नेप्सेमा सामान्य अंकको करेक्सन

साताको चौथो दिन बुधबार सेयर बजार औसत अवस्थामा देखिएको छ । सूचक तुलनात्मक रूपमा सुस्त हुँदा कारोबार भोलुम भने औसतमै रहेको हो । नेप्सेले प्रतिदिन नयाँ उचाइ बनाउन प्रयत्न गर्दैछ ।

यसबीचमा केही बिक्रेता हावी हुनु वा समग्रमा सानो करेक्सन आउनुलाई विश्लेषकहरूले स्वाभाविक भएको प्रतिक्रिया दिइरहेका छन् । नयाँ वर्ष प्रारम्भसँगै सेयर बजारको गति तेज हुने अनुमान धेरैले गरेका छन् । त्यसो त सेयर बजारको गति र प्रवृत्ति सधैं एकनासको हुँदैन । तलमाथि गर्दै समग्रमा अघि बढ्ने हो । 

निरन्तर ६ दिनको वृद्धिपछि बुधबार नेप्से परिसूचकमा सामान्य करेक्सन देखिएको छ । गत साताको मंगलबारदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंकको करेक्सन भएको हो ।

पछिल्लो ६ दिनमा नेप्से परिसूचक १३०.९५ अंक बढेकोमा यस दिन करिब ३ अंकको करेक्सन भएको छ । साताको पहिलो कारोबार दिनदेखि नै दैनिक नयाँ रेकर्ड बनाइरहेको नेप्से, यस दिन २.८५ अंक घटेर २६७१.६२ बिन्दुमा झरेको छ । तर, यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.६२ अंक बढेर ४७६.८० बिन्दुमा पुगेको छ ।

यस दिन २१५ कम्पनीको ७६ हजार ५९१ पटकको कारोबारमा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले देखाएको छ । 

बुधबार नेप्से परिसूचकमा सामान्य करेक्सन भए पनि ५ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आजैदेखि कारोबारमा आएको ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि यस दिन करिब ८ प्रतिशतले वृद्धि भएको छ ।



त्यस्तै रैराङ्ग हाइड्रोपावरको सेयर मूल्य यस दिन सर्वाधिक ७ प्रतिशतभन्दा बढी घटेको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.०२ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशत घटेको छ ।



कारोबारमा आएको लघुवित्तको उपसमूहको परिसूचक २.१६ प्रतिशत र विकास बैंकको १.५ प्रतिशत बढेको छ भने लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । 

मंगलबार अल टाइम हाइ रेकर्ड बनाएको नेप्से बुधबार थोरै सुस्त देखिए पनि फेरि यसको गति भने नरोकिने धेरैको अपेक्षा छ । किन भने यतिबेला वित्तीय प्रणालीमा निक्षेप थपिने मात्रा बढेको छ । बजारमा व्याजदर निकै सस्तो रहको छ । त्यस्तै, वैशाख लागेपछि सूचीकृत कम्पनीहरूको तेस्रो त्रैमासको वित्तीय विवरण आउनुका साथै औसतमा नाफा वृद्धिको रिपोर्ट आउने विश्लेषकहरूको अनुमान रहेको छ ।

वैशाख लागेसँगै विकास निर्माणका कामले थप गति लिने छ । सरकारी खातामा भएको पैसा बजारमा आउन थाल्ने छन् । यसले तरलता थप सहज पार्ने हुँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने विज्ञहरूको दाबी छ ।

त्यस्तै सेयर बजारको सिजन पनि आउँदैछ । यी समग्र परिदृश्यहरूका आधारमा बजारको दीर्घकालीन गति सकारात्मक र बुलिस नै हुने धेरैको विश्लेषण छ । यसर्थ, लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले अघि बढ्न जरुरी रहेको विश्लेषकहरू बताउँछन् ।

  • प्रकाशित मिति : चैत २५, २०७७ बुधबार १६:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया