पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्धमा अनेरास्ववियुले गर्‍यो आयल निगम घेराउ
फाइल तस्बिर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको बताए । मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकाले यसलाई स्वीकार्न नसकिने बताए । यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवी वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ । 

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्र-पन्ध्र दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्य वृद्धि गरिएको बताए । निगमसँग भण्डारण क्षमता नभएकाले भारतले मूल्य बढाउने वित्तिकै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारे । यद्यपि विद्यार्थीहरुको माग जायज भएकाले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत बताए । उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने पनि स्पष्ट पारे । 

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ । आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए । 





  • प्रकाशित मिति : चैत २३, २०७७ साेमबार १५:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया