ओलीले राजीनामा नदिए अविश्‍वास लगाएर हटाउँछौं : रामचन्द्र पौडैल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्‍वास प्रस्ताव लगाएर हटाउने बताएका छन्। नेपाली कांग्रेस नुवाकोटले काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो दाबी गरेका हुन्। 

पौडेलले प्रधानमन्त्री ओलीलाई सरकारबाट विदा नगरे लोकतन्त्र नै खतरामा रहने बताए। '‌ओलीलाई सत्तामा बस्न दिइरहे लोकतन्त्र र अहिलेसम्मका उपलब्धि नै संकटमा पर्छन्', पौडेलले भने, 'यदि उनले राजीनामा दिँदैनन् भने संसदमा अविश्वास प्रस्ताव राखेर भए पनि बिदा गर्छौँ।'

शनिबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको पनि स्मरण गरे। 'कांग्रेसले ओलीलाई सत्ताबाट बिदा गर्ने निर्णय लिइसकेको छ', उनले भने, 'अब पनि पद नछाडे कांग्रेस नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा राखेर हटाउँछौँ।'

उनले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका दलसँग ओलीलाई हटाउने बारेमा कुरा भइरहेको पनि बताए। 'संसद पुन:स्थापनाका सडक संघर्ष गरेका तीन दल (कांग्रेस, माओवादी र जसपा) बीच वार्ता जारी छ। अब सहमति गरेर ओलीलाई हटाउन संसदमा अविश्वास प्रस्ताव लान्छौं।'

पौडेलले ७० वर्ष लामो संघर्ष पछि प्राप्त भएका उपलब्धी ओली नेतृत्वको सरकारले जोखिमतर्फ धकेलेको पनि बताएका छन् । व्यवस्था बचाउन कांग्रेसले सरकार परिवर्तन गर्न चाहेको उनको तर्क थियो। 

कांग्रेसले सत्ताभन्दा व्यवस्थालाई महत्व दिएको उनले बताए। 'सत्ताभन्दा व्यवस्थालाई हामीले बढी महत्व दिएका छौं,' उनले भने, 'व्यवस्था बचाउन हामी सत्ता बदल्न चाहन्छौं।'





  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १६:२७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया