एकातिर प्रचण्डको राजनीतिक संकट, अर्कातिर भावुक बनाउने सीताको तस्बिर
छोरी गंगा भन्छिन् : आमाको अवस्था बिग्रिसकेको छैन, सामान्य छ

स्वर सम्राट नारायणगोपालले कुनै बेला गाएका थिए, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा ।’ यो प्रसंग अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालसँग ठ्याक्कै मिल्छ।

प्रचण्डले आफ्नो राजनीतिक जीवनको यो उचाइमा आइपुग्ने क्रममा कयौं पटक पत्नी सीता दाहालको प्रशंसा गरेका छन् । सीताको साथकै कारण १० वर्षे जनयुद्ध हाँकेर सहज रुपमा टुंगोमा पुर्‍याउन सकेको उनले बताएका छन्। हुन पनि जनयुद्धका बेला सीता, छोरा प्रकाश दाहाल र छोरीहरूसमेत भूमिगत भएका थिए। 

झगडा भए पनि पुस ५ अघिसम्म एकै ठाउँ रहेका प्रधानमन्त्री केपी ओलीसँगको झगडाका कारण प्रचण्ड यतिबेला राजनीतिक संकटमा छन्। ठूलै महत्वकांक्षासहित गरिएको एमाले र माओवादी केन्द्रबीचको एकता टुटिसकेको छ। सर्वोच्च अदालतले फागुन २३ गते पुरानै दुवै पार्टी फर्काइदिएपछि प्रचण्ड अहिले ‘राजनीतिक व्याकअप’ को खोजीमा छन्। ओलीसँगको यात्रा टुंगिएपछि प्रचण्ड अहिले अगाडि बढ्ने भरपर्दो रणनीतिको खोजीमा छन्। 

नेकपा खारेजीमा परेपछि प्रचण्डको  बास राजधानी काठमाडौंमा कम हुने गरेको छ। उनी अहिले विभिन्न जिल्ला दौडाहामा छन्। जनयुद्धकै शैलीमा आफ्ना कार्यकर्ताको घर घरमा पुगेर भलाकुसारीसँगै खाना पनि खान थालेका छन्। 

सिंहदरबारको लडाइँमा पार नलगोको बताउँदै फेरि जनताको घरमा जाने उद्घोष गरेका प्रचण्ड राजधानी बाहिरका विभिन्न जिल्ला पुग्न थालेका छन् । उनी रुकुम पुगेर चैत २४ गते सम्बोधन गरे। आइतबार उनी गृहजिल्ला चितवन पुगे। जहाँ उनले बिरामी पत्नी सीता दाहालसहित परिवारका सबै सदस्यसहित पुगेका थिए। सीता, छोरीहरू गंगा र रेणु पनि प्रचण्डको साथमै थिए।

सन्तान शोक र बिरामी सीता



दैनिक १५ घण्टासम्म राजनीति गतिविधिमा व्यस्त रहने प्रचण्डको पारिवारिक अवस्था भने छोरा प्रकाशको निधनसँगै बिग्रँदै गएको छ। छोराको निधनपछि गहिरो शोकमा परेकी सीता आफैँ अहिले गम्भीर बिरामी छन्। अर्थात् घरभित्रको मियो कमजोर बनिदिँदा प्रचण्ड परिवारमा चिन्ता बढेको छ। 

सबैभन्दा पहिले जेठी छोरी ज्ञानुलाई अन्तिम बिदाइ गरेका प्रचण्डले तीन वर्षअघि जवान छोरो प्रकाशलाई गुमाए । २०७४ साल मंसिर ३ मा प्रचण्डले एक मात्रै छोरा प्रकाशलाई अकल्पनीय रुपमा गुमाउनुपर्यो ।  



आमनिर्वाचनका बेला छोरो गुमाउनुपर्दा प्रचण्डलाई पुगेको क्षति अपूरणीय थियो। प्रचण्डका लागि प्रकाश छोरो मात्रै नभएर भरपर्दो सहयोगी पनि थिए । छोराको अकल्पनीय निधनपछि प्रचण्डको राजनीतिक सक्रियता घट्ने अनुमान धेरैले त्यहीबेला गरेका पनि थिए । किन भने प्रचण्डको राजनीतिक गतिविधिको ‘माइक्रो म्यानेजमेन्ट’ सबै प्रकाशले नै गर्थे। 

कुनै पनि बाबुआमाका लागि सबैभन्दा ठूलो चोट त्यतिबेला लाग्छ, जतिबेला आफूभन्दा पहिले सन्तानलाई बिदा गर्नुपर्छ। प्रचण्ड र सीताले त्यही अकल्पनीय क्षति भोग्नुपर्यो।

प्रचण्डले छोरालाई त सदाका लागि गुमाए, अर्कातिर श्रीमती सीताको अवस्था पनि बिग्रियो। पहिलेबाटै बिरामी उनी छोराको शोकसँगै थला पर्दै गइन्। पुत्र वियोग र श्रीमतीको अवस्थाले प्रचण्डलाई बेला बेला भावविह्वल बनाइरहन्छ । परिवारको समस्यालाई लिएर बेला बेला उनी चिन्तित भइरहन्छन्। 

सीताको उपचारका लागि प्रचण्ड भारतदेखि सिंगापुरसम्म पुगे। होमियोपेथी, आयुर्वेदिकदेखि विज्ञानले विकास गरेका सबै उपचार गरिएको छ। तातोपानी कुण्डको स्नानदेखि ठूला अस्पतालमा लगेर उपचार गराउँदा पनि सीताको अवस्था झन् झन् खस्किँदो छ।

सीताको स्वास्थ्य अवस्था झनै खस्किएको तथ्य प्रचण्ड परिवारले नै सार्वजनिक गरेको फोटोले देखाएको छ। छोरी रेणु दाहालले आइतबार सार्वजनिक गरेको एक तस्बिरमा सीताको अनुहार मलिन र कमजोर देखिन्छ। 

बुवा प्रचण्डसहित गृहजिल्ला चितवनमा रहेका बेला रेणुले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त फोटोमा सीतालाई स्वास्थ्य समस्याले झन् च्यापेको देखेपछि कयौँ शुभचिन्तक र कार्यकर्ताले स्वास्थ्य लाभको कामना गरेका छन्। 

फोटोमा सीता निकै कमजोर र दुब्ली देखिएकी छिन् । कुनै सन्दर्भ विशेषभन्दा दिदी र आमासँग सँगै भएका बेला फोटो खिचिएको अर्की छोरी गंगाले बताएकी छिन् ।मानिसहरुले सीताको स्वास्थयबारे चासो लिइरहँदा गंगाले भने आमाको स्वास्थ्य सामान्य रहेको बताइन् । 

भनिन्छ, ‘एउटा राजनीतिज्ञका लागि राजनीतिभन्दा ठूलो अरु केही हुँदैन।’ मुलुकको राजनीतिक खिचातानीबीच पारिवारिक पीडा खेपेरै प्रचण्ड काठमाडौंदेखि जिल्ला जिल्लामा सक्रिय छन्। 

के भएको हो सीतालाई ?

चिकित्सकका अनुसार सीतालाई पिएसपी नामक रोग लागेको छ । अमेरिकाको न्याशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआईएनडीएस) का अनुसार, पिएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रियाका साथै मनोदशा र सोचसमेत प्रभावित बनाउँछ ।

मष्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लैजान्छ ।

एनआईएनडीएसका अनुसार यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । सामान्यतः पिएसपीको लक्षण ६० वर्ष पुगिसकेकाहरूमा देखिने गरेको छ। तर कसै कसैलाई यो रोगले चाँडै समात्न सक्छ । पिएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित रहेको चिकित्सकहरु बताउँछन्। 

  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १५:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया