वर्ष २०७७ : आफ्नैबाट असुरक्षित, झन् बढ्यो गम्भीर अपराधको ग्राफ

पछिल्लो समय सामाजिक अपराधमा घटना बढ्न थालेका छन् । आफ्नै परिवारका सदस्यबाट पनि असुरक्षित हुनुपर्ने अवस्था बढिरहेको छ। नातेदारबाटै भइरहेका हत्यासम्मका घटनाले नेपाल प्रहरीको चिन्ता बढाएको छ।

कोरोना संकटबीच बितेको वर्ष २०७७ ले मानिसहरुमा सुख शान्ति भन्दा तनाव दिएर गइसकेको छ। कोरोनाका कारण लकडाउनले जन्माएका अनेक समस्याका कारण मानिसहरुले आत्महत्या गर्ने क्रम बढ्यो भने गम्भीर अपराधका कयौँ घटना पनि यही वर्ष भए। 

वर्ष २०७७ मा सुटकेशमा लास फेलादेखि बैतडीकी भागरथी भट्टलाई भाइ पर्नेले बलात्कारपछि हत्या गरेका घटना पनि भए। राजनीतिक रुपमा जति संकटग्रस्त रह्यो, अपराधको दृष्टिकोणले पनि नयाँ वर्ष २०७७ उस्तै सनसनीसहित बित्यो।

२०७७ सालमा सामाजिक अपराधको खोजी गर्दा यसको ग्राफ चिन्ताजनक देखिएको छ । यही वर्ष काठमाडौंको टोखास्थित ग्राण्डी भिल्लामा पुस तेस्रो सातामा श्रीमतीबाट श्रीमानको हत्या भयो । श्रीमान उमेश केसीको हत्या श्रीमती सुदीक्षा गिरीबाट भएको पत्ता प्रहरीले लगायो।

प्रहरी अनुसन्धानबाट दुवैको हत्या नभइ एकजनाले अर्काको ज्यान लिएर झुण्डिएको खुलासा भयो । अर्थात् पत्नीले पतिको ज्यान लिएर आफू पनि झुण्डिएको खुल्यो। पत्नीले सिलौटाले हानेर श्रीमानको ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

टोखा जस्तै राजधानीकै बल्खुमा पनि आफ्नैबाट आफ्नैको हत्या भयो । बल्खुमा श्रीमानबाट श्रीमतीको हत्या भयो । चैत पहिलो साता भएको यो घटना सुकुम्बासी बस्तीमा बस्दै आएका श्रीमान सन्तोष पटेलले श्रीमती सन्तोषी श्रेष्ठको हत्या गरे ।



उनले हथौडाले हानेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुल्यो । हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याँक्ने प्रयास पनि भएको प्रहरी अनुसन्धानले पुष्टि गर्यो।

पुरुषको हत्या बढी 



आफ्नैबाट आफ्नैको हत्या टोखा र बल्खुमा मात्र भएको छैन । प्रहरी तथ्यांक अनुसार यो सूची लामै छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार यो एक वर्षमा अर्थात विक्रम सम्बत २०७७ फागुनसम्म मात्रै देशभरिमा ८९८९ हत्या भएको तथ्यांक छ । 

जसमध्ये कर्तव्य ज्यानमा ४५३ र आत्महत्या दुरुत्साहनमा १०२ जना गरी ५५५ जनाको हत्या भएको छ । सम्भवत यी नै आफ्नैबाट हुने हत्याको सूची रहेको प्रहरी भनाइ छ ।

प्रहरीको यो तथ्यांकमा सबै भन्दा बढी १ नम्बर प्रदेशमा १७१५ वटा हत्याका घटना भएको देखिन्छ । त्यसपछि यो वर्ष हत्या हुनेहरुमध्ये पुरुषको बढी हत्या भएको तथ्यांक छ । तथ्यांक अनुसार यो एक वर्षमा पुरुषको ५४९९ जनाको हत्या भएको छ भने २६६४ जना महिलाको हत्या भएको छ ।

आफ्नै भन्नाले क्लोज रिलेशसनमा बस्नेलाई इंगित गरिएको छ । प्रहरीका अनुसार आफन्तमा खासगरी सासू, ससुरा र पतिले गरेका बुहारी वा पत्नीको हत्या, भाइ, काका, बाबुले गरेका छोरा वा भाइभतिजा छन् ।  प्रेमी–प्रेमिकाबाट हुने हत्या अझ धेरै छन्, जुन आफन्तमा समावेश गरिएको छैन ।

जानकार भन्छन् ः रिसको झोकमा हत्या

प्रहरी तथ्यांकमा शिक्षित र मान–प्रतिष्ठा कमाएका व्यक्तिबाट पनि सामाजिक अपराधका घटना बढेको पाइएको छ । मनोविद् डा.अरुण कुँवर भन्छन्– सामान्य घरधन्दाको विषयमा विवाद हुँदा आफन्तबाट अप्रिय घटना हुने गरेको छ। 

‘श्रीमान् र श्रीमतीको एकअर्कामा अविश्वास भएर पनि घटना घट्छन् । रिसको झोकमा पनि हुन्छन्’, कुँवर भन्छन्, 

‘कतिपय अवस्थामा श्रीमान् वा श्रीमतीले मदिरा पिएका बेला विवाद हुँदा पनि यस्ता घटना हुने गरेको देखिन्छ ।’ 

यी घटनालाई रोक्न गाउँ–समुदाय नै लाग्नुपर्ने उनी बताउँछन्। यता पूर्व प्रहरी अधिकारीहरुको अनुभव पनि उस्तै छ। प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल आफन्तबाटै हत्याको घटना हुनुको कारण विचलित मानसिकता र समाज भएको बताउँछन् । 

उनको दृष्टिमा यस्ता घटनामा यौन मनोरोग मुख्य कारण हो । ‘नेपालमा यौन मनोरोगी एकदमै बढेका छन् । डरलाग्दो अवस्था आउन थाल्यो,’ उनी भन्छन्, ‘आफू केही नगर्ने, बाहिरबाट सुटर मगाएर हत्या गर्न थालियो । यसले अपराधउन्मुख समाजको चित्र कोरेको छ । 

‘यसको मुख्य दोषी व्यक्ति हो,’ उनी थप्छन्, ‘अर्को पारिवारिक कारण हो । जुन परिवारमा विग्रह छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना ज्यादा घट्ने गर्छ ।’ 

तर प्रहरीले भने यसलाई आवेशप्रेरित हत्याको संज्ञा दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त बहादुर कुँवरले आफन्तबाट हुने हत्या आवेग र उत्तेजनमा आएर हुने बताए । 

‘यो हत्या पारिवारिक सम्बन्धले नै हुने हो,किनकि डोर टु डोर प्रहरीले सुरक्षा दिन सक्दैन’, उनले भने, ‘त्यसैले होला हत्या भइरहन्छ।’

आवेशमा आएर व्यक्तिमा छाडापन बढेको हुनाले पनि यस्ता खालका घटना हुने गरेको उनको भनाइ छ । यसलाई न्यूनीकरण गर्न सामाजिक सचेतना बढाउनुपर्ने जरुरी रहेको प्रवक्ता कुँवर बताउँछन् ।

  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार १९:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया