जनताको नाममा शपथ खाएका ओलीको ‘ईश्‍वरपथ’
‘हिन्दु सेन्टिमेन्ट तान्‍ने ओलीको सत्ता तुरुप’

दोस्रो कार्यकाल २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको शपथ लिइरहँदा केपी शर्मा ओलीले ‘ईश्वरको नाम नलिई जनता’को नाममा शपथ लिए। 

‘भौतिकवाद’लाई आफ्नो ‘मन्त्र’ मान्ने कम्युनिस्टहरु अदृश्य, पारलौकिक सत्ता र ईश्वरलाई नमानेर जीवन र जगतका वस्तु सत्यलाई आफ्नो सिद्धान्त मान्छन्। प्रधानमन्त्री ओली पनि प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा जनताको नाममा शपथ लिएको कुराले चर्चा पायो। 

बहुमतसहितको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली पार्टीभित्रबाटै असन्तुष्टिका ‘ज्वारभाटा’ सुरु भएपछि संकटपूर्ण अवस्थामा छन्। बहुमतको सरकारले अपेक्षाकृत काम गर्न नसक्नु, कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका नखेल्नु, आर्थिक क्षेत्र तहसनहसको अवस्थामा पुग्नु, विवादित निर्णय तथा नियुक्ति यसबीचमा जुनुलगायत कारण ओली संकटमा परिसकेका थिए।

यही संकटबीच ओली विषयलाई अन्यत्र ‘डाइभर्ट’ गर्न केही महिनादेखि प्रयत्नरत रहेको टिप्पणी सार्वजनिक रुपमा भइरहेका छन्। प्रधानमन्त्रीको शपथ खाएकै दिन ईश्वरको नाममा नभई जनताको नाममा शपथ लिएका ओली एकाएक पशुपतिनाथ मन्दिरमा सुनको जलप लगाउनेदेखि भगवान सीतारामको जन्मभूमि खोजीतिर लागे।

पशुपतिनाथ मन्दिरको जलहरी फेर्ने कुरामा प्रधानमन्त्री केपी ओली अग्रसर बने। र, सरकारले ३० करोड दिने सन्देश प्रवाह गराए। उनी पशुपति मन्दिर गए मात्र होइन, संकल्प पूजा नै गरे। गहिरो धार्मिक आस्था राख्ने गरेको जस्तै गरी श्रद्धापूर्वक पूजा अर्चना गरे। आममानिस उनको सक्रियताले अवाक् बने।

पशुपतिमा संकल्प पूजा, नारायणहिटीको आँगनबाट सम्बोधन, माडीमा राम मन्दिर बनाउने, हिन्दु चाडपर्वमा थप विदालगायत विषयले ओली धर्मलाई राजनीतिसँग जोडेर ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्नतिर लागेको टिप्पणी हुन थालेका छन्। 



‘हिन्दु सेन्टिमेन्ट तान्‍ने कोसिस’

राजनीतिक विश्लेषक उज्जवल प्रसाईं हिन्दु सेन्टिमेन्टलाई आफूतिर तान्ने एउटा ‘तमासा’को रुपमा ओलीको धार्मिक यात्रालाई व्याख्या गर्छन्। पक्ष वा विपक्षमा जस्तो चर्चा परिचर्चा भए पनि राजनीति अन्ततः आफ्नै वरिपरि केन्द्रित बनाइ राख्नका लागि यस्ता फन्डा गरिएको हुनसक्ने उनको अनुमान छ। 



‘यो केपी ओलीको तमासा हो। विशेषगरी उनलाई तमासा रचिरहन मन लाग्छ। यस्तो तमासा देखाइरह्यो भने मान्छेहरूको ध्यानाकर्षण हुन्छ', उनी भन्छन्, ‘यसरी पक्ष र विपक्षमा चर्चा–परिचर्चा गर्छन्। विपक्षमै बोले पनि उनी केन्द्रमै भइरहन्छन्।’

हिन्दु मतलाई आफ्नो बनाउन ओलीले केही समयदेखि यस्ता फन्डा चलाइरहेको उनी बताउँछन्। ‘हिन्दु मेजोरिटी भएको ठाउँमा त्यो मतलाई पनि आफ्नो बनाउन वा रिझाउन सकिन्छ भन्ने उनको अनुमान होला', उनले अगाडि भने, 'धार्मिक मठमन्दिर बनाएको ठाउँमा धार्मिक पर्यटक आउनसक्ने भन्ने लोभ पनि हुन सक्छ। त्यसले त्यहाँको मतलाई पनि प्रभावित पार्छ। हिन्दु सेन्टिमेन्टलाई आफूतिर तान्ने एउटा तमासा पनि हो यो।’

अर्का राजनीतिक विश्लेषक राजेन्द्र महर्जन पनि मोदीले जस्तै धर्मको विषयलाई विवादित बनाएर ध्यान आफूतिर केन्द्रीत गर्ने प्रवृत्ति विस्तारै ओलीमा देखिँदै गएको टिप्पणी गर्छन्। 

उनले अगाडि भने, ‘कोरोनाको संकट, सत्ताको संकट जुन छ त्यसलाई पनि डाइभर्ट गर्न सकिन्छ कि भन्ने उनको आकलन भएको जस्तो देखिन्छ।’

मोदीपथमै हिँडेका हुन ओली ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनताका माझ दक्षिणपन्थी, हिन्दुवादी र राष्ट्रवादीका रूपमा चिनिन्छन्। साथसाथै उनी भारतका हिन्दुमाझ निकै लोकप्रिय पनि छन्। 

भारतीय प्रधानमन्त्री मोदी र ओलीमा धेरै कुरामा समानता रहेको भन्दै उनीबाट प्रभावित भएर सिकेको हुनसक्ने पनि विश्लेषक प्रसाईंको भनाइ छ। ‘जनताको बीचमा तमासा रचेर अनेक फन्डा गरेर आफूलाई नेताको रुपमा चित्रित गर्ने मोदी, ओलीजस्ता नेताको चरित्र हो', उनले भने, 'उनीहरुमा धेरै समानता छ। मोदीबाटै प्रभावित भएर सिकेका पनि हुन सक्छन्। यसो हेर्दा मोदीले गरेका धेरै काम यिनले पछ्याइरहेको देखिन्छ।’

मोदीपथमै हिँडेको नभए पनि उनीसँग ओलीको चरित्र मिलेजस्तो देखिने उनको तर्क छ। उनले भने, ‘मोदीपथमै हिँडेको नभए पनि चरित्र मिलेको जस्तो चाँहि देखिन्छ।’

त्यस्तै, विश्लेषक महर्जन पनि मोदीले जस्तै धर्मको विषयलाई विवादित बनाएर ध्यान आफूतिर केन्द्रीत गर्ने प्रवृत्ति विस्तारै ओलीमा देखिँदै गएको टिप्पणी गर्छन्। ‘कोरोना संकट, सत्ताको संकट जुन छ, त्यसलाई पनि डाइभर्ट गर्न सकिन्छ कि भन्ने उनले आकलन गरे जस्तो देखिन्छ,’ उनले थपे।

त्यसो भए ओली पनि अब मोदीपथमै हिँडेका हुन् ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हिन्दु मिथकहरूबारे जसरी ओलीले बोलिरहेका छन्, पूर्वीय देवी-देवताको नाममा भाका हाल्दै हिँडिरहेका छन्, यसले के आकलन गर्न सकिन्छ भने उनी मोदीपथमै छन्।’ 
जनताको ध्यान मोड्ने ‘फन्डा’ !

ओलीले जब-जब आफू संकटमा पर्छन् अनि धार्मिक विषयसँग जोडेर राजनीतिक फाइदा लिन खोज्ने र जनताको ध्यान मोड्ने काम गरेको विश्लेषकहरुको भनाइ छ।

कोरोना भाइरस महामारीको बेलामा त्यसतर्फ कुनै ध्यान नदिई सबैलाई अयोध्याधामतिर केन्द्रित गराएर विषयान्तर गर्न ओली सफल भएको विश्लेषक प्रसाई बताउँछन्।

‘मुख्य विषयहरुको विषयान्तर गरेर अन्यन्त्र मोड्नु सजिलो उपाय हुन्छ। त्यस्तो सजिलो उपाय रोज्न उनी माहिर छन्', उनले भने, 'कोभिडको बारेमा चर्चा गर्नुपर्ने वा हस्पिटलको बारेमा बुझ्नुपर्ने बेलामा सबैलाई अयोध्यामा केन्द्रित गराइदिए ओलीले।’

इन्डियन पोलिटिक्समा पनि धर्मको रुपमा वा राष्ट्रवादको नाममा अन्यन्त्रै ध्यान मोड्ने खालको स्ट्राटेजी अपनाउने गरेको व्याख्या गर्दै विश्लेषक महर्जनले भने, ‘यहाँ पनि सोही विषयको अनुशरण गरेको जस्तो देखिन्छ।’

‘धेरैजस्तो देशका नेताहरुले धर्मको फन्डा प्रयोग गरिरहेका हुन्छन्,’ उनले अघि भने, ‘नेपालमा पनि हिन्दु धर्मप्रति आस्था राख्नेहरूको सेन्टिमेन्ट क्याच गर्न सकिन्छ भनेर ओलीले यो सब गरेको जस्तो देखिन्छ। एकखालको द्वन्द्वमा लाने काम लिडरसिपले गर्ने गरेको देखिन्छ।’

वामपन्थीको विचलन?

कम्युनिस्टहरु भगवानको कुरा होइन, यथार्थता र जीवनको कुरा गर्छन्। ओलीले भगवानको कुरा गर्नु कम्युनिस्ट आन्दोलनकै विचलन हो भन्नेहरूको पनि कमी छैन। माओवादी केन्द्रका नेता गणेश साह पनि ओलीको धार्मिक यात्रालाई वामपन्थीहरूको ठूलो विचलनको रुपमा व्याख्या गर्छन्। 

उनले भने, ‘यो वामपन्थीभित्रको ठूलो विचलन हो। समाजको अन्धविश्वास, धार्मिक आस्था वा आसक्तिलाई राजनीतिक उपयोग गर्न पनि खोजेको जस्तो देखिन्छ। अझै धार्मिक बाटोमा अग्रसर भएको जस्तो देखिन्छ।’

जनताको धार्मिक सेन्टिमेन्टलाई राजनीतिक लाभका लागि तान्ने प्रयास ओलीले गरेको उनले बताए। ‘जनताको धार्मिक सेन्टिमेन्टलाई राजनीतिक लाभका लागि तानिएको हो,’ उनले भने, ‘त्यसका लागि पशुपति होस् या सीतारामको होस्। आफ्नो लाभको लागि आमजनताको ध्यान डाइभर्ट गर्ने पनि गरिएको हो।’

तर, नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारी भने सबै विषयलाई राजनीतिक रुपमा मात्र जोड्न नहुने बताउँछन्। उनले भने, ‘ओलीलाई धर्मसँग जोडेर नलेज भएका, तर विवेक नभएकाले गर्ने कुरा हो यो। पृथ्वीनारायण शाहलाई हामीले किन गाली गर्ने ? उनले देश बनाइदिए, उनकै नाममा नेता बनाइदिए। अल्पज्ञानीको कारणले यस्तो अवस्था आएको हो।’

नेपालका कम्युनिस्टको बारेमा चर्चा गर्दै भण्डारीले भने, ‘नेपालका कम्युनिस्टहरु उग्र, अराजक, उदण्ड र अल्पज्ञानी हुन्। कम्युनिस्टभन्दा फरक दर्शन हुन्छ। उनीहरुले त्यो दर्शन मानेका हुन्। त्यसलाई हाम्रो राजनीतिभित्र मुछ्ने होइन।’

  • प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार १८:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया