प्रजनन स्वास्थ्यमा खुल्दै कैलालीका किशोरी

आफ्नो प्रजनन स्वास्थ्यका बारेमा गुपचुप रहने कैलालीका किशोरीहरू विस्तारै खुल्न थालेका छन् । विद्यालयमा शिक्षकले प्रजनन स्वास्थ्यका कुरा गर्दा लजाउने किशोरीहरू आफ्नो प्रजनन स्वास्थ्यप्रति चिन्तित बन्ने गरेका छन् । आफ्नो प्रजनन स्वास्थ्यको समस्या लिएर अस्पतालमा जाने गरेका हुन् ।

विभिन्न संघ-संस्था तथा सरकारले अस्पतालमा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिने गरेका छन् । ‘पछिल्ला दिनमा किशोर-किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्छन्’, धनगढीको ओम आशा हस्पिटलमा कार्यरत रेनु चौधरीले भनिन् ।

‘किशोर-किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर-किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका छन् ।’ रेनुले किशोरीहरू आफैं समस्या लिएर अस्पताल पुग्ने गरेको बताइन् । फिल्डमा समेत किशोरीहरूलाई काउल्सिङ हुने गरेको जानकारी दिइन् ।

यस अस्पतालमा गेरुवा ग्रामीण जागरण संघले काम गर्दै आएको छ । यस कार्यक्रममा पिएसआई नेपालको आर्थिक सहयोग रहेको छ । 

समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागु पदार्थ दुर्व्यसन लगायत समस्या कायम छन् । त्यस्ता समस्या कम गर्न कैलाली र कञ्चनपुरमा किशोर-किशोरीलाई परामर्श दिन थालेको स्वास्थ्य गेरुवाका कार्यक्रम व्यवस्थापक यदु केसीले जानकारी दिए । ‘सरकारी अस्पतालमा किशोर-किशोरी निःशुल्क प्रजनन सेवा सुरुवात गरिएको थिए । निजीमा भने पहिलो पटक गरिएको हो’, उनले भने ।

शुक्रबार मात्रै किशोर-किशोरी ओम आशा हस्पिटललाई सूचीकृत गरिएको हो । एक वर्षदेखि किशोर-किशोरी मैत्री सेवा दिन थालेको हस्पिटलले सबै मापदण्ड पूरा गरेपछि किशोर-किशोरीमैत्री स्वास्थ्यचौकीको आधिकारिकता पाएको हो ।



राष्ट्रिय किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमले निर्दिष्ट गरेको गुणस्तर अभिवृद्धि तथा प्रमाणीकरण निर्देशिका २०७२ अनुसार न्यूनतम मापदण्ड ८० प्रतिशत पूरा गरेपछि हस्पिटललाई किशोर-किशोर मैत्रीमा सूचीकृत गरिएको परिवार कल्याण महाशाखा टेकुका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताए । यसअघि सरकारीमा मात्र दिने यस प्रकारका सेवा अब निजी अस्पतालमा पनि सुरु गरेको उनले बताए ।

निर्देशक पोखरेलले विभागले प्रजनन स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए । ओम आशा हस्पिटललाई सूचीकृत गर्नका लागि विभागबाट टोली धनगढी पुगेको हो ।



स्वास्थ्य संस्थामा किशोर-किशोरीले निर्धक्क समस्या राख्ने वातावरण बनाएको ओम आशा हस्पिटलका अध्यक्ष भुपेन्द्र चौधरीले बताए । हस्पिटलमा किशोर-किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर-किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेको उनले बताए ।

उनीहरू यौन, प्रजनन तथा स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा विस्तारै सचेत हुन थालेका पनि छन् । एक वर्षमा २ हजार ५ सयले सेवा लिएका छन् । गेरुवाले कैलाली र कञ्चनपुरका ८ वटा अस्पतालमा किशोर-किशोरी मैत्री कार्यक्रम सञ्चालन गरिरहेको छ ।

धनगढीको ओम आशा हस्पिटललाई किशोर-किशोरीमैत्री स्वास्थ्य सेवाको प्रमाण पत्र हस्तान्तरण गर्दै विभागको टिम । तस्बिर : कैलाश जोशी

  • प्रकाशित मिति : वैशाख ४, २०७८ शनिबार १३:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया