काठमाडौँ : सरकारले नयाँ वर्ष २०७८ को पहिलो दिन नै देशका लागि उत्कृष्ट योगदान गरेको भन्दै ५ सय ९३ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलंकार र पदकबाट सुशोभन गरेकी हुन्।
साताअघि गत शुक्रबार २०७६ को संविधानमा दिवसमा घोषितहरुलाई विभूषित गरिएको थियो। बुधबार २०७७ को संविधान दिवसमा घोषितहरूले मानपदवी, अलंकार र पदक लगाएका हुन्।
नयाँ वर्षका दिन सरकारले वितरण गरेको मानपदवी, अलंकार र पदकमा रहेको गल्ती सच्याएको छ। यसअघि २०७६ का लागि वितरित मानपदवी, अलंकार र पदकमा गत वर्ष जेठमा जारी नेपालको नयाँ नक्साको चुच्चो समेटिएको थिएन।
सरकारले गत जेठमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो। तर २०७७ मा नयाँ नक्सा जारी गरेको अवस्थामा २०७६ को मानपदवी र पदकमा उक्त कुरा समेटिन नसक्ने तर्क गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गरेका थिए।
तर २०७७ को मानपदवी, अलंकार र पदकमा भने चुच्चे नक्सा पनि समेटिएको छ। मुलुक कोभिड-१९ को चपेटमा परिरहेका बेला सरकारले काठमाडौं उपत्यकामा २५ जना बढी भेला नहुन भनेको छ। तर राष्ट्रपति कार्यालयमा मास्क नलगाइ सामाजिक दूरीसमेत पालना नगरी पदक थाप्न जानेको संख्या ५ सय भन्दा धेरै थियो।
गृह मन्त्रालयका अनुसार आज ५९३ जनालाई मानपदवी, अलंकार, र पदक वितरण गरिएको हो। संविधानको धारा २७७ को उपधारा (१) बमोजिमको मन्त्रिपरिषद् सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उनीहरूलाई विभूषित गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।