'महिनावारी हुँदा हरेक महिला खुसी हुनुपर्छ'
नछुनु भनेको ठाउँमा लुकेर छुन्थिन् सन्तोषी

सन्तोषी श्रेष्ठ नेपाली एथ्लेटिक्सको इतिहासमा गौरव गर्ने एक नाम हो । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेपछि सन्तोषी चर्चामा आएकी हुन्। म्याराथनबाट नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन।

सागमा जितेको यो स्वर्ण नेपाली खेलकुदमा निकै चर्चित भयो। सागमा दबदबा जमाइरहने भारतकी धाविकालाई एक मिलि सेकेन्डले उछिन्दै सन्तोषीले देशका लागि जितेको त्यो स्वर्ण खास थियो।

१३ वर्षे यात्रा

उनै स्वर्ण सुन्दरी यतिबेला राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षणमा छिन्। एथलेटिक्समा लागेको १३ वर्ष बढी भयो । व्यावसायिक धाविका बनेको पनि ३ वर्ष भएको छ । यसबीचमा उनी ५ वटाभन्दा बढी राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइन्। अन्तर्राष्ट्रिय खेलकुदमा उनले कीर्तिमान बनाएको पनि १३ औं दक्षिण एसियाली खेलकुद नै हो ।

‘सुरुमा स्कुलका दौडमा भाग लिँदै जिल्लास्तरीय प्रतियोगितामा पुगेँ’, उनले आफ्नो यात्राबारे सुनाइन्, ‘सुरुमा त महिला भएर खेल्नु हुँदैन, पाठेघर खस्ने समस्या आउन सक्छ भन्नु हुन्थ्यो।’

सबै महिला खेलाडीलाई जुनसुकै बेला महिनावारीको पीडाले सताउँछ। झन् म्याराथन जस्तो कठोर शारीरिक अभ्यास चाहिने खेलमा उत्रिएकी सन्तोषीको पीडा अलग्गै छ।



महिनावारीलाई बोझ त ठानेकी छैनन् तर कहिलेकाहीँ पुरुष हुन पाएको भए झन् राम्रो खेल्न सक्थेँ भन्‍ने कुराले मनमा डेरा जमाइरहन्छ। 'महिनावारीको समयमा गाह्रो हुँदा पुरुष भएको भए अझै राम्रो खेल्न सक्थेँ कि भन्‍ने लाग्छ', उनले सुनाइन्, 'महिनावारी हुँदा दौडन गाह्रो हुन्छ तर पुरुषले त्यो अफ्ठ्यारो भोग्नु पर्दैन। महिनावारीका बेला कपडा अलिक बढी लगाउनुपर्ने भएकाले दौडन गाह्रो हुन्छ।'

पहिलो महिनावारी



सन्तोषीको पहिलो महिनावारी १५ पूरा भएर १६ लाग्दा भएको थियो । उनी दाजुसँग पढ्न काठमाडौंमा बस्न थालिसकेकी थिइन्। घर छाडेर आएपछि काठमाडौंमा महिनावारी भए के गर्ने भन्ने चिन्ता थियो । तर पहिलो पटक महिनावारी धादिङस्थित घरमै भयो। त्यो समय उनले केही थाहा पाइनन्। रगत बगेको देखेर आमाले महिनावारी भएको बताइन् । नेवार परिवारमा जन्मी हुर्केकी उनलाई पहिल्यै गुफा राखिएको थियो । 

भिडियो

धादिङमा हुर्केकी उनको परिवारमा ब्राह्मण समुदायको प्रभाव पनि थियो । घरमा महिनावारी भएपछि सात दिनसम्म बुवा र दाजुलाई नर्हेन र कुनै सामान नछुन भनियो ।

पहिलो पटक हुँदा डर पनि लाग्यो। के हो भनेर कौतुहल पनि उत्तिकै थियो। तर आमाले सिकाएकी थिइन् । उनी काठमाडौंमा दाजु र भाइसँग बस्ने गरेकाले आमाले यो सबै कुरा पहिल्यै सिकाएकी थिइन् । 

खेल र महिनावारी 

खेल क्षेत्रमा लागेपछि हरेक महिलाको फरक फरक पीडा हुन्छ। शारीरिक पीडा पनि सबैको फरक हुन्छ । उनलाई कहिले-काहिँ एकदमै गाह्रो हुन्छ। कहिले खासै फरक पर्दैन। पहिलो र दोस्रो दिन पाइला चाल्दा पनि कपडामा लागिरहेको छ कि जस्तो हुन्छ। त्यहीकारण राम्रोसँग कदम चाल्न नसक्ने उनले सुनाइन्।

‘पहिलो र दोस्रो दिन कहिलेकाहीँ शारीरिक पीडा हुन्छ। मानसिक 'ब्लकेज'ले राम्रोसँग खेल्न गाह्रो हुन्छ’, उनले सुनाइन्। हरेक पटक जति उफ्रियो त्यति नै पटक महिला र पुरुष दुवै धावकको शरीरबाट हेमेग्लोबिनको मात्रा घटेको हुन्छ ।

तर पुरुषको तुलनामा महिलाको शरीरबाट हेमोग्लोबिनको मात्रा धेरै घट्ने हुनाले एनेमियाको समस्या हुन्छ । खानपान र कसरतमा ध्यान नदिँदा शरीरमा हेमोग्लोबिनको मात्रा कमी भई महिनावारीमा समस्या हुने गर्दछ ।

अघिल्लो महिनावारी समयमा नहुँदा अर्को महिनावारीका बेला शारीरिक पीडा भोग्ने गरेको अनुभव उनीसँग छ।  तर उनले तिखो पीडा भोग्नुपरेको छैन। । उनका अन्य साथीहरू महिनावारीले छटपटाएको उनले देखेकी छन् । ‘महिनावारी हुँदा प्याडको घर्षणले एलर्जी हुने गर्दछ,’ उनले सुनाइन्।

चञ्चले सन्तोषी

नेवार परिवारमा हुर्किए पनि घरमा महिनावारी हुँदा बार्ने चलन थियो । नछुने हुँदा कतै छुनु हुँदैन पाप लाग्छ भनेर उनलाई आमाले भनेकी थिइन्। सन्तोषी भने जता नछुनु भनेको छ त्यहीँ घरमा कोही नभएका बेला छोएर बस्थिन् ।

‘पाप लाग्दा के हुन्छ होला भनेर जान्‍न मन लाग्थ्यो। नछुनु भनेको ठाउँमा म छुँदै हिँड्थेँ,’ उनले भनिन्। एकदिन पँधेरोमा पानी लिन जाँदा काकीले पानी ल्याउन बोकेको गाग्राको पानी थाहा नहुने गरी छोइदिइन् । घरमा गएर हेरिन् सबैले त्यो पानी खाए कसैलाई केही भएन । पानी तितो त नहुने रहेछ अनि नभन्दा कसैलाई पनि थाहा हुने  बुझिन् ।

सन्तोषी महिनावारीका बेला निकै ध्यान दिन्छिन् । उनी भित्री कपडा छानेर नरम र घर्षण कम हुने लगाउँछिन्। लोसन प्रयोग गर्छिन् । जसले गर्दा उनलाई दौडन र उफ्रन सजिलो हुन्छ । काठमाडौं बस्न थालेपछि महिनावारी बार्न छोडिन् । आमासँग हुँदा भान्छा नछिर्नेदेखि हरेक कुरा बार्छिन्। अन्य बेला उनले छोइछिटो केही बार्दिनन् ।

प्रशिक्षणका बेला प्याड फेर्न हुने समस्या उनले भोगेकी छन्। खेल्दा र प्रशिक्षणमा सन्तोषीलाई शारीरिक पीडाभन्दा मानसिक तनावले धेरै सताउँछ। ‘धेरै रगत बगेका बेला यता लाग्यो कि उता लाग्यो भनेर मानसिक तनाव हुन्छ।’ 

महिनावारी के हो ?

महिनावारी महिलाहरूको प्राकृतिक प्रक्रिया हो । निश्चित उमेर समूहमा महिलामा महिनावारी हुनै पर्ने गुण हो ।

खेलाडीको हकमा सन्तोषी खानपानमा ध्यान दिनुपर्ने बताउँछिन् । सबैले आफ्नो शरीर र खेल हेरेर नियमित कसरतमा ध्यान दिनुपर्ने उनले सुझाइन्।

‘पीडा हुँदा आराम गर्नुस्, नहुँदा दैनिक कार्यमा नियमित लागिरहनुस्', उनले भनिन्, 'यो समय डराउने, केही अभ्यास नगरेर शरीरलाई शिथिल बनाउनु हुँदैन।'

महिनावारी हुँदा हरेक महिला खुसी हुनुपर्ने उनको तर्क छ। ‘नियमित महिनावारी भएको छ भने खुसी हुनुस्', उनले भनिन्,'यो महिलामा हुने एउटा सामान्य र प्राकृतिक प्रक्रिया हो ।’

  • प्रकाशित मिति : वैशाख ६, २०७८ साेमबार १०:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया