‘आमा हुनुको सौन्दर्य संसारका अरु कुनै कुरामा भेटिँदैन’
रञ्जना भन्छिन् : छोराछोरी आफैंमा मीठा सपना हुन्
फरकधार / २८ चैत, २०७७

रञ्जना निरौलाको पारिवारिक जीवन सानैबाट रमाइलो थियो। बिहे, घर, श्रीमान, सासु–ससुरा रञ्जनाको कल्पनामा आइरहन्थे। छोराछोरीको कल्पना गरेर आफैंमा हराउँथिन्। त्यसबेला उनी बीए पढ्ने भइसकेकी थिइन्। बीए पढ्दा पढ्दै मागी बिहे भयो। बिहेका लागि रञ्जनालाई कसैले करकाप गरेनन्। आफ्नै रहर पूरा गर्दै बेहुली बनेर कसैको घरको दैलोमा टेकिन्। त्यसबेला उनको मन पनि उज्यालो भएथ्यो। 

बिहेपछि रञ्जनाले लेखिरहेका कविताका डायरी थन्काइन्। मनभरी पलाएका रहर र सपनाका मुजुरा आफैंभित्र दबाइन्। आफूलाई परिवारमै समर्पित गरिन्। आफ्ना सपना छोड्न, घरभित्रै सबै रहर पोख्न कसैले भनेको थिएन। परिवार नै उनको सपना बनिदियो। रञ्जनालाई थाहा थिएन, आफैंले छोडि हिँडेका सपनाले खोज्नेछन् जीवनको कुनै बिन्दुमा भनेर। 

आमा बन्ने रहर

बिहे गरेको १ वर्षसम्म उनको गर्भ बसेन। रञ्जना आफ्नै कुतकुतीभित्र मातृ ममता कल्पेर टोलाइरहन्थिन्। उनलाई लाग्थ्यो, ‘म कहिले प्रेगनेन्ट हुने, कहिले बच्चा जन्माउने र आमा हुने?’। तर श्रीमान भन्थे, ‘उमेर छ हतार नगर।’  रञ्जनालाई त्यो हतारो र उमेरभित्र के पर्छ थाहा थिएन। मातृ सुख भोग गरिहाल्ने हुटहुटीले सताएको थियो। 

रञ्जनाले यो एक वर्ष कति पटक भगवान पुकारिन् त्यसको हिसाब छैन। कतिपटक आफैँसँग डराइन् लेखाजोखा छैन। कयौं पटक डाक्टरसँग सल्लाह गर्न पुगिन्। स्वास्थ्य अवस्था ठीक छ भनेर घर पठाउँथे डाक्टर। ता पनि सन्त्रास बोकेको उनको मनले भन्थ्यो, ‘डाक्टरले कतै झुट बोलिरहेका त छैनन्।’

उनी आफैँ भित्रको डरलाई शान्त बनाउँदै अन्ततः उनी आमा बन्ने भइन्। पहिलो पटक गर्भवती भएको थाहा पाउँदा फूल जस्तै हलुङ्गो भयो उनको मन। जीवनमा एकाएक वसन्तमा बहार आएको थियो। उनीभित्र वसन्तका पालुवा जुरमुराएका थिए। सम्झिन्थिन्, ‘म सिंगो वसन्त बोकेर गर्भमा हिँडिरहेछु।’ 

दिन बित्दै जाँदा विभिन्न शारीरिक अप्ठ्यारा देखिँदै गए। त्यो बेला आधा मानो पानी खादा २ लिटर भएर फर्किन्थ्यो। पानीसँगै आन्द्रा निस्किए जस्तो पीडा हुन्थ्यो। खानेकुरा सम्झिँदा जिब्रो रसाउनुको साटो घाँटी कोक्याउँथ्यो। त्यही पीडा मिठो लाग्थ्यो रञ्जनालाई।

बढ्दै गएको पेट आफ्नै हत्केलाले मुसार्थिन्। आफैंसँग लजाउँथिन्। कल्पना गर्थिन, ‘मभित्र म जस्तै अर्को मान्छे चलमलाइरहेको छ।’ कल्पनामा पालैपालो गर्भको बच्चालाई छोरो बनाउँथिन्, छोरी बनाउँथिन्। नाम राख्दै उनीहरुका आकृति कल्पना कोरिरहन्थिन्। एकैछिन बच्चा चलमलाएन भने उनको मन आत्तिन्थ्यो।

वसन्त ऋतु आउनै लाग्दा कति उज्यालो देखिन्छ मौसम। फक्रिनै लाग्दा कोपिला कति सुन्दर हुन्छ फूलबारी। त्यस्तै भएथ्यो रञ्जनाको मन। उनी आफ्नो शरीरबाट अर्को शरीरको कथा लेख्दै दिन बिताउँथिन्। 

बच्चाको खुसी

उनी गर्भावस्थाको अन्त्यतिरको समय सम्झिन्छिन्, ‘अब मेरो बच्चा जन्मिँदै छ। मेरा स्तनहरूमा दूध भरिँदै गएको छ। मेरो बच्चालाई स्तन पान गराउने कल्पनामा आफैंभित्र रमाउँथे’, उनी भन्छिन्, ‘आमा हुनुको सौन्दर्य, आमा हुनुको आनन्द संसारमा कहीँ पाइँदैन होला।’ रञ्जनाको कवि मन बारम्बार उडिरहन्थ्यो। 

एउटा शरीरले अर्को शरीरको कथा लेख्न। आकृति कोर्न त्यति सजिलो त कहाँ थियो र ? ९ महिना बित्दै गर्दा एक साँझ रञ्जनालाई गाह्रो भयो। अस्पताल लगियो। १९ घण्टा लगातार व्यथा लाग्यो। थापाथली अस्पतालको प्रसूति वार्डमा बिताएका १९ घण्टाले यसअघिका सबै उत्साह कमजोर बनाइदिए। 

त्यतिबेला उनलाई लागेको थियो, ‘कसैले पनि बच्चा जन्माउने आँट नगरुन्। प्रसूति व्यथा त ज्यानमारा रहेछ।’ प्रसव पीडाको त्यो समय रञ्जनालाई आफ्नै जीवनको माया लागेर आयो। बाँच्ने रहर मनभरी भरिएर आयो। वरिपरिका नर्सलाई भनिन्, ‘तपाइँहरु चाहिँ बिहे नगर्नु है, बरु राजनीति गर्नु।’ नर्सहरु मुस्कुराए, रञ्जना पीडाले छट्पटाइरहिन्। 

प्रसव व्यथा सुरु भएकै समयमा रञ्जना आमा भइन्। उनले पहिलोपटक छोरी जन्माइन्। छोरीलाई हातमा उठाएर डाक्टरले बधाई दिए। रञ्जनाले छोरी जन्मेपछि सबै दुखाइ भुलिन्। छोरी काखमा लिएपछि उनलाई लाग्यो, ‘म त संसारको सबैभन्दा धनी मान्छे। संसारमा म जस्तो राम्रो मान्छे कोही छैन। म जस्तो भाग्यमानी कोही छैन।’

सन्तानको अनुहार हेरेपछि मृत्युको मुखमा पुगेको पीडा पनि भुलिने उनको अनुभव छ। ‘बच्चाको अनुहार देखेपछि त्यसअघि मृत्युको मुखमा पुगेका सबै पीडा भुल्छन् त्यतिकै भनेको होइन’, उनले थपिन्, ‘यो कुनै कहानी होइन, वास्तवमै त्यस्तै हुन्छ।’ 

उनी जस्तै खुशी भए श्रीमान्। परिवारका अरु सदस्यले भने, ‘अब एउटा छोरो जन्माउनुपर्छ।’ रञ्जना आफैँ पनि अस्पतालबाट छोरी बोकेर फर्किँदै गर्दा अर्को बच्चा जन्माउने सपना ल्याइन्। उनलाई लागेको थियो, ‘छोरीलाई साथी चाहिन्छ, चाहे छोरा होस् या छोरी।’ 

आमा भएपछि आफूभन्दा बच्चाको माया लाग्दो रहेछ। मान्छेले छोराछोरीलाई किन आँखाको नानी, आफ्नै मुटुको धडकनसँग दाँजेका रहेछन्? रञ्जनाले आमा बनेपछि थाहा पाइन्। छोरी हुर्किँदै गर्दा रञ्जनालाई लाग्थ्यो, ‘हाम्रो मुटु हामीभित्र छ भन्नु त एउटा भ्रम रहेछ। छोराछोरीका रुपमा आफूबाट बाहिर निस्कने रहेछ एउटी आमाको मुटु। त्यसैले त हर सुख दुःखको संकेत बोकेर आउँदो रहेछ छातीको चस्काइ’। 

छोरीको माया 

छोरी जन्मिएपछि रञ्जनाले आफैंलाई भुलिन्। उनको सबै ध्यान छोरीमै केन्द्रित हुन्थ्यो। छोरी गर्भमा हुँदा आफ्नो केयर गर्न भ्याउँथिन्। छोरी आएपछिका हरेक दिन उनकै वरिपरि बिताइन्। छोरी हुर्किँदै गर्दा उनका हरेक मोमेन्टहरुले फरक फरक खालको मीठो अनुभूति दियो। छोरी २ वर्ष भएपछि स्कुल जान्छु भनिन्। यतिबेला उनको मन कटक्क खायो। लाग्यो, ‘अब यहीँबाट सुरु भयो छोरी टाढिने क्रम। यसैगरी छोडिँदै जान्छे छोरी म बाट।’ छोरी पहिलो पटक स्कुल गएको दिन उनले आफ्नी छोरीको नाममा निबन्ध लेखिन्। 

छोरी ३ वर्षकी भएपछि रञ्जना फेरि गर्भवती भइन्। उनका श्रीमान् बारम्बार भन्थे, बच्चा एउटा भए पुग्छ। उनको अडान थियो, ‘छोरीलाई साथी चाहिन्छ।’ यसपटक पनि रञ्जनाले गर्भमै छोरीको लिङ्ग पहिचान गरेकी थिइन्। उनलाई छोराछोरी भन्दा पनि छोरीलाई साथी जन्माउनु थियो। दोस्रो पटक गर्भवती बन्दा पनि उस्तै उस्तै खालका सिम्टर्म्स देखा परे। 

तर, पहिलोमा जस्तो उत्सुकता हुँदैन रहेछ। काउकुती हुँदैन रहेछ। सामान्य जस्तै लाग्दा रहेछन् हरेक कुरा। अघिल्लो पटक भएको गाह्रो सम्झिएर उनले यसपटक खानामा आफूलाई केही कन्ट्रोल गरिन्। उनी दोस्रो पटक आमा बनिन्। थापाथली अस्पतालको प्रसूति वार्डमा नै रञ्जनाले सानी छोरीलाई जन्म दिइन्। उनी संसारकै भाग्यमानी भइन्। 

अनि एक्लो यात्रा

छोरी मान्छेको जीवनमा आफ्नो करिअर भन्दा राम्रो श्रीमानको, आफ्नै बिहेको, समझदार परिवारको, सुन्दर घरको र छोराछोरीको सपना ठूलो हुँदो रहेछ। उनले ती सबै पाएकी थिइन्। जीवन पनि सुन्दर लाग्थ्यो। तर सुन्दर लागेका हर कुरा सधैँ हुन्न रहेछन् जीवनमा। 

रञ्जनाले कहिल्यै सोचेकी थिइनन्, एक दिन हर राम्रा सम्बन्ध छोडेर छोरीहरू मात्रै लिएर निस्कनुपर्छ, आफ्नै सपनाको घरबाट। ५ वर्षकी जेठी छोरी र २ वर्षकी कान्छी छोरी भएपछि वर्षौंदेखि आफ्नो भनेर लिपेको घर उनको भएन। माया पोखेर मानेका आफन्त आफ्ना भएनन्। 

जीवनको यही विन्दुबाट एक्लो भयो रञ्जनाको जीवनयात्रा। आफ्नाहरुले लत्याएपछि एक्लो भयो छोरीहरुमाथिको जिम्मेवारी। विषादको अँध्यारोमा आफ्नै आँखा बालेर जिन्दगीको यात्रामा छोरीहरुलाई एक्लै डोर्याइ हिँड्नु सानो चुनौती थिएन उनका लागि। 

एक्लै भए यो समयसँग, यो परिस्थितिसँग कति हार्थिन् होला उनी आफैंलाई थाहा छैन। छोरीहरू साथमा थिए। उनले हर परिस्थितिको सामना गर्न तयार भइन्। समाजसँग, समयसँग लड्न तयार भइन्। छोराछोरी भनेका अफ्ट्यारोमा बाँच्न आँट दिने भरोसा रहेछन्। रञ्जनाका छोरीहरूले पनि उनलाई संघर्ष गर्न बल दिए। 

त्यो पछि भोगेका दुखाइ। ती दुखाइहरुले दिएका अनुभूति केही कविता बने। केही निबन्ध बने। कविता र निबन्ध जस्ता रसिला भएनन् राहतहरु। सजिला भएनन् दिनहरू। के के कुराले मात्रै पिरोल्दैनथ्यो रञ्जनाको मन ? छोरीहरुलाई आमाबुवा दुवैको माया दिनु दियो। दुवैको दायित्व पूरा गर्नु थियो। उनलाई लाग्थ्यो, ‘भोलि जीवनको कुनै मोडमा उभिएर गुनासो गरे भने मेरा छोरीहरू आफूलाई कसरी सम्हालौँला। कसरी माफी दिन सकौँला?’ 

त्यसैले पनि उनको संघर्षको फेहरिस्त लामो बन्यो। समय बित्दै जाँदा घाउका खाटा बस्दै गए। छोरीहरू हुर्किँदै गए। अब त छोरीहरू उनका सुख दुःखका साथी भएका छन्। उनीहरु आमाको जीवनको सपना देख्ने भएका छन्। रञ्जना पनि समयले दिएका सबै घाउ बिर्सिएर बाँचिरहेकी छिन्। 

छोराछोरी भनेका आमाका सपना रहेछन्। रञ्जनाका छोरीहरुको उमेर अंकमा जति बढ्दै गयो, उनका सपना पनि हुर्किएर त्यति नै वर्षका हुँदैछन्। 

  • प्रकाशित मिति : चैत २८, २०७७ शनिबार ११:९:२५,   अन्तिम अपडेट : चैत २८, २०७७ शनिबार ११:१०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया