कोरोनाको दोस्रो लहर : उत्तर प्रदेश पनि महाराष्ट्रकै बाटोमा, नेपालमा खतराको घण्टी

भारतको महाराष्ट्रपछि नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेश राज्यमा पनि कोरोनाको दोस्रो लहरले भयावह रुप लिन थालेको छ। त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथ पनि बुधबार कोरोना संक्रमित भएपछि आइसोलेसनमा गएका छन्। 

उत्तर प्रदेशमा कोरोनाको दोस्रो लहरले अवस्था बिग्रिँदै गएको हो। प्रदेशमा बुधवार कोरोनाका नयाँ बिरामीको सबै रेकर्ड तोडिएको छ। यहाँ कोरोना फैलिएयताकै सबैभन्दा धेरै २४ घण्टाभित्र २० हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन्। बुधबार मात्रै यहाँ २० हजार ५ सय १२ जना नयाँ संक्रमित थपिएका हुन्। 

नेपालसँग सयौँ किलोमिटर लामो सिमाना र भैरहवादेखि कैलालीसम्म चार भन्दा ठूला भन्सार र खुला नाका जोडिएको यूपीमा ७ अप्रिलमा केबल ६ हजार २ संक्रमित भेटिएका थिए। त्यसभन्दा अघि ८ मार्चमा त एक दिनमा भेटिने संक्रमितको संख्या केबल १०१ थियो। तर पछिल्लो एक सातायता अचानक कोरोनाको विस्फोटक रुप देखिन थालेको हो। 

अहिलेसम्म भारतमा महाराष्ट्र मात्रै दैनिक २० हजार भन्दा धेरै कोरोना संक्रमित भेटिने एक्लो राज्य थियो। तर अब उत्तर प्रदेशले पनि महाराष्ट्रकै भयावह रुप लिन थालेको हो। 

महाराष्ट्रमा कोरोनाले विस्फोटक रुप लिइसकेको छ। त्यहाँ राज्य र केन्द्र सरकारले पनि अवस्थालाई नियन्त्रणमा लिन नसक्ने सम्भावना बढेको छ। त्यहाँ मंगलवार ६० हजार २१२ संक्रमित थपिए। तर आधा मात्रै ३१ हजार ६२४ निको भएका थिए। त्यहीँ एकै दिनमा २८१ ले ज्यान गुमाए। 



राज्यमा अहिलेसम्म ३५ लाख १९ हजार मानिस संक्रमित भएका छन्। यिनमा २८ लाख ६६ हजार निको भएका छन्। जबकि ५८ हजार ५२६ को ज्यान गइसकेको छ। यहाँ अहिले ५ लाख ९३ हजार मानिसको उपचार भइरहेको छ।

उता उत्तर प्रदेशका सहायक प्रमुख सचिव (स्वास्थ्य) अमित मोहन प्रसादका अनुसार बुधबार यूपीमा केबल ४ हजार ५१७ जना निको भए। यसक्रममा ६७ जनाले ज्यान गुमाए। प्रदेशमा अब जम्मा संक्रमित संख्या साढे ७ लाख छुन लागेको छ। 



त्यहाँ ९ हजार ३७६ संक्रमितले ज्यान गुमाइसकेका छन्। राज्यमा १ लाख ११ हजार सक्रिय संक्रमित छन्। यहाँ ८३ लाख भन्दा धेरै मानिसलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइएको छ।

उत्तर प्रदेश र बिहार नेपालसँग सबैभन्दा लामो सीमा जोडिएका भारतीय राज्य हुन्। उत्तर प्रदेशमा नेपालका मध्यदेखि सुदूरपश्चिमका जिल्लाबाट लाखौँको संख्याका युवाहरु रोजगारीका लागि जाने गरेका छन्। 

भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहँदा नेपाल आउने युवाहरुको बाटो नै उत्तरप्रदेश हो। भैरहवा नाका, नेपालगञ्ज नाका, धनगढीको गौरीफन्टा उत्तर प्रदेशसँग जोडिएका छन्। जहाँबाट कोरोनाको पहिलो लहरमा पनि लाखौँ नेपाली युवा नेपाल फर्किएका थिए। त्यसबेला पनि भारतबाट आएको कोरोना नेपालमा पहाडी जिल्लासम्म पुगेको थियो। 

बेड र भेन्टिलेटर अभाव

यूपीका अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको संकट सुरु भएको छ। पूरै राज्यमा रेमडिसिभिर इन्जेक्सन पनि अभाव भएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले गुजरातको अहमदाबादबाट रेमडेसिभिर इन्जेक्सनको २५ हजार डोज मगाएका छन्। उनले अधिकारीहरुलाई तत्काल आपूर्तिको व्यवस्था गर्न भनेका छन्। 

मुख्यमन्त्री आदित्यनाथ पनि कर्मचारी संक्रमित भएपछि मंगलवार सेल्फ आइसोलेसनमा गएका थिए। तर सामाजिक सञ्जालमा आदित्यनाथले बुधबार आफूलाई संक्रमण भएको बताएका छन्। ५ अप्रिलमा उनले कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए। 

भारतमा मंगलवार एक लाख ८५ हजार १०४ नयाँ संक्रमित थपिएका छन्। हिजो मात्रै ८२ हजार २३१ संक्रमित निको भएका छन्। अहिले भारतमा एकै दिन १ लाख १ हजार ८३५ जना सक्रिय संक्रमित थपिएका छन्। नयाँ संक्रमितको आँकडाले पनि उचाइ लिएको छ।

पहिलो पटक सक्रिय संक्रमितको संख्या पनि एक लाखमाथि बढेको हो। मृतकको आँकडा पनि यस वर्ष पहिलो पटक एकै दिनमा १ हजार माथि पुगेको छ। गत वर्ष १५ सेप्टेम्बरमा एकै दिन पहिलो लहरको महामारीका क्रममा भारतमा सबैभन्दा धेरै १२ सय ८१ जनाको ज्यान गएको थियो।

  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार २१:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया