खनाल-नेपालसहितलाई ओलीले सोधे : अर्को पार्टी किन खोलेको? सूर्य चिन्ह र नाम किन दुरुपयोग गरेको ? (पत्रसहित)

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। ओलीले सोमबारको केन्द्रीय कमिटी बैठकको निर्णयानुसार उनीहरुलाई स्पष्टीकरण सोधेका छन्। 

ओलीले पठाएको स्पष्टीकरण पत्रमा सांसदहरुलाई एमालेमा हुँदा हुँदै अर्कै पार्टीको नाममा गतिविधि गरेको आरोप लगाइएको छ। 'नेकपा एमाले नाम र सूर्य निर्वाचन चिन्ह दुरुपयोग भएको छ। यस गौरवशाली पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक विचारधारा, दर्शन र कार्यक्रम भन्दा भिन्न गतिविधि सञ्चालन गरी नयाँ राजनीतिक दल गठन गरेको पाइयो', सांसद मेटमणि चौधरीलाई पठाएको पत्रमा भनिएको छ, 'एमालेको विचार, सिद्धान्त र दर्शनभन्दा भिन्न गतिविधि सञ्चालन गरि नयाँ राजनीतिक दल गठन गरेको, सो दलको छुट्टै भेला चैत ४ र ५ गते गर्नुभएको, केन्द्रीय कमिटीदेखि मातहत प्रदेश/जिल्ला अन्य कमिटी तथा जनसंगठनहरू निर्माण गर्नुभएको र आफ्नो पार्टी अध्यक्षको नेतृत्वमा रहेको लोकप्रिय सरकार तथा राजनीतिक दलको विधान, पार्टी अध्यक्ष र महासचिवद्वारा चैत ३ गते गरिएको मौखिक र लिखित निर्देशनको अवज्ञा के कति कारणबाट गर्नुभएको हो?'

स्पष्टीकरण पत्रमा शत्रुवत ढंगले अघि बढेको दाबी पनि गरिएको छ। 'पार्टी र आफ्नो सरकार विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको,  घोषित रुपमा नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरि पार्टीको निर्णय, नीति, नेतृत्वविरुद्ध शत्रुवत ढंगले प्रस्तुत गरी दुष्प्रचार र भ्रम फिँजाउने कार्य किन गर्नु भएको हो?', पत्रमा भनिएको छ।

नेकपा एमालेले पार्टी हितविपरीत काम गरेको आरोपमा ३२ जना नेताहरुलाई कारवाही तयारीसहित स्पष्टीकरण पत्र पठाएको हो।  सोमबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयानुसार ती नेताहरुलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको हो।

सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको निर्देशनमा कर्णाली प्रदेशमा फ्लोर क्रस गरिएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका थिए। उक्त निर्णय अक्षम्य भएको भन्दै ओलीले नेता नेपालसहित माथि थप कारबाही अघि बढाउने जनाएका थिए।

बालुवाटार बैठकको निर्णयानुसार एमालेले संघीय संसदका २७ जना सांसदलाई स्पष्टीकरण सोध्न लागेको हो। त्यस्तै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न  पाँचजना प्रदेश सांसदलाई पनि स्पष्टीकरण सोधिँदैछ।



संघ र प्रदेशका सहित ३२ जना सांसदहरुलाई एमालेले स्पष्टीकरण पत्र पठाइएको हो। एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको समय दिएर स्पष्टीकरण सोध्दैछ। बाँकी संघीय र प्रदेश सांसदहरुलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको पत्र एमालेले बुझाएको हो।

सोमबारको बालुवाटार बैठकपछि स्पष्टीकरण सोधिएका सांसदहरुले चित्त बुझ्दो जवाफ नेताहरुले नदिएमा उनीहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट समेत निलम्बन तयारी एमालेले गरेको छ। 



वरिष्ठ नेता माधवकुमार नेपालले एमालेमै बसेर पार्टीलाई तहसनहस बनाउन लागेको निचोडसहित ओली आक्रमक भएका हुन्। माओवादी केन्द्रसँग पार्टी एकता नभए चुनावी गठबन्धनसम्मको तयारी नेपालले गरेपछि ओली उनीसँग सम्झौताभन्दा कारबाहीको दिशामा अघि बढेका हुन्। ​

  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार १५:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया