नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवाद साम्य हुने छाँट नदेखिएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सम्वादलाई निरन्तरता दिएका छन्।
गत शनिबार सोधिएको १० बुँदे स्पष्टीकरणको १३ बुँदे जवाफ एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बुझाएकै दिन बिहीबार अपरान्ह नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच कोटेश्वरमा भेटवार्ता भएको हो।
कोटेश्वरस्थित एकजना व्यवसायी चण्डेश्वर श्रेष्ठको निवासमा दुई नेताबीच वार्ता भएको हो। उक्त वार्तामा सर्वोच्च अदालतले गत फागुन २३ को साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसलाविरुद्ध पुनरावलोकनमा जानेबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि दुवै पार्टी नेता पुरानै घरमा फर्किएका छन्। तर एमालेमा झलनाथ खनाल-माधवकुमार नेपाल समूह अध्यक्ष केपी ओलीको विरोधमा उभिएका छन्। ओलीले फागुन २८ गते एकपक्षीय रुपमा विभिन्न निर्णय गरेपछि बिच्किएका उनीहरु दाहालसँग निरन्तर संवादमा छन्।
आज भएको भेटवार्तामा प्रचण्डले वरिष्ठ नेता नेपाललाई सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जान लागेको बताएका थिए। जवाफमा नेता नेपालले त्यसका लागि आफूहरूले साथ दिने बताएका स्रोतले बताएको छ।
१० चैतमा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलामा पुनरावलोकनमा जानुपर्ने निर्णय लिएको थियो। बैठकपछि स्थायी समिति सदस्य वर्षमान पुनले पुनरावलोकनका लागि तयारी पूरा भइसकेको बताएका थिए।
त्यही दिन माओवादीले कानुन व्यवसायीहरू चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान र शम्भु थापासँग छलफल गरेको थियो। उनीहरुले पुनरावलोकनमा जान सुझाएका थिए। एमालेनिकट अर्का कानुन व्यावसायी शम्भु थापाले पनि माओवादीलाई सर्वोच्चको निर्णयविरुद्ध पुनरावलोकनमा जान सुझाएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।