सैन्य 'कू'पछिको म्यानमार : रक्तपात युक्त प्रदर्शन, एकैदिन ११४ को मृत्यु

म्यानमारमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्दा एकैदिन ११४ जना प्रदर्शनकारीको निधन भएको छ । सैन्य कू विरुद्ध शनिबार भएको प्रदर्शनमा सुरक्षा निकायको कारबाहीमा परी ११४ जनाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 

निर्वाचित सरकारलाई अपदस्थ गरी शासन हातमा लिने सेनाको कदमविरुद्ध म्यानमारमा प्रदर्शन चर्किँदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ । नेतृ आङ सान सुकी लगायतको रिहाइ र प्रजातन्त्रको पुनर्बहालीका लागि भइरहेको प्रदर्शन अन्तर्गत शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपात युक्त दिन बनेको छ । 

म्यानमारमा शनिबार सशस्त्र बल दिवसको अवसरमा राजधानीमा आयोजित सेनाको कार्यक्रममा कुनै पनि किसिमको अवरोध गर्न खोज्नेलाई टाउको र ढाडमा गोली हान्न सेनाले आदेश दिएको थियो । तर, त्यसको बेवास्ता गर्दै यांगुन, मन्डलेलगायत सहरमा नागरिक सडकमा उत्रँदा ठूलो मानवीय क्षति भएको हो ।

जनप्रदर्शनको क्रममा म्यानमारमा अहिलेसम्म करिब साढे ४ सय जनाले ज्यान गुमाइसकेका छन् । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले मुख्य सहर यांगुन र दोस्रो ठूलो सहर मन्डलेमा अझै बढी संख्यामा प्रदर्शनकारी मारिएको हुन सक्ने जनाएको छ । 

शनिबार मन्डलेमा हालसम्मकै सबैभन्दा कान्छो पाँच वर्षीय बालकसहित कुल २९ जना मारिएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि गत मंगलबार बाबुको काखमा खेलिरहेकी सात वर्षीया खिन म्यो चिटको सेनाको गोली लागेर ज्यान गएको थियो । 

सेभ द चिल्ड्रेनका अनुसार म्यानमारमा जारी प्रदर्शनका क्रममा कम्तीमा २० बालबालिकाले ज्यान गुमाएका छन् । यता, सैन्य सरकारका तर्फबाट ज मिन टुनले पत्रकार सम्मेलन गर्दै रक्तपातका लागि प्रदर्शनकारी नै जिम्मेवार रहेको यसअघि नै बताइसकेका छन् । प्रदर्शनका क्रममा सुरक्षा बलका पनि ९ जनाको निधन भइसकेको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार ७:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया