प्रधानमन्त्रीको दम्भ भर्‍याङ चढेर धरहरामाथि पुग्यो : माधव नेपाल
भने : आशा त जागेको छ तर बालुवा पेलेर तेल आउँदैन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा अग्लो रहेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधामस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन्।  

‘प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहरा भन्दामाथि भर्‍याङ उक्लेर चढेको छ। त्यसो पनि उहाँ हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो। धरहरा हेरेर आफ्नो दम्भ देखाउँदै हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँको दम्भको कुनै अर्थ छैन। हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, संघीयता त्याग्दैन, संविधानको मुल मर्म र भाव अनुसार अगाडि बढ्छौँ। हामी कुनै व्यक्तिको मुख हेरेर होइन, जनताको मुख हेरेर आन्दोलनमा लागेका छौँ।’

केपी ओलीको विचार गलत रहेको भन्दै उनले नाम र चिन्ह मूल नरहेको समेत बताए। ‘केपी ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह मूल कुरा होइन, विचार मूल कुरा हो’, उनले अगाडि भने, ‘विचारले नै सही बाटो देखाउँछ, गलत विचारले गलत निष्कर्षमा पुर्‍याउँछ, त्यसैले हामी सही विचारको पक्षमा उभिएका छौँ।’

ओलीसँगको वार्ताको प्रसंग कोट्याउँदै उनले सुरुमा बालुवाटार बोलाउँदा आफू नगएको बताए। होटेल मेरियटमा भएको भेटको प्रसंग निकाल्दै उनले केही आशा जागे पनि बालुवा पेलेर तेल ननिस्कने उल्लेख गरे।

केही आशा जागे पनि हिजो होटलमा बस्नुभन्दा पहिले पार्टी स्थापना दिवसको उपलक्ष्यमा बल्खुमा बोल्दै ओलीले आफूहरुलाई बेस्मारी गाली गरेको प्रसंग नेपालले सुनाए।  गाली गरेर ओलीले आफ्नो चरित्र देखाएको पनि नेपालले उल्लेख गरे। 

‘मैले भनेको थिएँ, अब जेठ २ गतेमा फर्कौँ कमरेड ! पार्टीलाई मिलेर एकताबद्ध बनाऊँ, क–कसलाई थप्नुपर्छ छलफल गरौँ’, उनले भने, ‘तर उहाँले होइन, जुन निर्णय भइसकेको छ, त्यसैलाई मान्नुपर्ने अडान लिनुभयो।’



आफ्नो पक्षमा लागेको भन्दै विभिन्न जिल्लाका अध्यक्षहरूलाई हटाएको कुरासमेत केही ओली सुन्न नचाहेको नेपालले बताए। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टी एकताको पक्षमा नरहेको आरोप उनले लगाए। 

तर मेरियटको बैठकमा आफूविरुद्धको ६ महिनाको कारबाहीबारे ओलीले विचार गर्न सकिने बताएको उल्लेख गरे। ‘तपार्इंले मलाई पार्टीबाट निकाल्ने ? माधव नेपालले आन्दोलन र संगठन दुइटै चलाउँदै आएका छन्’, मेरियटमा आफूले भनेको नेपालले कुरा पत्रकारलाई सुनाए, ‘कसैले निकालेर निस्किनेवाला छैन। आन्दोलन र संगठनबाट निस्किनेवाला छैन।’



  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १३:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया