ललितपुर मेयर वुमन्स च्याम्पियनसिप : सुदूरपश्चिमको दोस्रो जित

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित दर्ता गरेको छ ।

उसले मंगलबारको खेलमा प्रदेश-१ माथि ४० रनको सहज जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १३० रनको लक्ष्य पछ्याएको प्रदेश-१ ले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो ।  

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रनको योगदान दिइन् । ७.४ ओभरमा कविता कुँवरले बोल्ड गराउनुअघि उनले २० बलमा ५ चौका प्रहार गरिन् ।

अप्सरी बेगमले २२, संगीता राईले १३ निग्मा तामाङले १० रन बनाउँदा अन्यले  दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ४, कविता जोशी र कविता कुँवरले समान २-२ र सुनिता लोहारले १ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पारेको थियो । 

सुदूरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारी खेलिन् । १८.१ ओभरमा शवनम राईले बोल्ड गराउनुअघि उनले ५८ बलको सामना गर्दै ४ चौका प्रहार गरिन् ।



रेवती धामीले ३०, कविता जोशीले २१ र डली भट्टले अविजित ८ रनको योगदान दिए ।

प्रदेश–१ का शवनम राईले २, ज्योति दनुवारले १ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा एपिएफसँग ३७ रनको पराजय बेहोरेको थियो ।

पहिलो खेलमा एपिएफसँग ८ विकेटले पराजित भएको प्रदेश-१ ले दोस्रो खेलमा लुम्बिनी प्रदेशमाथि १० विकेटको सहज जित निकालेको थियो ।

  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १६:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया