माडीको अयोध्यामा भगवान रामको मूर्ति, काठमाडौंबाट निस्कियो कलश यात्रा

चितवनको माडी नगरपालिका-९ अयोध्या धाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति स्थापनाका लागि काठमाडौंबाट रथसहितको कलश यात्रा सुरु भएको छ।

काठमाडौं-अयोध्या (चितवन) श्री सीताराम शोभा रथ यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट मंगलबार बिहान सुरुवात गरे। 

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति कलश यात्रासहित माडी लगिएको हो। कलश यात्रासहित माडी लगिएका भगवान रामसहितका मूर्ति बुधबार एक कार्यक्रमसहित स्थापना गरिने भएको छ। अहिले माडीको अयोध्याधाममा राममन्दिर पनि तयार भएको छ। 

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति भइसकेको छ। अहिले सामाजिक संघ संस्था पनि त्यही काममा होमिएका छन्। मूर्ति स्थापना हुने भएपछि केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेर नेपालमा राम जन्मिएको प्रमाणित गर्न आफू पनि लाग्ने बताएका थिए। 

मूर्ति स्थापना कार्यक्रममा विभिन्‍न जातिका झाँकी प्रदर्शन गरिने भएको छ। अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीका अनुसार गत शुक्रबारै माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक बसिसकेको छ।

अहिले माडी र र्‍यालीको बाटोमा पर्ने भरतपुर महानगरका विभिन्न स्थानामा स्वागत द्वार राखिएका छन्। माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीका अनुसार कार्यक्रम व्यवस्थित बनाउन उपसमिति गठन गरी काम भइरहेको छ।



अयोध्या धाममा सरसफाइ र निर्माणलाई तीव्र पारिएको धाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले बताए। प्रधानमन्त्रीले राम चितवनको अयोध्यापुरीमै जन्मिएको बताएपछि अहिले त्यहाँ धार्मिक पर्यटक बढ्न थालेका छन्।



  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार ८:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया