‘समाचारका हेडलाइनमा मात्रै मेरो अर्धनग्‍न शरीर देखेकी छु’
ज्योतिका लागि आमा नै गुरु, आमा नै मार्गदर्शक

रोल्पाबाट काठमाडौं आउँदा ज्योति मगरको एउटै सपना थियो नामी गायिका बन्ने। उनले काठमाडौं छिरेपछि ‘उही मुलाको सिन्की, उही मुलाको चाना’, ‘जिम्मल बाउकी छोरी’ लगायत गीतमा आवाज पनि भरिन्। उनी स्टेजमा सुरुदेखि नै दोहोरी गीत गाइरहेकी थिइन्।

करियरको सुरुवातमा निक्कै गाह्रो थियो ठाउँ पाउन। कलाकारका रुपमा अरुले पत्याउनु धेरै ठूलो कुरा भयो। आफैँले लगानी गरेका गीत/संगीत पनि म्यूजिक कम्पनीले पत्याउँदैनथे। त्यसैले सुरुका दिनमा अघि बढ्न चलेका गायक गायिकाको सहारा लिइन्। उनलाई नेपाली सांगीतिक आकाशमा 'उही मुलाको सिन्की.....' गीतले चिनायो।

धेरै छोरीहरूले देखेको सपना र करिअरमा परिवारको साथ पाउँदैनन्। तर, ज्योति भाग्यमानी थिइन्। जसले आमालाई नै गुरुका रुपमा पाइन्। उनलाई गीत गाउन आमाले नै सिकाइन्। आमाले लय सिर्जना गरिदिन्थिन्। ज्योति त्यसमै शब्द भरेर गाउँथिन्। ज्योतिका लागि आमा गायनकी गुरु मात्रै नभइ जिन्दगीकै पहिलो मार्गदर्शकका रुपमा आइन्। ६ वर्षको उमेरबाटै आफैँ बाँच्न सिकिन्। आमाले आफ्नो काम आफैँ गर्न सिकाइन्  । 

सुरुवाती दिनमा दोहोरी गाएर पनि ठूला ठूला कार्यक्रममा जान सकिन्छ भन्ने थाहा थिएन। पहिलोपटक गीत गाउन भैरहवा गएकी ज्योतीलाई अहिले पनि त्यो समय गीत गाउने तरिका थाहा नभएको कुरा याद आइरहन्छ। 

गीत गाउँदा गाउँदै ज्योति मोडलिङमा आइन्। उनको त्यता धेरै चर्चा भयो। उनलाई हेर्ने दर्शकले आहा भनेर ताली बजाए। उनी मोडलका रुपमा स्थापित भइन्। गीत गाउँदा जस्तो गाह्रो भएन मोडल भएपछि। म्यूजिक कम्पनी र म्यूजिक भिडियोमा निर्माताको लर्को लाग्यो। उनलाई पनि काम गर्नु थियो। बाँच्नु थियो। कयौं सपना पूरा गर्नु थियो। त्यो भन्दा ठूलो  मनोरञ्जन बजारमा स्थापित भएर टिक्नु थियो। उनले पाए जति काम खुरुखुरु गरिन्। 

म्यूजिक भिडियोमा अभिनय गर्दागर्दै उनको आलोचना सुरु भयो। ‘ढाडे बिरालो’ बोलको गीतमा अभिनय गरेपछि ज्योतिको आलोचना सुरु भयो। धेरैले फरक फरक प्रतिकृया दिए। लोक संगीतबाट कला क्षेत्रमा आएकी एउटी गायिकाको काँधमा देशको संस्कृतिलाई चिनाउने दायित्व पनि थियो। उनले संस्कृति झल्किने चाडपर्वका गीतमा छोटा कपडा लाएर अभिनय गरिन्। उक्त गीतमा शंकर बिसीले अभिनय गराएका थिए। दोष उनले मात्रै खेपिन, तर पनि कुनै गुनासो गरिनन्, अगाडि बढिरहिन्। 



यही समय उनलाई पुराना लोक गायक रामप्रसाद खनालले ‘अश्लील फिल्म’ खेल्न सुझाव दिए। यतिबेला उनको मन नमज्जाले दुखेको थियो। आफ्ना पितासहरका आफ्नै क्षेत्रका अभिभावकबाट उनले साथ, माया, सुझावको आशा राखेकी थिइन्। तर, पनि उनलाई नकारात्मक टिप्पणीले असर गरेन । त्यतिबेला आत्मबल बलियो बनाइन्। सोचिन्, ‘म आफ्नै प्रतिभाले यहाँसम्म आएकी हुँ। कसैले दबाउन खोज्दैमा दबिनु हुँदैन, गल्नु हुँदैन, ढल्नु हुँदैन।’ 

उनलाई धेरैले चिनेको म्यूजिक भिडियोमा खेलेपछि हो। तर, उनी आफैंलाई आफ्नो क्षमता गायनमा भए झैं लाग्छ। कतिपय स्टेज कार्यक्रममा ड्रेसका कारण ज्योतिमाथि दर्शकबाट हमला भएका खबर पनि सार्वजनिक भए। 



तर, यस्ता सबैखाले आलोचनाको खण्डन गर्छिन्। आफूलाई सबैले माया गरेको बताउने ज्योति आफ्नो आलोचना गर्ने मान्छेहरु फेसबुकमा मात्रै भएको तर समाजमा नभएको जिकिर गर्छिन्। आफ्नो अर्धनग्न शरीर पनि समाचारका हेडलाइनमा मात्रै देखेको उनी  बताउँछिन्। आफूले शरीरका कुनै अंग प्रदर्शन नगरेको ज्योतिको तर्क छ।

‘म पनि एक सामाजिक प्राणी हो। बाँच्न यही समाज चाहिन्छ’, उनले सुनाइन्, ‘समाजले चाहे जति मात्रै दिएकी छु।’

उनीसँग पनि एउटा सुन्दर परिवारको कल्पना छ। एउटा सुन्दर घर, सुन्दर परिवार, कला क्षेत्रलाई बुझ्ने श्रीमान्, काममा निस्कन दिने सासु ससुरा र बच्चाको कल्पनामा उनी हराउँछिन्। 

आज समाजले दिने प्रतिक्रियाले भविष्यको जीवनमा कुनै असर नगर्ने बताउँछिन्। ‘मभित्र राम्रो मानवता छ’, उनले सुनाइन्,  ‘त्यही मानवताले सबैलाई जित्छ।’ आज जस्तै सुन्दर जीवन भोलि पनि बाँच्ने विश्वास बोकेर उनी हिँडिरहेकी छन् निरन्तर यात्रामा।

  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १८:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया