आयल निगमको कार्यालय अस्थायी रुपमा टेकु सार्ने तयारी

नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय ०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । 

गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीनवटै भवनमा रातो स्टिकर टाँसेको थियो । रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो ।

लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पोरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ । 

नेपालकै आधुनिक र सुविधासम्पन्न भवन मध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइनअनुसार भूमिगत दुई तलाको पार्किङ हुने र  जमिनमाथि १० तलाको भवन बनाइने छ ।

जमिनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुनेछ । नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तरराष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ । 

भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहनेछन् । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन एक अर्ब ७९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । हालको पुरानो कार्यालय भवन भत्काउन सुरु भएपछि निगमको अस्थायी कार्यालय टेकु कार्यालय रहनेछ ।





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १६:३४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया