रंगशालामा प्रवेश निषेध : रोकिएन नेपाली दर्शकको माया

बैशाख ६ गतेको मन्त्रिपरिषदको बैठक निर्णय अनुसार मंगलबार भएको खेलमा नेपाली दर्शकले खेल हेर्न रंगशाला प्रवेश पाएनन्। 
नेपाल सहभागी अघिल्ला दुई खेलमा दर्शकको उल्लेख्य उपस्थिति थियो। 

नेपालले २ खेलमा सानदार जित निकालेको थियो। यसै कारणले पनि नेपाली क्रिकेट समर्थकलाई निकै उत्साह थियो। मंगलबार मैदानमै पुगेर नेपाल र नेदरल्याण्डको खेल हेर्ने योजनामा रहेका क्रिकेटप्रेमीलाई सोमबारको सरकारको निर्णयले निराश बनायो। 

रंगशालाभित्र छिर्न नपाउने खबर पाउँदा पाउँदै पनि त्रिवि क्रिकेट मैदानमा वरपर ठूलो संख्यामा क्रिकेटपेमीहरु उपस्थित भए। 

आफ्नो टिमको समर्थन गर्न दर्शकहरु मैदानबाहिर बसेर विभिन्न उपाय लगाइ खेल हेरिरहेका थिए। कोही रंगशालाको भित्ताबाट खेल हेरे। कोही मोटरसाइकलमाथि चढेर हेर्दै थिए। कोही रुखमा चढेर त कोही खाली रंगशालालाई घेरिएको बारमा टाँसिएर खेल हेर्दै थिए। 

आयुर्वेद तालिम केन्द्रको छतमा बसेर स्वास्थ्यकर्मीहरुले पनि खेल हेरिरहेका थिए।



खेल हेर्न भनी कोटेश्वरदेखि पुगेका गौतम विश्वकर्मा भने मिडिया गेटको नजिकै उभिएर खेल हेर्दै थिए। उनलाई आज भित्र छिर्न पाइँदैन भन्ने थाहा थियो तर तर कतै न कतै उभिएर अथवा रुखमा चढेर भएपनि खेल हेर्ने अभिलाशा बोकेर आएको उनले सुनाए। ‘आफ्नो देशमा खेल भइरहेको छ, त्यसैमाथि नेपालले राम्रो प्रदर्शन गरेको छ। त्यसैले खेल हेर्न आयौंं’ उनले भने। उनीसँगै उनका ४ जना साथीहरु पनि आएका थिए। 



डेबिट पाठक उनी किर्तिपुरमा बस्छन्, भित्र छिर्न नपाएपछि उनी पनि खेल मैदानको बाहिरी भित्तामा उभिएर खुट्टा तन्काई–तन्काई हेरिरहेका थिए। नेपालले खेलेको घरेलु मैदानको खेल छुटाउन नसकेर बाहिरबाट भए पनि हेर्न भनेर आएका हुन्। 

नेपाली टोलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली दर्शकलाई खुसी दिलाएका थिए। बलिङमा राम्रो गर्न नसक्दा ३ विकेटको हार व्यहोर्नु पर्‍यो।

 

नेपालले हारेपनि आजको खेल हेर्न निकै मजा आएको साहिन्जल मर्हजनले बताए। ‘नेपालले हेड टु हेड खेल्यो। नेपालको ब्याटिङमा आएको सुधार निकै प्रशंसनीय छ’ महर्जनले भने, ‘कुशल भुर्तेल जस्ता खेलाडीको उदयले नेपाली क्रिकेटमा रौनक थपेको छ।’ 

यो खेल नेपालले घरेलु मैदानमा समर्थक बिना खेलेको पहिलो खेल थियो। कप्तान ज्ञानेन्द्र मल्लले पनि खेलको दौरान समर्थकको कमी निकै महसुस भएको बताए। उनले भने, ‘फ्यानहरुको त्यो क्राउड निकै नै महत्वपूर्ण हुन्छ। आज हामीले त्यो निकै सम्झियौं।’

उनीसँगै नेरल्यान्डका खेलाडी वास डी लेडले पनि खेलमा नेपाली दर्शकको कमी महसुस भएको बताए। उनले भने, ‘नेपाली फ्यानहरुको क्रिकेटप्रतिको लगाव मैदानमा देखिन्थ्यो। जुन आजको खेलमा निकै यादगार रह्यो।’

नेपालमा घरेलु मैदानमा खेल हुँदा दर्शक मैदान बाहिरका बाह्रौं खेलाडी जसरी खेल हेर्ने गदर्थे। आज भने रंंगशालाको खालीपन सबैलाई महसुस भयो। कोरोना भाइरसको महामारीका कारण नेपालले हाल २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भने पछि दर्शक बिना खेल खेलाइएको हो। दर्शक बिनाको खाली रंगशालामा आज भएको खेल निकै खल्लो भयो।  

बजेन गित

खेलमा मंगलबार दर्शकको साथसाथै खेल मैदानमा बज्ने गीत पनि बजेन। हरेक ओभरको समाप्ति, विकेट जाँदा र स्कोर हुँदा रंगशालामा गीत बज्ने गर्थ्यो। मंगलबार गीत पनि बजेन। हरेक पटक विकेट जाँदा नेपाली गीत अथवा म्युजिक ट्युन बज्ने गर्थ्यो। मंगलबार भने खेलमा न त दर्शक नै आए न त खेलको बीच–बीचमा बज्ने गीत नै बज्यो। यसले पनि खेल थप खल्लो बनायो। 

नेपालले तीन विकेटको हार व्यहोरे पनि खेल भने निकै प्रतिस्पर्धात्मक रह्यो। 

  • प्रकाशित मिति : वैशाख ८, २०७८ बुधबार १०:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया