ आएको छैन । तर जिल्लाले ताकेता गर्दा गृहमन्त्रालय र सरकारले समर्थन गरिरहेका छन्।'

बडूले २०७० असार २ गते आएको भीषण बाढीले नेपालतर्फको १०४७ रोपनी जमिन खोलाले बगाएको बताए। त्यसबेला नेपालको ठूलो जमिन भारततिर गएको उनले जानकारी दिए। महाकालीपारी नेपालको ३५ हेक्टर जमिन रहेको पनि उल्लेख गरे। 

‘महाकालीमा भारतले नेपाली भूमि मिचेर धमाधम तटबन्ध बनाउन थालेको तीन महिना भइसक्दा पनि नेपाल सरकार बेखबर छ, सुतिरहेको छ, मौन छ’ बडूले भने, ‘१ हजार ४३ रोपनी नेपाली भूमि बाढीले बगायो अहिले धेरै हिस्सा भारतिर गएको छ। ३५ हेक्टर जमिन भारततिर बगर बनेको छ। आफ्नो भूमि गुमिरहँदा पनि नेपाल सरकार किन मौन?’

सरकारी कार्यालयहरूसमेत रहेका उक्त भूमि भारतले आफ्नो पार्ने गरी तटबन्ध लगाउन थालेको बडूले जानकारी दिए। 'त्यसमा सरकारले पहल गर्नुपर्ने आवश्यकता छ। सीमामा कुनै पनि संरचना बनाउँदा दोस्रो देशको सहमति लिनुपर्थ्यो', उनले भने, 'भारतले मिचिरहँदा पनि सरकार मौन किन बसिरहेको छ? यसमा के सरकारकै समर्थ हो?’



तटबन्ध बनाउँदै भारतले नेपाली भूमिमा रहेका जिल्ला अस्पताल, सामुदायिक वन क्षेत्र, मन्दिर र अन्य सरकारी कार्यालय आफ्नोतर्फ गाभ्न लागेको उनले बताए। भारतले एकपक्षीय रुपमा बनाइरहेको तटबन्धबारे जिल्ला प्रशासन कार्यालय केन्द्र सरकारको आदेश कुरेर बसिरहेको बताए। उनले तत्काल नेपाली भूमिमा निर्माण रोक्न सरकारसँग माग गरे।



  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १५:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया