प्रधानमन्त्री फेरि प्रतिनिधिसभा विघटन गर्ने दाउमा छन् : कांग्रेस नेता रिजाल

नेपाली कांग्रेस​का नेता डा. मीनेन्द्र रिजालले ओली नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएका छन् । उनले ओली प्रधानमन्त्री भएकै दिनदेखि नै आफूहरुले विश्वासको मत नदिएको बताए ।

प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए कांग्रेस​ले मत दिन नसक्ने बताउँदै रिजालले भने, ‘हामीले कुनै पनि हालतमा प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आए पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौँ । अहिलेका प्रधानमन्त्रीसँग हाम्रो विश्वास छैन ।’

अहिले प्रधानमन्त्री ओलीको मनसाय गठबन्धनको सरकार बनाउने भन्दा पनि संसदको ठूलो दलको हैसियतमा धारा ७६ (३) अनुसारको सरकार बनाएर प्रतिनिधिसभा फेरि विघटन गरी चुनावमा जाने रहेको रिजालले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई ७६ को २ मा बसिराख्न मन छैन । प्रधानमन्त्रीलाई ७६ को ३ मा अथवा ५ मा पुग्ने हतार छ । ७६ को ५ को पनि उहाँलाई हतार छैन ७६ को ३ भनेको सबैभन्दा ठूलो राजनीतिक दलको नेताका रुपमा विश्वासको मत प्राप्त नगरेर पनि प्रधानमन्त्री हुने र ७६ को ५ को प्रधानमन्त्री बहुमतको प्रधानमन्त्री हुन नसक्ने अवस्थामा ७६ को ७ को प्रावधानलाई ७६ को ३ को प्रधानमन्त्रीले पनि प्रयोग गर्न सक्ने त्यो चाहनालाई उहाँले गम्भीरतापूर्वक लिनुभएको छ र हेर्नुभएको छ ।’

मुलुकको राजनीति त्यतातिर जाओस् भन्ने ओलीको चाहना रहेको बताउँदै रिजालले भने, ‘हाम्रो अनुमान गलत हुन सक्छ । तपाईंहरुका बीचमा हामीले के राख्नुपर्छ भने यो आकलनलाई पनि गम्भीरतापूर्वक हेरिदिनुहोस् । र, त्यसमा हामीले प्रचण्डजीले इङ्गित गर्नुभयो कि विश्वास फिर्ता लिँदाखेरि प्रधानमन्त्री विश्वासको मत लिन बाध्य हुनुहुन्छ । विश्वासको मत उहाँले पाउनुहुन्न ।’

कांग्रेस नेता रिजालले अगाडि भने, ‘आजको दिनमा प्राविधिक र राजनीतिक रुपमा ओलीसँग संसदको बहुमत पनि छैन, ओलीको विपक्षमा प्राविधिक रुपमा बहुमत पनि छैन । त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ, त्यसलाई एउटा समयसम्म त्यो फाइदा प्राप्त नगर्नुहोस् भन्ने हाम्रो चाहना छ ।’





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १९:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया