केही सेकेन्डको त्याे अँध्यारो, जसले सरिताको जीवनमा उज्यालो ल्यायो
छोरीका लागि करिअर दाउमा राखिन्
फरकधार / ४ बैशाख, २०७८

उज्यालोसँग रमाइरहेकी सरिता लामिछानेको जीवनमा एक दिन अन्धकार छायो । त्यो अँध्यारोले ढाकेपछि आफ्नै जीवनमा के भइरहेछ चाल पाइनन् उनले । बेहोसीमै उनलाई आफ्नो जीवनको औधी माया लाग्यो । घाँटी सुकेर आयो । प्यास लागेको थियो । 

उनको जीवनमा अन्धकार छाएको दिन थियो २०६४ साल असारको। त्यो दिन मध्यान्ह कपनमा जग्गा हेर्न गएकी सरितालाई के ले छोप्यो थाहा भएन । बेहोस भएर ढलिहालिन् । सरिता बेहोस भएर ढलेपछि सँगै गएका श्रीमान् ऋषि लामिछाने आत्तिए। उनको होस खुल्दा ऋषि पसिनाले निथ्रुक्क थिए ।

होस खुलेपछि उनीहरु चेकअपका लागि डा. ज्योति अग्रवाल कहाँ पुगे । केही सेकेन्डको त्यो अन्धकारले जीवनभरका लागि उज्यालो बोकेर ल्याएको रहेछ । उनी गर्भवती भइछन् । बिहेको ११ वर्षपछि आमा बन्दै थिइन् सरिता । त्यो क्षणको खुशी आज पनि शब्दमा ब्यक्त गर्न सकिनन् उनले ।

११ वर्षको प्रतिक्षा 

बिहेको ११ वर्षसम्म सरिता र ऋषिका आफ्नै सपना थिए । संघर्षको चरणबाट गुज्रिँदै गर्दा सरितालाई मातृत्वको भोक नलागेको होइन । तर, उनी सन्तानले आफ्नै आँगनमा खेल्दै, लड्दै हुर्किएको हेर्न चाहन्थिन् । यो ११ वर्षमा उनले आफन्तहरुको ‘बच्चा कहिले ?’ भन्ने प्रश्नको कति सामना गर्नुपर्‍यो, हिसाब छैन । यो प्रश्नले कयौं पटक नबिथोलिएको होइन उनको मन । 

उनलाई बेला बेला लाग्थ्यो ‘हामी किन बच्चा जन्माइरहेका छैनौँ ?’ प्रश्नसँगै आउँथ्यो ‘छोराछोरीले खेल्ने आँगन। छोराछोरीले उपद्रो गर्दै हुर्कँदा कसैको डर मान्नु नपरोस् । भित्तो समातेर पिसाब फेरिदिँदा कसैले गाली नगरोस् । आफ्नै घरमा निशंकोच हुर्कियुन्।’ त्यसपछि सरिता बेपरवाह सामना गरिदिन्थिन् समाज र आफन्तका यी प्रश्नलाई । 

आफ्ना छोराछोरीका लागि आफैँले देखेको सपना पूरा गर्न यो ११ वर्षमा उनीहरुले कति रहरसँग सम्झौता गरे ? कति आवश्यकतालाई खुम्चाएर राखे ? लेखाजोखा छैन। ११ वर्षको संघर्षपछि उनीहरु डेरा छोडेर आफ्नै लालपुर्जा भएको घरमा ओत लाग्न पुगे। अनि उनीहरुले बच्चाको प्लान गरेका थिए । प्लान अनुसार सरिता गर्भवती भइन् । 

शारीरिक र स्वास्थ्यका हिसाबले सबै ठीकठाक भएकी एउटी महिलाले ११ वर्षसम्म बच्चा नजन्माइ बसेको कुराले त्यसबेला डा. ज्योति अग्रवाललाई पनि अचम्म लागेछ । सरिताको ‘प्रेगनेन्सी रिपोर्ट पोजेटिभ’ आएपछि ज्योतीले सरितालाई सोधेकी थिइन्, ‘बच्चा पाउने की फ्याँक्ने ?’ 

गर्भवती भएपछि सरिताले आफूलाई मन पर्ने थुप्रै खानेकुरा छोडिन् । त्यतिबेला लाग्थ्यो, ‘मैले मीठो मानेर खाएको खानाले पेटको बच्चालाई केही असर गर्छ कि।’ यो समय ऋषिले सरितालाई सकेको समय दिए, केयर गरे । बच्चा बसेको ४५ दिनमा डाक्टरले बच्चाको हार्ट बिट सुनाइदिए । पहिलो पटक आफ्नो बच्चाको हार्ट बिट सुन्दा ऋषि र सरिता दुवैका आँखा भरिए । 

त्यो दौडधूप, त्यो माया 

सरिताले त्यो समय गर्भवती भनेर आफ्नो केयर गरेर बस्‍न पाइनन्। टेलिचलचित्र ‘परिचय’ सकिने फेजमा थियो । त्यसबेला नेपाल टेलिभिजनमा ‘पर्दा’ कार्यक्रम चलाउँथिन् । ब्याक टु ब्याक सुटिङ भयो। पर्दाको रिर्पोटिङदेखि फाइनलसम्म दौडधूप चल्थ्यो। २०६५ वैशाख १३ गतेलाई डाक्टरबाट सरिताले डेलिभरी डेट पाइन् ।

स्टकमा राख्ने भनेर थुप्रै कार्यक्रम खिचियो । सरिता सुत्केरी भएको दोस्रो दिन नेपाल टेलिभिजनबाट ‘पर्दा’ कार्यक्रम प्रसारण भयो । उनी अस्पतालमा थिइन् । कार्यक्रम हेर्न पाइनन् । उनलाई आज पनि लाग्छ, ‘पहिलो पटक सन्तान काखमा च्यापेर आफ्नै कार्यक्रम टेलिभिजनमा हेर्न पाएको भए कस्तो हुन्थ्यो होला ?’

सरितासँग गर्भवती हुँदाका अनौठा अनुभव थुप्रै छन् । प्रेग्नेन्ट भएको बेला पेट बढ्दै जाँदा अनौठो लाग्यो । बच्चा चल्न थालेपछि झन् अनौठो लाग्यो । कहिलेकाहीँ बच्चा चलेन भने मन आत्तिन्थ्यो। आफ्नाहरुले गर्ने माया पनि अनौठो लाग्यो । सरिताको जीवनमा यो बीचमा कुनै कम्प्लिकेसन आएन । नर्मल लाइफ बाँचिन् । ब्यस्त भएरै समय गुजारिन्।  चेकअपको रिपोर्ट पनि सबै सामान्य आउँथ्यो । सरिता नर्मल डेलिभरीको तयारीमा थिइन्।
 
यो बेला आफन्तको माया र केयर एउटी महिलाको आँखामा सधैँ नाचिरहने रहेछ । सरिताले अहिले पनि दुर्गानाथ शर्माको परिवारलाई सम्झिरहन्छिन् । दुर्गानाथ शर्मा सरिताका नातेदार होइनन्, उनी छिमेकी मात्रै थिए । सरिताको ९ महिना सुरु हुनै लागेको थियो । 

शर्माले एक बिहान खाना खान बोलाए । सरिता पुग्दा त्यहाँको वातावरण देखेर भावुक भइन् । त्यो क्षणबारे सरिताले सुनाइन्, ‘मलाई मन पर्ने थुप्रै खानेकुरा थियो। दुर्गानाथ अंकललाई सोधेँ ‘यो के हो’ ? उहाँले बेबी सावर भन्‍नुभयो । त्यतिबेला मलाई बेबी सावर पनि थाहा थिएन। अंकलको माया देखेर भक्कानिएँ । त्यो इमोसन पार्ट मेरो जिन्दगीभरि यादगार छ ।’

डेटअघि नै व्यथा 

बैशाख १३ गतेको डेट थियो । बैशाख ४ गते सरिताको पेट नमज्जाले दुख्यो । उनीभन्दा पहिलै आमा बनेकी बैनीलाई भनिन्, ‘मलाई त पेट दुख्न सुरु भयो जस्तो छ कान्छी।’ बैनीले हाँस्दै भनिन्, ‘छिसिक्क पेट दुख्नेबित्तिकै बच्चा जन्मिने भए जसले जति पनि जन्माउँथे ।’ बैनीले नानी हुर्काइसकेकी थिइन् । सरितालाई पनि अनुभवीले भनी भन्‍ने लाग्यो । 

वैशाख ५ गते अन्तिम चेकअप थियो । अघिल्लै साँझबाट दुख्न थालेको पेट शान्त भएकै थिएन । त्यही दिन झापाबाट काठमाडौं आएकी बैनीलाई घर पठाउनै पर्ने थियो । त्यसैले बिहान चाँडै अस्पताल पुगिन् । चेकअपपछि डा. ज्योति अग्रवालले उनकै शैलीमा गाली गर्दै भनिन्, ‘यस्तो पनि केयरलेस गर्ने हो ? २५ प्रतिशत लेभर पेन भइसके छ तिमीलाई। अब फटाफट तयारी गरेर हस्पिटल भर्ना हुने।’ 

उनलाई अहिलेसम्म नलागेको डर एक्कासि लाग्यो । सरिताले ऋषिको अनुहारमा पुलुक्क हेरिन् । ऋषि केही बोल्न सकेनन् । उनले बर्बर आँसु झारेर एकोहोरो हेरिरहे । ऋषिको आँसु देखेपछि सरिता भक्कानो परिन्। दुवैजना रोए । त्यसपछि एकअर्कासँग बोल्न सकेनन्, घर फर्किए । 

एकातिर सबै तयारी गरेर अस्पताल भर्ना हुनु थियो । अर्कातिर सबै ठीक भएको अभिनय गरेर बैनीलाई घर पठाउनु थियो । सरितालाई त्यो समय निक्कै मुस्किल भयो । दिदीको अँध्यारो अनुहार हेरेर बैनी भन्थिन्, ‘केही त गडबड छ।’ तर सरिता भन्थिन्, ‘सबै सामान्य छ, तँ छिटो बसपार्क जा गाडी छुट्छ ।’ 

सरितालाई बैनी पठाउन बेहुली अन्माउन जस्तै गाह्रो भयो । गेटबाट निस्किँदै गर्दा बैनीका आँखाभरी आँसु थिए । पर पुगुञ्जेल डोलीबाट बेहुलीले फर्किएर माइती हेरेझैँ ट्याक्सीबाट हेरिरहिन्। सरिताले मन थाम्न सकिनन्, आँखाबाट आँसु बगाइदिइन् र लागिन् अस्पतालतिर ।

जब आत्तिइन् 

अस्पताल पुग्दा व्यथाले च्यापिसकेको थियो । नर्मल सुत्केरी हुने औषधि चलाइयो । तर, नानी जन्मने सुर नै थिएन। राति पौने ११ देखि १२ बजे बीचमा पेटको बच्चा एक्कासि ढुङ्गो जस्तो बनिदियो, उनी आत्तिइन् । 

डाक्टरलाई भनिन्, ‘मेरो बच्चा चलेन । एकदमै धेरै गाह्रो भयो । अब के गर्ने ?' ७ घण्टा लामो व्यथापछि पेट ढुङ्गा जस्तो भएको थियो । डा. ज्योतिले यस्तो केश जीवनमा पहिले कहिल्यै  ह्यान्डल नगरेको बताइन्। उनको मन चिसो भयो । अब के हुन्छ होला भनेर आत्तिइन्।

नर्मल डेलिभरी तयारीमा रहेकी सरिताको अप्रेशन गर्नुपर्ने भयो । त्यतिबेलाको सबैभन्दा राम्रो भनेर हिमाल हस्पिटल गए । त्यहाँ साँझ गएको बत्ति आएकै थिएन । उनीहरु टुकीको उज्यालोमा थिए । अस्पताल प्रशासन जेनेरेटर बिग्रिएको सूचना दिएर निदाएको थियो । 

डाक्टरले केस जटिल बन्दै गएको भनेर अर्को अस्पताल रिफरका लागि सुझाव दिँदै थिए । त्यसबेला ऋषि खूब रिसाए । उनले भने, ‘मेरी श्रीमती मरे पनि बाँचे पनि तपाईँको जिम्मा । अप्रेशन तपाईँले गर्नुपर्छ । तपाईँलाई जुन हस्पिटलमा सजिलो हुन्छ त्यहीँ लैजानुस्।’

सरिता भित्रभित्रै गलिसकेकी थिइन् । अप्रेशन हिमाल हस्पिटलमै हुने भयो । ऋषिले कानमा भने, ‘बाबा अप्रेशन गर्नुपर्ने भयो।’ मैले भनेँ, ‘जे भए पनि फरक पर्दैन मलाई । तर, बच्चा राम्रो जन्मनुपर्छ।’  

त्यो बेला ऋषिको छटपटी देखेर सरितालाई लागेथ्यो, ‘बाबु हुन पनि सजिलो त कहाँ हुँदो रहेछ र ?’ अप्रेशन थिएटरका केही सम्वाद आज पनि सरिताको सम्झनामा आउँछन् । झण्डै आधा घण्टा अप्रेसन चलेको थियो । त्यतिबेला डाक्टरले भनेका थिए, ‘ऊ धेरै साडी लाउने मान्छे । अप्रेशन अलिक विचार गरेर गरौं।’ बच्चा निकालेपछि ‘ऋषिजीलाई बोलाएर दिऊँ । बच्चाले भित्रै दिशा गरिसकेको रहेछ,’ भनेको पनि याद छ । उनी ब्यूँझिँदा नर्मल वार्डमा थिइन् ।

अनि आइन् छोरी
उनी होसमा आउँदासम्म ऋषिले छोरी जन्मिँदाको खुशी अस्पतालभर भनिसकेका थिए । उनले त्यो बेला दुईतर्फ खल्ती भएको बक्स पाइन्ट लगाएका थिए। दुवै खल्तीमा पैसा बोकेर हिँडेका ऋषि अस्पताल आउनेलाई एक बट्टा लड्डु र ५ सय रुपैयाँ राखेर बाँडिरहेका थिए । त्यो बेला उनीहरु अर्कै संसारमा थिए । 

छोरी जन्मिएको तीन दिन बितिसकेको थियो । सरिता अब फुर्तिली भइसकेकी थिइन् । तर, उनको पेट घटेकै थिएन । उनलाई आफ्नो पेटमा अझै बच्चा चलमलाएको महसुस भइरहेको थियो । डाक्टरलाई भनिन्, ‘मेरो पेटमा त अझै के चल्दैछ त! अर्को पनि बच्चा छ जस्तो छ।’ डाक्टर मज्जाले हाँसे । त्यसपछि सरितालाई सम्झाउँदै भने, ‘बेबी बक्समा बच्चा थियो, निस्कियो । केही दिन त्यस्तै फिल हुन्छ।’ 

उनी त्यही दिन अस्पातलबाट डिस्चार्ज भइन् । छोरी लिएर घर पुग्दाको वातावरण अनौठो थियो । छोरीको स्वागतमा पुरै घर डिटोल पानीले सफा गरिएको थियो । सरिताले छोरी लिएर पस्दा आमा पनि आएकी थिइन् । 

घर पुगेपछि गडबडी

बिहान ११ बजे अस्पतालबाट घर पुगेकी सरिताले दिनभरी रमाइलैसँग गुजारिन्। आफन्त भेट्न आए । शुभकामना दिए । मन फुरुङ्ग भइरहेको थियो। राति १२ बजेपछि उनको खुशी पीडामा बदलियो । श्वास फेर्नै गाह्रो भयो । घरमा भएका सबैलाई बताइन्। झ्याल ढोका सबै खोलिए । सरिताले निदाउने प्रयत्न गरिन् । एक झप्को निदाइन् पनि । ब्यूझिँदा रातको २ बजेको थियो । त्यो ब्यूँझाइ उनका लागि अत्यन्त पीडादायी भयो । सरिताको शरीर नसुनिएको ठाउँ थिएन। 

त्यो क्षण सम्झिँदै भनिन्, ‘आफैंलाई हेरेर डराएँ। मलाई हेरेर अरु पनि आत्तिए । डाक्टरसँग कुरा भयो । राति नै हस्पिटल लगियो । हस्पिटलमा डा. जगदीशचन्द्र अग्रवाल पनि हुनुहुन्थ्यो । त्यो बीचमा के के टेस्ट भयो थाहा छैन, बिहान ५ बजे नर्भिक हस्पिटल रिफर गरियो ।’ 

नर्भिकमा परीक्षण समय लामो चल्यो । डाक्टरको अनुहार हेरेरै आफू क्रिटिकल अवस्थामा छु भन्ने लाग्यो सरितालाई । एक त छोरी उनीसँग थिइनन् । अर्कोतिर आफूलाई के भइरहेछ डाक्टरले पनि भन्न सकेका थिएनन्। यही अन्यौल र छटपटीमा अर्को दिन सरिताले अस्पतालमा गुजारिन् । 

भर्खरै जन्मिएकी छोरी उता घरमा । गानिएको स्तन लिएर अस्पतामा बिताएको त्यो क्षण सरितालाई कहाली लाग्थ्यो । छोरी जन्मिएको छैटौं दिन सरिताको मन नराम्रोसँग भक्कानियो । उनलाई लाग्यो ‘म यो अवस्थामा छु । उसको बाबु पनि साथमा हुनुहुन्‍न। मेरी छोरीको भाग्यमा के लेखियो होला ?’ उनी दिनभरी रोइन् । 

सरिता रोएको हेर्न नसकेर भोलिपल्ट छोरी अस्पताल लगियो । उनले छोरीलाई स्तन पान गराइन् । मनका कयौं गाँठा स्तनबाट बगेको दूधसँगै गए । सरिताको मन हल्का भयो । उनी उज्याली भइन् । छोरी छेउमा सुताइन् । सरितालाई कुनै अलौकिक लोकमा पुगेको महसुस भयो । तीन दिनपछि उनको आङमा घाम लाग्यो । यो क्रम निरन्तर ७ दिनसम्म चल्यो । छोरी १० दिनकी भइन् । सरिताको अवस्था पनि सुधार हुँदै थियो।

ऋषिका आँसु

१०औँ दिनका दिन राति एउटा सुई लगाइयो । सुई लगाएपछि डाक्टरले भनेका थिए, ‘अब २४ घण्टा सरितालाई ज्वरो आउनु हुँदैन।’ त्यस रात ऋषि १५/१५ मिनेटमा बाथरुम जान्थे, मुख धोएर फर्किन्थे । सरिता सजिलै थाहा पाउँथिन् ‘ऋषि आफू रोएको आँसु लुकाउन बारम्बार बाथरुम गइरहेका छन् ।’ 

त्यसबेला सरिताको हार्ट बिट नै थिएन । डाक्टरले भनेका थिए, ‘विश्वका एक लाख सुत्केरीमध्ये एकजनालाई मात्रै यो कण्डिसन आउँछ।’ छोरी जन्मिँदा खुशी भएकी सरितालाई पहिलो पटक पश्चाताप भयो । उनलाई लाग्यो, ‘म मरेँ भने छोरी कसरी हुर्किन्छे होला । छोरा भएको भए त बाटोमा मागेर पनि ज्यान पाल्थ्यो ।’
 
छोरी जन्मिएको ११ दिन भयो । न्वारान हुने दिन सरिता अस्पतालमै थिइन् । केही सजिलो महसुस भएको थियो । पूर्णरुपमा ठीक छैन भन्ने पनि थाहा थियो । तर, उनलाई न्वारानमा आफ्नो काखमा छोरी लिएर बस्ने रहर पनि थियो । त्यसैले उनले डाक्टरलाई आग्रह गरिन् । डाक्टरले सोच्नुपर्छ भन्दै थिए । घरबाट फोन आयो, ‘आमा त न्वारानमा चाहिँदैन रे!’

यो वाक्यले सरिताको मन कसरी चिथोर्यो थाहा छैन। उनका आँखाले त्यो दुखाई सम्हाल्न सकेनन्। गालाका डिल हुँदै चिउँडोबाट आँसु छाती हुँदै बगे । उनको मनमा प्रश्नका अनेकन छाल दौडिए । लाग्यो ‘म बाट छुटेको मेरो बच्चाको न्वारानमा म चाहिँदैन। मेरो संस्कार कस्तो हो ?’ 

त्यसपछि सरिताले विद्रोह गरिन् । मानसिक पीडा भयो । डाक्टरलाई आग्रह गरेर घर गइन् । छोरी समातेर न्वारानमा बसिन् । 

ती कठिन १० महिना

उनले सबै जितिन् तर, आफ्नै शरीरसँग जित्न सकिनन् । त्यसपछि कम्प्लिकेसन झन् बढ्दै गए । कहिले युरिन नै बन्द भयो । उनलाई आफैं उठेर हिँड्न १० महिना लाग्यो । यसबीचमा ऋषिले खूब धेरै मायाले हेरचाह गरे । उनी पुनः उठेर हिँड्न सक्ने भइन्। 

छोरी बिस्तारै हुर्किँदै गइन् । सरिताले सबै कुरा छोडेर २ वर्ष मोबाइल अफ गरेर छोरीको स्याहार गरिन् । यसबीचमा कहिलेकाहीँ करिअर सम्झिएर पीडा हुन्थ्यो । आफ्नो लोकप्रियता र कमाइ सबै सकियो भन्ने हुन्थ्यो सरितालाई । फेरि आफ्नो अगाडि मुस्कुराइ रहेकी छोरी हेर्थिन् । सबै बिर्सिएर त्यतै फर्किन्थिन् । अहिले छोरी ठूली भइसकिन्। 

सरिताको सपना छ, ‘छोरी कलाकारितामा लागोस् । आफूले पूरा गर्न नसकेको सपना पुरा गरोस।’ छोरीको भने व्यापारिक लाइनमा इन्ट्रेष्ट छ । बैंकर बन्छु भन्छिन् । अब सरिताको सपना फेरिएको छ । उनी छोरीलाई साथ दिएर उनको सपनाको गोरेटो सजिलो बनाउन तयार छिन् ।

  • प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार ८:१:११,   अन्तिम अपडेट : बैशाख ४, २०७८ शनिबार ८:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया