वीरेन्द्रनगरको वायु प्रदूषण अत्यधिक बढ्यो, सचेत रहन आग्रह
सोमबार दिउँसो ठिक एक बजे देखिएको वीरेन्द्रनगरको आकाश । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको वायु प्रदूषण अत्यधिक मात्रामा बढेको छ । उपत्यकाको आकाश सोमबार बिहानैदेखि धमिलो देखिएको छ भने प्रष्ट घाम लाग्न सकेको छैन । वरिपरि डाँडा र बीचमा कचौरा आकारमा अवस्थित वीरेन्द्रनगरमा पछिल्ला केही दिनयता थुप्रै आगलागीका घटना भइरहेका छन् । उपत्यकामा भइरहेका वन जंगलमा आगलागी हुँदा प्रदूषण बढेको छ ।

अहिले पनि वीरेन्द्रनगर–१४ मा रहेको नलखोला सामुदायिक वन र सिद्ध मालिका सामुदायिक वनको आगो नियन्त्रण बाहिर छ । यसअघि शनिबार संरक्षित क्षेत्र काँक्रेविहार वनमा भीषण आगलागी भएको थियो ।

पछिल्ला केही दिन यता सुर्खेतमा ३९ वटाभन्दा बढी सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । घाइतेको कृति अस्पताल काठमाडौँमा उपचार भइरहेको उनको भनाइ छ ।

वातावरण विभागले प्रदूषण बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । विभागका प्रवक्ता एवम् उप–महानिर्देशक इन्दु विक्रम जोशीले वीरेन्द्रनगर उपत्यकाको वायु प्रदूषण खराब अवस्थामा रहेको बताए ।

‘वीरेन्द्रनगरबाट नजिकको सहर धनगढीको वायु प्रदूषण एकदमै खराब अवस्थामा छ,’ उनले भने, ‘धनगढीको गत २४ घण्टामा एयर क्वालिटी इन्डेक्स–एक्युआई १९९

सम्म पुगेको छ । वीरेन्द्रनगरको पनि सोही सेरोफेरोमा हुन सक्ने हाम्रो अनुमान छ ।



वीरेन्द्रनगरको प्रदूषण मापन गर्ने यन्त्रमा केही समस्या आएका कारण मापन गर्न नसकेको भन्दै उनले वायु प्रदूषण बढेकाले सचेत रहन आग्रह गरेका छन् । सामान्यतया एयर क्वालिटी इन्डेक्स–एक्युआई ५० भन्दा माथि जानु खतराको संकेत हो । नेपालका मुख्यमुख्य सहरहरूमा त्यो संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ ।

काठमाडौँको प्रदूषण विश्वकै खराब अवस्थामा देखिएको छ । ‘आगलागीका घटना कम नभइसकेका कारण यो प्रदूषण दर अझै बढ्न सक्ने अनुमान छ,’ उप–महानिर्देशक जोशीले भने, ‘प्रदूषणले मानिसदेखि अन्य प्राणीको शरीरमा गम्भीर असर गरिरहेको छ ।’ प्रदूषणबाट विशेष गरी बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित हुने भन्दै सचेत रहन स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् ।



  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १४:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया