'फुटबलर बन्न सकिनँ, अब अरुलाई बनाउँछु'
फरकधार / १० बैशाख, २०७८

फुटबल । धेरैका लागि यो एउटा खेल मात्र हो वा केहीका लागि यो यसो टाइमपास मात्र हो ।

तर, करुणा पुडासैनीका लागि यो सपना हो, प्यासन हो र हो अब्सेसन पनि । 

यो त्यति बेलाको कुरा हो । उनी ६ कक्षामा पढ्थिन् । अनि सपना बनाएकी थिइन्– भोलि म नेपालको जर्सीमा राष्ट्रिय टिममा फुटबल खेल्छु ।

त्यति बेला काठमाडौं कागेश्वरी–मनोहरा भद्रवासमा आदर्श विद्यालयमा पढ्ने एउटा कलिली विद्यार्थीले यो सपना बनाउनु चानचुने कुरा थिएन । एक त प्राथमिक विद्यालयका विद्यार्थीले खेलमा भाग लिने वा खेलकुदमा नै करिअर बनाउने भन्ने माहोल बनिसकेको थिएन, त्यसमाथि युवतीहरुले त यस्तो सोच्दैसोच्दैनथे ।

तर, करुणाको स्कुलले यी सोचहरुलाई केही पर राखेको थियो । स्कुलले प्रत्येक साता एक दिन छात्राहरुको फुटबल म्याच गराउँथ्यो, अनि करुणा र उनका साथीहरुको रुचि पनि यसमा बढ्दै जान थालेको थियो ।

स्कुलमा छात्राहरुको टिम बन्न थाल्यो, करुणा एउटा टिममा सहभागी हुन थालिन् । तर, स्कुलको खेलले मात्र करुणाको धीत मर्दैनथ्यो, उनी घर पुगेपछि पनि फेरि फुटबल ग्राउन्डमा पुगिहाल्थिन्, दाजुभाइहरुसँग फुटबल खेल्न ।

उनी जुन जोशका साथ फुटबल खेल्थिन्, उनका दाजुभाइले भन्थे– यो त केटाजस्तै फुटबल खेल्छे यार !

करुणाले जुन सपना बनाएकी थिइन्, त्यसलाई ती दाजुभाइहरुको यो वाक्य र विस्तारै आफैंले बनाउँदै लगेको माहोलले थप बलियो बनाउँदै लगेको थियो । विस्तारै कस्तो भयो भने करुणाको सपना थप गाढा बन्दै गयो, कुनै प्रेमीले आफ्नी प्रेमिकाको नाम ढुंगामा खोपेजस्तै, मेट्नै नसकिने !

फुटबललाई मन दिइसकेकाले करुणाले विश्वकप र अन्य टुर्नामेन्टहरु पनि हेर्ने गरिसकेकी थिइन् । करुणाले पनि फुटबल मन पराएकाले हुनुपर्छ, विश्वकप फुटबल हुँदा त उनको घरमा कुरै फुटबलको मात्र हुन्थ्यो । 

अनि खेलमा करुणाले रोज्ने टिम थियो– इंग्ल्यान्ड । इंग्ल्यान्डका वाइन रुनीको स्ट्राइक, गोल गर्ने शैली र खेलशैलीले उनी यति लोभ्याएको थियो कि रुनी खेल्ने क्लब म्यानचेस्टर युनाइटेड नै इपिएलमा उनको ‘फेभरेट’ क्लब थियो ।

विश्वकप फुटबल र इपिएललाई फलो गर्ने करुणाले नेपाली फुटबललाई पनि फलो गरिरहेकी थिइन् । फुटबलका समाचार उनी छुटाउँदिनथिन्, नेपालका क्लब गेम टिभी हेर्न नपाए पनि समाचार पढेर उनी ‘अपडेटेड’ हुन्थिन् ।

उमेर बढ्दै थियो, फुटबल र नेपाली क्लबबारे जानकारी पनि बढाउँदै लगेकी थिइन् करुणाले । ९ कक्षामा पुगेपछि करुणालाई लाग्यो– यसरी स्कुल र गाउँमा खेलेर मात्र हुँदैन, म कुनै एउटा नेपाली क्लबसँग नै अनुबन्धित हुनुपर्छ ।

‘त्यसका लागि मैले उपाय सोचिसकेकी थिएँ,’ करुणाले भनिन्, ‘अनि मैले सबै नेपाली क्लबको फेसबुक पेजमा गएर एउटा मेसेज पठाएँ– म पनि क्लब ज्वोइन गर्न चाहन्छु ।’

जमलस्थित कार्यालयमा करुणाले आजभन्दा १२ वर्षअघिको यो कुरा सम्झिँदा आफूलाई नोस्टाल्जियमा डुबाइन्, थोरै भावुक, केही उत्साहित र केही दृढता देखाइन् ।

त, नेपाली फुटबल क्बलमा भर्ना भएर औपचारिक रुपमा फुटबल खेल्न चाहेकी करुणाले गरेका ती मेसेजलाई कसैले पनि उत्तर दिएन । 

थोरै निरुत्साहित त भइन् करुणा तर आफ्नो सपनालाई भुल्न चाहिनन् ।

स्कुले जीवन सकेर जब कलेज लाइफ सुरु गरिन् उनले, त्यही सपनालाई आफूसँग डोर्याइरहेकी थिइन् करुणाले ।

प्लस टु पनि सकियो । ‘त्यसपछि चाहिँ बल्ल करुणाले आफ्नो सपना पूरा नहोला भन्ने अनुमान गर्न थालिन्, आशंका गर्न थालिन् । हो, फुुटबलप्रतिको उनको लगाव घटेको थिएन तर करुणाले आफैं फुटबलर बन्छु भन्ने सपना चाहिँ धमिलो बन्दै गरेको आभास गर्न थालिन् । तैपनि आफ्नो विश्वास र दृढतालाई मर्न दिइनन्, त्यो प्रयास जारी राखिरहिन् ।

स्नातक पढिसकेपछि चाहिँ बल्ल करुणालाई अनुभूत भयो– अब फुटबलर बन्ने सम्भावना क्षीण हुँदै गएको छ । 

‘परिवारले मलाई खेल पनि भनेन, नखेल पनि भनेन,’ करुणाले भनिन्, ‘म आफैंलाई पनि फुटबलर बन्छु भन्ने लाग्न अब छोडिसकेको थियो, मैले त्यो सपनालाई विस्तारै भुल्न थालेकी थिएँ ।’

भनिन्छ नि, एउटा ढोका बन्द हुनु भनेको अर्को अवसर आउनु हो । करुणाको जीवनमा ठ्याक्कै त्यस्तै भयो, उनकै आत्मविश्वासका कारण । 

उनले फुटबलर बन्ने सपना त त्यागिन्, तर योप्रतिको लगाव चाहिँ त्याग्न सकिनन् ।

‘हो, अहिले पढाइ र काम दुवैको चाप छ, फुटबललाई म पहिलेको जस्तो समय दिन चाहिँ सक्दिनँ,’ करुणाले भनिन्, ‘त्यसैले अहिले म फुटबलभन्दा बढी समय फुटसलमा बिताइरहेकी छु ।’

अझ राम्रो पक्ष त के भने करुणा अहिले आफूमात्र फुटसल खेल्दिनन्, विभिन्न फुटसल टिमहरुलाई पत्राचार गर्छिन् र कहिलेकाहीँ उनीहरुबीच प्रतिस्पर्धा पनि गराउँछिन् । अनि इन्टरनेसनल फुटबलहरु पनि उनी छुटाउँदिनन् ।

इपिएलका खेलहरु हेरेर तिनको समीक्षा गर्छिन्, कुन क्लब र कुन खेलाडीले के कुरामा अझ सुधार गर्नु पर्छ भन्ने आफ्ना विचार राख्छिन् । 

नेपालमा महिला खेल समीक्षक अत्यन्त कम छन् । तीमध्ये एक महत्वपूर्ण नाम हो, करुणा ।

फुटबलसँगको माया र मोह, लगाव र विश्वास करुणाको के भने उनी म्यानचेस्टर युनाइटेड स्पोर्टस् क्लब नेपाल (एमयुएससिएन)की महिलातर्फकी संस्थापक पनि हुन् । यो क्लबमा करुणा सन् २०१६ देखि आवद्ध भएकी छिन् र विभिन्न फुटसल प्रतियोगिता पनि गराइरहेकी छिन् ।

यही क्रियाकलापले हुनुपर्छ, करुणालाई पछिल्लो समय आफू राष्ट्रिय टिममा समावेश हुन नसकेकोमा पनि कुनै ग्लानी छैन ।

‘बरु अहिले नयाँ सपना बनाएकी छु,’ करुणा मुस्कुराइन्, ‘अब म एउटा स्पोर्ट्स एकेडेमी खोल्न चाहन्छु, त्यसलाई बलियो बनाएर मेरोजस्ता सपना बनाएका नानीहरुको सपना मर्न दिने छैन ।’

अनि उनी भोलिको त्यस्तो नेपालको परिकल्पना गर्न चाहन्छिन्, जहाँ खेलाडीले सान र सम्मानका साथ आफ्नो जीवन बिताउन पाउन् । अनि छोरी पनि खेल्न सक्छे भन्ने भावना सबै अभिभावकमा पुर्याउन चाहन्छिन् करुणा ।

यो त भयो, करुणाले आजभन्दा वर्षौअघि बनाएको सपनाको कुरा र त्यसका अवयव ।

अब लागौँ यहाँसम्म आइपुग्दा करुणाले जीवनमा भोगेका सुखदुःखको चर्चाबारे । अहिले करुणा एक अटोमोबाइल्स कम्पनीमा कार्यरत छिन्, ब्रान्डिङ म्यानेजरका रुपमा । 

जसरी हिजो समाजले छोरी खेलाडी बन्छे भन्ने कुरामा विश्वास गर्न सकेको थिएन, त्यसैगरि आज करुणा जहाँ छिन्, त्यसमा उनका अभिभावकको विश्वास नै रहेको थिएन । उनका बाबुआमा त करुणालाई बैंकर बनाउन चाहन्थे, छोरीले बैंकमा काम गरोस् भन्ने चाहन्थे । करुणालाई चाहिँ यो क्षेत्रमा आफ्नो विश्वास रहेको छ, अर्थात् मार्केटिङमा । 

फुुटबल पछि आफू जम्न सक्छु भन्ने लागेको पनि उनलाई मार्केटिङ नै हो ।

‘मैले मार्केटिङमा लाग्छु भनेपछि घरमा बुबाआमाले मन पराउनु भएको थिएन, एकपटक त हामी बाबुछोरीको चर्काचर्की नै पर्यो,’ करुणा फेरि हाँसिन्, ‘एक महिनासम्म म बुबासँग बोलिनँ ।’

तर, उनले मानिनन् । बिबिए सकिँदनसकिँदै उनले काम गर्न खोज्न थालिन्, आफैंँले । ‘बुबाले त यहाँ यहाँ भनिदिएको छु, त्यहाँ गएर काम गर्नू भन्नुहुन्थ्यो,’ करुणाले भनिन्, ‘तर, मैले आफैंले गर्न खोजेको काम गरेँ, आफैं खोजेर काम सुरु गरेँ ।’

करुणाले सुरुमा एउटा ‘फिनटेक’ कम्पनीमा काम गरिन् । त्यहाँ उनले यस्तो ‘बबाल’ गरिन् कि उनको कामबाट कम्पनी निकै प्रभावित भयो, उनको तलब तीन महिनामा नै ‘डबल’ भयो । 

‘त्यहाँ तीन महिनामा नै कसैको तलब डबल भएको थियो भने त्यो म नै हो रे,’ करुणा मुसुक्क हाँसिन्, ‘मलाई एक जना सरले भन्नुभएको थियो ।’

यता करुणा सफलता हासिल गरिरहेकी थिइन्, उता घरमा उनको कामलाई इन्जोय गरिएको थिएन । फेरि बागबजार, डिल्लीबजार र पुतलीसडकका गल्लीहरुमा उनलाई ल्यापटपमा बोकेर हिँडिरहेको देखेका उनका छिमेकीले घरमा अनेक कुरा भन्दै कान फुकिरहेका हुन्थे । ती छिमेकी र नातेदारका कुरा सुनेर उनका बाबुलाई ‘हर्ट’ हुन्थ्यो, उनले छोरीलाई त्यो काम छोड्न भनिरहेका थिए ।

‘मैले राम्रो काम गरिरहेकी थिएँ, मेरो काममा म सन्तुष्ट पनि थिएँ,’ करुणाले भनिन्, ‘त्यसैले मैले घरमा बुबाआमाले भनेको पनि सुनिनँ ।’

करुणाले अहिले नेपालमा सबैभन्दा मन पराइएकामध्येका स्कुटी भेस्पा र अप्रिलाको ब्रान्डिङ र मार्केटिङ म्यानेजरका रुपमा आफूलाई अब्बल सावित गरिरहेकी छिन् ।

कामको सिलसिलामा उनी कहिले घर ढिलो पुग्छिन्, कहिले केही दिनका लागि उनी काठमाडौंबाहिर पुग्नु पर्ने हुन्छ । 

‘यस्तो बेला बुबाआमाको फोन तारन्तार आइरहन्छ,’ करुणा भन्छिन्, ‘मेरो कामको प्रकृति नै यस्तै छ । ठाउँ र समयसँग सरोकार हुँदैन । कहिलेकाहीँ घर पुग्दा त रातको १२ नै बज्छ, आशा छ, कुनै दिन मेरो परिवारसँगै सिंगो समाजले मेरो काम र भावनालाई बुझ्नेछन् ।’

जतिबेला यो सहरको वा यो समाजको सोच बदलिन्छ र कामलाई सम्मानका साथ हेरिन्छ, त्यति बेला करुणा आफू फुटबलर बन्न नपाएको बिर्सनेछिन्, समाज फेरिएकोमा औधी खुसी हुनेछिन् ।

  • प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार १८:२६:१४,   अन्तिम अपडेट : बैशाख १०, २०७८ शुक्रबार २०:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया