सुदूरपश्चिममा पत्रकारको चुनाव : कुन जिल्लामा कसको नेतृत्व ?

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम गठबन्धन प्यानल विजयी भएको छ । बुधबार सम्पन्न मतदानमा योगेश रावलले नेतृत्व गरेको प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (नेपाल समूह) लगायतको गठबन्धन प्यानल विजयी भएको हो ।

रावलले ७५६ मत प्राप्त गरे । प्रेस चौतारी (ओली समूह) को नेतृत्व गरेका कृष्णले २९२ भोट प्राप्त गरेका छन् । अध्यक्ष योगेश रावलसँगै उपाध्यक्षमा सोही प्यानलका योगेन्द्र बलायर, महासचिवमा रामसिंह ठगुन्ना, सचिवमा हरि जोशी, समावेशी सचिव प्रेम चुनारा, कोषाध्यक्षमा राम धामी लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरू विजयी भएका छन् ।

कुन जिल्लामा कसको नेतृत्व ?

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बझाङ्गमा संयुक्त प्यानलका शैलेन्द्रबहादुर रोकाया नेतृत्वको टिम विजयी भएको छ । अछाममा खम्बु खत्री नेतृत्वको प्रेस युनियनको प्यानल विजयी भएको छ । बाजुरामा युनियन र ओली समूहबीच गठबन्धन भई युनियनका छक्क मल्ल नेतृत्वको प्यानल विजयी भएको छ ।

डोटीमा मोहन शाही नेतृत्वको एकल टिम विजयी भएको छ । दार्चुलामा ओली समूहको चौतारीको टोली विजयी भएको छ । यस्तै कैलालीमा प्रेस युनियनको टिम विजय भएको छ । प्रेस युनियनका तर्फबाट हिमाल जोशीको टोलीले बाजी मारेको हो । कञ्चनपुरमा माधम धामी नेतृत्वको गठबन्धन समूह निर्वाचित भएको छ ।

डडेल्धुराको निर्वाचन रोचक



डडेल्धुराको निर्वाचन रोचक रह्यो । युनियन नेतृत्वको गठबन्धनले युनियनका बरुण पनेरु नेतृत्वमा टिम तयार गरेको थियो । उक्त टिम आफूहरूलाई स्वीकार्य नभएको भन्दै युनियन इतर जिल्ला नेताहरूले विद्रोह गरे । उनीहरूले प्रेस चौतारी माधव–खनाल समूहका हिक्मत सिंह नेतृत्वमा नयाँ टिम बनाउँदै निर्वाचनमा गएका थिए । केन्द्रदेखिको गठवन्धनविरुद्ध लागेको भन्दै सिंहलाई कारबाही समेत भयो ।

तर चुनावी बाजी तिनै सिंहको प्यानलले मारेको छ । सिंहले गठबन्धनका आधिकारिक उम्मेदवार पनेरुलाई १८ मतको अन्तरले पराजित गरेका हुन् । उपाध्यक्ष, सहसचित, समावेशी सचिव र कोषाध्यक्ष पनि सिंह प्यानलकै विजयी भए ।



बैतडीमा जिल्लाको निर्वाचन भएन

बैतडीमा भने सदस्यता विवादका कारण चुनाव हुन सकेन । नयाँ सदस्यता सिफारिस गर्ने क्रममा क्रियाशील पत्रकारहरूले नपाएको भन्दै एक समूहले निर्वाचन समितिको कार्यालयका कागजातहरू च्यात्दै तालाबन्दी समेत गरेको थियो । प्रदेश र केन्द्रको टिमलाई मतदान गर्ने तर जिल्ला नेतृत्वको निर्वाचन नगर्ने गरी सहमति भएपछि जिल्ला नेतृत्व चयन भएको छैन ।


 

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १७:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया