परिणाम भोग्‍न तयार हुनु भन्दै धम्की आउँदैछ, छटपटी हुन थाल्यो : प्रचण्ड
प्रधानमन्त्री ओलीलाई पुँजीपतिहरूको दलालको संज्ञा दिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा पर्दै गएको बताएका छन्। 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय नेपालीहरुलाई हेप्ने र आत्मनिर्णयको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन्।

दाहालले  केही समयअघि नेपालीहरु आत्मनिर्णय गर्न सक्षम रहेको महसुस गरेको अवस्थामा अहिले विस्तारै उक्त अधिकार खोसिँदै गएको पनि दाबी गरेका छन्। 

‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट गणतन्त्र र संविधानको घोषणा गर्दा, कम्युनिस्ट पार्टीको एकताको गठबन्धन गर्दा र चुनावको नेतृत्वको गर्दै गर्दा आत्मगौरव हुन्थ्यो', उनले भने, 'त्यसबेला  हामीलाई कसैको दबाब, हस्तक्षेप डर, धाक, धम्कीबिना आफैँले निर्णय गरेका थियौँ। हामी आफैँले निर्णय गरेर परिणाम निकाल्न सक्नु नेपालीको आत्मगौरवको विषय थियो।'

तर अहिले नेपालीको अधिकार खोसिने खतरा आएको उनले बताए। ‘तर अहिले नेपालीको अधिकार खोसिने अवस्था आएको छ। फेरि एकचोटी हामी निरीह हुन थालेका छौं, हामी नेपाली फेरि नराम्रोसँग हेपिन थालेका छौं। नेपाल, नेपालीको भविष्य र आत्मनिर्णयको अधिकार धरापमा पर्दै गएको छ।’

केपी ओली दलाल भए



उनले सम्बोधनका क्रममा पुँजीपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलाल बनाएको आरोप पनि लगाए। 'पुँजीपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलाल बनाए', उनले भने, 'सर्वोच्च अदालतले पनि फागुन ११ मा राम्रो निर्णय गर्यो। तर फागुन २३ मा उसैले उल्टो आदेश दियो। सर्वोच्चको पछिल्लो आदेश पनि अस्वभाविक रुपमा आएको छ।' 

उनले पछिल्लो समय आफूहरुलाई धम्की आउन थालेको बताए। 'हामीलाई परिणाम भोग्न तयार हौ भनेर धम्की पो आउन थालेको हो कि हामी निर्णय गर्छौँ तिमीहरु आदेशपालक हौ भन्न थालेका छन्', उनले भने, 'मलाई छटपटी र पीडाबोध हुन थालेको छ। सबै सिद्धियो बर्बाद भयो, भइजाने भनेको होइन। तर संविधानलाई कागजको खोस्टो बनाएर च्यात्ने दुस्साहस भएदेखि नेपाली हेपिन थालेका छन्।'



दाहालले नेपालीहरु चनाखो हुने दिन आएको बताए। 'नेपाली जनताले आफ्नो चनाखोपनलाई बढाएनन् भने खतरा हुन पनि सक्छ। नेपाली जनताको सपनामाथि तरबार उज्याउने काम भइरहेको छ', उनले भने, 'नेपालीले जित्ने हो कि होइन भन्ने कुरातर्फ देश गएको छ। नेपालीको आत्मनिर्णयको अधिकार रहने कि नरहने भन्ने भएको छ।'

भिडियो

  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १५:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया