असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने सत्य निरुपण तथा मेलमिलाप आयोगको तयारी

सत्य निरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ । 

आयोगद्वारा सोमबार पोखरामा आयोजित छलफल एवं अन्तर्क्रियामा आयोगका अध्यक्ष गणदत्त भट्टले ०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कुल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिए ।

आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको जनाउँदै उनले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम–कारबाहीमा पनि केही न केही असर पारेको स्पष्ट पारे । आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको जनाउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास व्यक्त गरे । 

द्वन्द्वपीडितलाई परिचयपत्र प्रदान गर्ने प्रक्रिया पनि थालिएको जानकारी दिँदै उनले उक्त परिचयपत्रका आधारमा राज्यबाट प्रदान गरिने सेवा सुविधाको सुनिश्चितताका लागि पनि पहल गरिएको स्पष्ट पारे । भट्टका अनुसार गण्डकी प्रदेशमा हालसम्म ३४ जनालाई परिचयपत्र प्रदान गरिएको छ । 
    
आयोगका सदस्य मन दाहालले आयोगमा प्राप्त उजुरीका आधारमा कानुनप्रदत्त अधिकारका आधारमा त्यसको छानबिन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको बताए । 

आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्वपीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत रहेको जनाउँदै प्राप्त उजुरीका आधारमा आवश्यक छानबिनसहित निष्कर्षमा पुगिने सुनाए । आयोगले निरन्तर द्वन्द्वपीडित एवं अन्य सरोकारवाला व्यक्तिसँग भेटघाट एवं अन्तर्क्रिया गरेको उनले बताए ।

उक्त अवसरमा द्वन्द्वपीडितका तर्फबाट कृष्णप्रसाद पराजुली र सुमित्रा केसीले द्वन्द्वकालीन समयमा परिवारका सदस्य गुमाउनुपरेको पीडा तथा भोग्नुपरेका समस्यामा राज्यले सम्बोधन गर्न नसक्दा दुःख लागेको उल्लेख गर्दै आफूजस्ता पीडितलाई उचित न्याय दिलाउन आयोगको ध्यानाकर्षण गराए ।





  • प्रकाशित मिति : वैशाख ६, २०७८ साेमबार १६:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया