बादललाई सम्झिँदै प्रचण्डले भने : आफैंलाई बम हान्‍नेलाई मन्त्री बनाएर गल्ती गरेछु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन्। रुकुममा मंगलबार आयोजित जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

२०६९ सालमा प्रचण्ड र माओवादीलाई छाडेर मोहन वैद्य किरणसहित अर्को पार्टी बनाएका बादलसहितले २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेका थिए। त्यसबेला बादलहरूले ठाउँ ठाउँ बम पड्काउनुका साथै निर्वाचनमा अवरोध प्रयास पनि गरेका थिए। बादलकै नेतृत्वमा ब्यालेट बक्स फुटाउने काम पनि भएको थियो। 

'२०७० को निर्वाचनका क्रममा मलाई बम हानेपछि केही सेकेन्डले बाँचेको थिएँ। तिनै बम प्रहार गर्नेहरुलाई मैले मन्त्री बनाए सायद गल्ती गरेँ', उनले बादलतर्फ लक्षित गर्दै अगाडि भने, 'मैले अलिकति गल्ती गरेकै हुँ।'

प्रचण्डले अहिले एमालेतिर लागेका टोपबहादुर रायमाझीतिर लक्षित गर्दै अर्को कटाक्ष गरे। 'संगठन बनाउनै नसकेकालाई विश्वास गरेर मन्त्री बनाएँ', उनले भने, 'तिनलाई मन्त्री बनाएर पनि मैले सायद अर्को गल्ती गरेँ। मैले अलिकति गल्ती त गरेँ, सहिद परिवारहरु ओझेलमा परे जस्तो भयो। अहिले आत्मालोचना गर्न यहाँसम्म आएको हुँ।'

प्रचण्डले प्रतिक्रियावादीहरुले देशलाई बिगार्न खोजेका आरोप लगाए। उनले अहिले हतियार नउठेको भए पनि राजनीतिक युद्ध भइरहेको तर्क गरे। 'हतियार उठेको त होइन, एकले अर्कालाई मार्न खोजिएको त होइन तर यो पनि एउटा जनयुद्ध नै हो विद्रोह नै हो युद्ध नै हो', उनले भने, 'राजनीति भनेको रक्तपातहीन युद्ध हो। युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो।'

उनले कर्णाली र सुदूरपश्‍चिम सरकारलाई ढाल्न खोजिएकोबारे पनि बोले। 'कर्णालीको हाम्रो सरकारलाई अन्तिमसम्म अपदस्थ गर्न खोजिरहेको छ', उनले भने, 'सबै मिलेर अपदस्थ गर्न खोजे भने अपदस्थ त हुँदैनौँ तर प्रतिपक्षमा बसेर हामी फेरि सरकार कब्जा गर्ने ठाउँमा पुग्ने छौँ।'



भिडियो



  • प्रकाशित मिति : चैत २४, २०७७ मंगलबार १८:१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया