प्रचण्ड-माधव 'माया' : फागुन २३ यताका २२ दिनमा १० पटक भेटवार्ता
ओलीसँग संवाद ठप्प, एमालेमा विभाजनको अन्तिम कसरत

सर्वोच्च अदालतले फागुन २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खारेज गर्दा सबैभन्दा ठूलो झट्का माधवकुमार नेपालमाथि पर्‍यो।

फागुन ११ मा सर्वोच्चले प्रतिनिधिसभा ब्यूँताएर ओलीमाथि दिएको भन्दा कडा झट्का माधवकुमार नेपालले भोग्नुपर्यो। अवस्था कस्तो भयो भने नेपाली उखान सम्झिँदा उनी तत्काललाई 'घर न घाट'का भए। यसको अर्थ के भने उनी तत्कालै एमालेमा फर्किएर न त ओलीसँग अँगालो हाल्न सक्छन् न त प्रचण्डतिरै फर्किएर माओवादी बन्‍न सक्छन्।

यही शनिबार प्रज्ञा प्रतिष्ठानमा बोलेको भनाइलाई सापटी लिने हो भने उनलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमा जान बाध्य पार्‍यो। फागुन २४ मा प्रचण्ड-माधव नेतृत्वको तत्कालीन नेकपाको एउटा समूहको अन्तिम स्थायी कमिटी बैठक बसेपछि नेता नेपाल नेतृत्वको टोली साविकको एमालेमै फर्कियो।

तर कानुनले एमालेमा फर्काएका नेता नेपालले अहिले पनि व्यवहारिक रुपमा प्रचण्डसँगै नजिक छन्। 'दुःखका साथ भन्दैछु, अहिले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट चालिएको प्रतिगमनकारी कदमविरुद्ध तपाईंहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो', उनले शनिबार भनेका थिए, 'आज म अफ्ठ्यारो महसुस गर्दैछु। सर्वोच्च अदालतले मलाई त्यही पार्टीमा घोक्र्याएर पठाइदिएको छ। सर्वोच्च विचित्रको फैसला गरेको छ, मलाई अफ्ठ्यारो लागिरहेको छ।'

एमालेमा फर्किएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर अब नेपाललाई कुनै 'स्पेस' नदिने संकेत गरे। उनले नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज मात्रै गरेनन्, सातै प्रदेशमा पनि नयाँ इन्चार्ज तोके।

पेरिस डाँडाबाट फर्किएका नेता नेपालहरू बानेश्वरस्थित अर्याल होटलमा गुट भेलामा लागिरहँदा ओलीले फागुन २८ मा उक्त कदम चालेका थिए। अर्याल होटलमै अलमलिइरहेका नेता नेपाल र ओलीबीच चैत २ मा धुम्बाराहीमा वार्ता भयो। सुरुमा राम्ररी कुरा अघि बढेको अवस्थामा अन्तिममा वार्ता भाँडिए जस्तै भयो। तर त्यस वार्तापछि ओली-नेपाल सम्वाद पूरै टुटेको छ।



ओलीले पेलेर अघि बढिरहेका छन् भने नेपालले समानान्तर कमिटी बनाइरहेका छन्। चैत ४ र ५ मा राष्ट्रिय भेला गरेका नेपालले त्यसपछि अनेरास्ववियु, अखिल नेपाल किसान संघ, अनेमसंघसहितको समानान्तर संगठन बनाए।

नेपालले समानान्तर संगठन बनाएपछि ओलीले उनीसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधे। नेपाल र रावलले स्पष्टीकरण बुझाए तर पाण्डे र भुसालले अझैसम्म बुझाएका छैनन्। 



प्रचण्डसँग 'माया' 

चैत २ मा एक पटक मात्रै धुम्बाराहीमा ओलीसँग वार्ता गरेका नेपालले प्रचण्डसँग भने दैनिकजसो संवाद गरिरहेको पाइएको छ। पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि प्रचण्डसँग सहकार्य गर्दै नेकपाको एउटा समूह चलाएका नेपाल फागुन २३ पछि बिलखबन्दमा परेका छन्। 

उनले सार्वजनिक रुपमै ओलीसँग मिल्ने कुनै सम्भावना नरहेको बताइरहेका छन्। यसबीचमा नेताहरु योगेश भट्टराई र घनश्याम भुसालसहितले पार्टी फुटाएर जाने हो भने आफूहरुले साथ नदिने बताइसकेका छन्। 

यस्तोमा नेता नेपालले एमालेबाट पार्टी फुटाएर प्रचण्डसँग मिल्न पनि संसदीय दल र केन्द्रीय कमिटी दुवैतिर ४० प्रतिशत पुर्‍याउनुपर्ने बाध्यता छ। जुन कुरा उनका लागि असम्भव जस्तै भएको छ। पछिल्लो समय कृष्णभक्त पोखरेलसहितका सांसदहरुले छाडिसकेका छन्। यस्तोमा पछिल्लो साता अघिको संसदीय दलमा नेपाल पक्षका ३८ जना सांसदले हस्ताक्षर बुझाएका थिए। 

ओलीसँग मिल्नै नसक्ने गरी गतिविधि अघि बढाइरहेका नेपालले प्रचण्डसँग भने आश्‍चर्य लाग्ने गरी निरन्तर संवाद गरिरहेका छन्। उनको साथमा नेता भीम रावल रहने गरेका छन्। प्रचण्ड र माधव दुवैले फागुन २३ को सर्वोच्चको आदेशलाई अप्रत्यासित र राजनीतिक भनेका छन्। उनीहरु दुवैले त्यसमा पुनरावलोकन जाने भनिसकेका छन्। 

ओलीविरुद्धको सम्भावित सबै रणनीतिमा तत्काललाई फेल भएका प्रचण्ड र मिल्नै नसक्ने विन्दुमा पुगेका माधव नेपालबीचको बाक्लो भेटवार्ता के का लागि हो भन्‍ने उत्तर दुवै पक्ष दिन तयार छैनन्।

२२ दिनमा १० पटक भेट 

फागुन २३ मा  नेकपा एमाले र माओवादी केन्द्र फर्किए यताको हिसाब गर्ने हो भने माधव नेपालले प्रचण्डसँग १० पटक भेटवार्ता गरिसकेका छन्। तर एमालेमा फर्किएमा नेपालले ओलीसँग चैत २ बाहेक संवाद अघि बढाएका छैनन्। 

जबकि फागुन २३ गते अलग दुई पार्टीमा पुगेका नेपाल-दाहालबीच आजसम्मको भेटको हिसाब गर्ने हो भने १० पटक वार्ता भइसकेको छ। अर्थात् २२ दिनको बीचमा उनीहरुले १० पटक भेट वार्ता गरेका हुन्। 

पछिल्लो समय यी दुई नेताले कोटेश्वरलाई भेटघाटको भेन्यू बनाएका छन्। उनीहरुले पछिल्लो समय कोटेश्वरस्थित दुई व्यापारीहरू चन्द्रलाल श्रेष्ठ र टपेन्द्र तिमल्सिनाको घरलाई भेटघाटको भेन्यू बनाएका छन्। 

अहिलेको राजनीतिक अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच पानी बाराबारको अवस्था छ। अर्कातिर ओली र नेपालबीच पनि ठ्याक्कै त्यही अवस्था देखिएको छ। ओलीले कानुनी रुपमा एमालेमा फर्किएका नेपाललाई प्रचण्डसँगको सम्बन्ध तोड्न पटक पटक भनिरहेका छन्।

 तर ओलीले आफूलाई पेल्न थालेपछि त्यसविरुद्ध नेपालले प्रचण्डसँग मिलेर रणनीति बनाउन खोजेको देखिन्छ। यस्तोमा नेता नेपालको पछिल्लो रणनीति एमालेमै बसेर संघर्ष गर्ने तर ओलीलाई सरकारबाट कुनै पनि हालतमा विदा गर्ने देखिएको छ।

प्रचण्ड पनि त्यही चाहन्छन् तर सफल हुन सकेका छैनन्। प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने बचन दिएका छन्। तर उनै आफैंले भने ओलीलाई दिएको समर्थन फिर्ता लिन सकेका छैनन्। 

यस्तोमा प्रचण्ड-माधवबीचको नियमित भेटवार्तालाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ। नेता नेपाल अहिले ‌ओलीले गर्ने कारवाहीको प्रतिक्षामा छन्। यदि ओलीले कारवाही गरेको अवस्थामा आइपर्ने चुनौतीको सामना र प्रचण्डसँग मिलेर नयाँ पार्टी बनाउने विकल्प उनले खोजिरहेका छन्। तर उनीनिकट अधिकांश नेताहरु एमालेमै बसेर संघर्ष गर्नुपर्ने मुडमा रहेका बेला नेपाल बिलखबन्दमा परेका छन्। 

कहाँ र कहिले भेटे? 

फागुन २४ गते : सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि यी दुई नेताबीच भोलिपल्ट तत्कालीन नेकपाको एउटा कार्यालय पेरिसडाँडामा भेट भएको थियो। जहाँ तत्कालीन नेकपाको माधव-प्रचण्ड समूहको अन्तिम स्थायी कमिटी बैठक बसेको थियो। त्यही बैठकबाट औपचारिक रूपमा प्रचण्ड माओवादी केन्द्रतिर फर्किए भने माधव नेकपा एमालेतिर फर्किए।

फागुन २७ गते : साविकका नेकपा एमाले र माओवादी केन्द्रमा फर्किएपछि माधव नेपाल र प्रचण्डबीच फागुन २७ गते कोटेश्वरस्थित एकजना व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको थियो। 

फागुन २९ गते : एमाले वरिष्ठ नेता नेपाल र प्रचण्डबीच फागुन २९ गते कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठको घरमै भेटवार्ता भयो। उक्त भेट फागुन २८ मा आफूसहित नेताहरुको सबै जिम्मेवारी ओलीले खोसेपछि भएको थियो। फागुन २८ मा ओलीले माओवादीबाट आएका रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय कमिटीमा लगेका थिए भने नेता नेपालको विदेश विभाग प्रमुख पद पनि खोसिदिएका थिए। 

चैत १  गते : ओलीले आफूलाई पेल्दै लगेपछि सम्भावित रणनीतिका लागि नेता नेपालले कोटेश्वरस्थित उनै व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्डसँग वार्ता गरे। उक्त वार्तामा अर्का वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए।

चैत ६ गते : ओली नेतृत्वको सरकार ढाल्न नसकेपछि तनावमा परेका प्रचण्ड र नेता नेपालबीच चैत ६ गते उनै व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा अर्को वार्ता भयो। चैत ५ मा ओलीले नेकपा एमाले संसदीय दलको बोर्ड गठन गरेका थिए। बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट उनीहरुबीच अर्को वार्ता भएको हो।  

‌ओलीलाई विदा गर्ने आफ्नो प्रस्तावमा कांग्रेस र जनता समाजवादी पार्टी तयार नभएको अवस्थामा प्रचण्डले नेता नेपाललाई भेटेका थिए। चैत ४ र ५ गते नेता नेपालले आफू पक्षीय कार्यकर्ताको राष्ट्रिय भेला सकेपछि प्रचण्डलाई भेट्न पुगेका थिए।

चैत  ८  गते:  ओलीले चैत ७ गते संसदीय दलको बैठक राखेर पार्टी र दलको अधिकार आफूमा केन्द्रित गरेको भोलिपल्ट माधवले प्रचण्डलाई फेरि भेटे। उक्त दिनको बैठक संशोधित संसदीय दलको नयाँ विधानले दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा ६ महिनासम्म निलम्बन गर्ने व्यवस्था गरेको थियो।

यो भेट दुई नेताबीच कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठकै घरमा भएको हो। उक्त भेटमा माधव नेपाल, प्रचण्ड, नारायणकाजीसहितका नेताहरु सहभागी भएका थिए। 

चैत ९ गते : चैत ९ मा आएर दुई नेताले भेटघाटको भेन्यू परिवर्तन गरे। अब उनीहरु व्यापारी चन्द्रलाल श्रेष्ठको घरबाट नजिकैका व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा सरे। कोटेश्वर महादेवस्थानस्थित तिमल्सिनाको घर पछिल्लो समय दुई नेता भेट्ने थलो बनेको छ।

चैत १२ गते : तीन दिनपछि दुई नेता फेरि व्यापारी चन्द्रलाल श्रेष्ठकै घरमा पसे। यही बिहीबार व्यावसायी चन्द्रलाल श्रेष्ठको घरमा उनीहरुबीच वार्ता भएको थियो।

चैत १३ गते : दुई नेताले यही शुक्रबार कोटेश्वरस्थित महादेवस्थानस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा भेटवार्ता गरे। नेता नेपालले आफूपक्षीय केन्द्रीय सदस्यहरुको कलंकीमा हुने बैठकमा जानुअघि प्रचण्डलाई भेटेका थिए।

कलंकीमा दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरुको बैठकले पार्टी फुटाएर जान नसकिने बताएका थिए। त्यहाँको बैठकमा करिब ४५ जना मात्रै केन्द्रीय सदस्यहरु सहभागी भएका थिए। 

चैत १६ : प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच आज पनि कोटेश्वर महादेवस्थानस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा वार्ता भएको छ। उनीहरुबीच तिमल्सिनाको घरमा करिब दुई घण्टा छलफल भएको छ। उक्त छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

नेकपा एमाले विभाजनको मुखमा पुगिरहेका बेला दुई नेताबीच २२ दिनमा १० पटक वार्ता भइसकेको छ। ओलीले आफूमाथि कारवाही चलाउने संकेत पाएका नेता नेपालले प्रचण्डसँगको घनिष्ठतालाई अझै मजबुत बनाउने गरी गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।

  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १८:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया