सेटिङमै नेपालीका अधिकार खोस्‍ने भए, बडो विचित्र अवस्थामा छौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन्।

शुक्रबार वामपन्थी नेता स्व. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फाँसीवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताएका हुन्। 

देश भित्र र बाहिरका शक्तिहरु संवैधानिक निकायहरु समेतको संलग्नतामा सेटिङमा लागेको दाबी उनले गरे। संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको दाहालले बताए। नेपाल र नेपाली जनताको अधिकार र पहिचानविरुद्ध सेटिङ भएको पनि प्रचण्डले बताए। 

'समाज चरम फासिवादी निरंकुशतातिर जाने खतरा छ । त्यसविरुद्ध खबरदारी गरेका छौँ । अहिले तपाईँ हामीले अलिक बढी नै सुन्ने गरेका छौँ सेटिङ शब्द', उनले भने, 'देशभित्र र बाहिर विभिन्‍न संवैधानिक निकायका प्रमुखबीचमा सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने । त्यो सेटिङ नेपाल र नेपालीको अधिकारविरुद्ध, पहिचानविरुद्ध परिलक्षित बडो विचित्र स्थितिमा छौं ।’

अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिमाथि प्रहार हुन थालेको बताए । उनले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिष्टप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताए। 

‘कम्युनिष्ट आन्दोलन र वामपन्थी आन्दोलनका उपलब्धिमाथि प्रहार हुन थालेको छ । जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन लागेको अवस्था छ', दाहालले भने, 'राज्य सबभन्दा बढी सुशासन र पारदर्शिताको प्रतीक हुनुपर्ने हो । सबभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो ।'



कम्युनिष्टहरुको एकता र उनीहरूप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको उनले बताए । 'कम्युनिष्ट आन्दोलन भित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिएको छ', दाहालले भने, 'उनीहरुको नेतृत्वको सरकार सबभन्दा अपारदर्शी र भ्रष्ट भएका खबर यत्रतत्र देखिनु आफैँमा विडम्बना भएको छ।’

अध्यक्ष प्रचण्डले सडक बिस्तारको नाममा सडक नजिकै भएका घरहरु भत्काएर जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताए। नेपालका नेवार समुदायलाई राज्यले जे गरे पनि हुन्छ भन्‍ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनालाई विकासको नाममा मिचिदिने प्रवृत्ति बढेको पनि बताए।



भिडियो

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार २२:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया