त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज : उपाधिदेखि विश्वकीर्तिमानसम्म

नेपाल क्रिकेट संघ (क्यान) ले भर्खरै त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज सम्पन्न गरेको छ  ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न सिरिजमा नेपाल, मलेसिया र नेदरल्यान्डको सहभागिता थियो । 

नेदरल्यान्डमाथि १४२ रनको सानदार जित निकाल्दै शनिबार सम्पन्न फाइनलमा घरेलु टोली नेपालले उपाधि हात पार्‍यो ।

नेपालले पहिलोपटक घरेलु मैदानमा टी-२० सिरिज आयोजना गरेको थियो र त्यसमा सफलता पनि प्राप्त गर्‍यो । 

यो सिरिजले केही हदसम्म समर्थकलाई नेपाली क्रिकेटमा केही सुधार आएको आभास दिलाएको छ । 

नेपालको ब्याटिङमा केही सुधार आएको संकेत देखिएको छ । यो सिरिजले कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरीजस्ता युवा खेलाडीको क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गर्‍यो । 



घरेलु मैदानमा पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज र उपाधि

यो नेपालले घरेलु मैदानमा खेलेको पहिलो त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज हो । क्यानको आमन्त्रणलाई मलेसिया र नेदरल्यान्डले स्वीकारेपछि यो सिरिज आयोजना भएको थियो ।



वैशाख ४-११ सम्म डबल राउन्ड रोबिनका आधारमा सञ्चालित सिरिजमा नेपालले नेदरल्यान्डलाई १४२ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो । 

यो नेपालको समग्रमा तेस्रो त्रिकोणात्मक सिरिज हो । नेपालले सन् २०१८ मा लड्स क्रिकेट मैदानमा मेरीलेबन क्लब र नेदरल्यान्डसँग पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । सन् २०२० मा सिंगापुर र जिम्बावेविरुद्ध दोस्रो त्रिकोणात्मक सिरिज खेल्यो ।

विश्व कीर्तिमान

यो सिरिजमा नेपालले ३ विश्व कीर्तिमान बनायो :

डेब्युमा शतकीय साझेदारी

नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेदरल्यान्डविरुद्धको डेब्यु खेलमा १२.४ ओभरमा ११६ रनको शतकीय साझेदारी गरेका थिए । यो कुनै पनि विकेटका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्युसियनले गरेको पहिलो शतकीय पारी हो ।

यसअघि टी-२० अन्तर्राष्ट्रियमा डेब्युसियन खेलाडीले बनाएको उच्च रनको साझेदारी ९० रनको थियो । सन् २०१९ मा मोजाम्बिकका डामिसो कुवानो र फिलिप कोसाले मलाबीविरुद्ध छैटौं विकेटका लागि यो साझेदारी गरेका थिए । 

कुशल भुर्तेलको अर्धशतकीय कीर्तिमान

कुशल भुर्तेल सुरुवाती ३ टी-२० अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने एक्ला खेलाडी हुन् । 

उनले नेदरल्यान्डविरुद्धको पहिलो खेलमा ६२ रन, मलेसियाविरुद्धको पहिलो खेलमा अविजित ६१ रन र नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा ६२ रनको पारी खेल्दै यो कीर्तिमान कायम गरेका थिए । 

इङ्ल्यान्डका ब्याट्सम्यान डेविड मलानले आफ्नो सुरुवाती २ टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गरेका थिए । उनले दक्षिण अफ्रिकाविरुद्धको डेब्यु खेलमा ७० र अस्ट्रेलियासँगको दोस्रो खेलमा ५० रनको पारी खेलेका थिए ।

कुशल मल्ल टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

कुशल मल्लले नेदरल्यान्डविरुद्धको फाइनलमा २४ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतले ५० रनमा अविजित रहेका थिए । 

उनले १७ वर्ष ५० दिनमा अर्धशतक प्रहार गरेका हुन् । उनले युगान्डाका ब्याट्सम्यान फ्रांक अक्कान्वासको रेकर्ड तोडेका हुन् । 

अक्कान्वासले १७ वर्ष १५२ दिनको उमेरमै सन् २०२० मा कतारविरुद्ध ६६ रनको पारी खेलेका थिए । 

राष्ट्रिय कीर्तिमान 

यो सिरिजमा केही राष्ट्रिय कीर्तिमान पनि कायम भए :

नेपालको टी–२० सर्वाधिक योगफल र अन्तरको जित

नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्डविरुद्ध २३८ रनको योगफल तयार पारेको थियो । यो नेपालले टी–२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठूलो योगफल हो ।

यसअघि नेपालले सन् २०१९ को साग गेम्समा भुटानविरुद्ध २३६ रन बनाएको थियो । नेदरल्यान्डविरुद्ध निकालेको १४२ रनको विजयी पनि सबैभन्दा ठूलो रन अन्तरको जित हो ।

यसअघि नेपालले भुटानविरुद्ध १४१ रनको जित हासिल गरेको थियो ।

पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी

ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेदरल्यान्डविरुद्ध पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । 

यो नेपालले टि–२० मा पहिलो विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले सन् २०१९ मा भुटानविरुद्ध १०८ रनको साझेदारी गरेका थिए ।

यो जोडीले लगातार २ सय रनभन्दा माथिको साझेदारी गर्ने कीर्तिमान पनि बनाए । उनीहरूले मलेसियाविरुद्धको पहिलो खेलमा १०२ पनि रनको साझेदारी गरेका थिए ।

कुशलको ४ अर्धशतक 

कुशल भुर्तेल एकै टी–२० अन्तर्राष्ट्रिय सिरिजमा ४ अर्धशतक प्रहार गर्ने एक्ला खेलाडी हुन् । उनले त्रिकोणात्मक सिरिजमा नेदरल्यान्डविरुद्ध पहिलो खेलमा ६२, मलेसियाविरुद्धको पहिलो खेलमा अविजित ६१, नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा ६२ र फाइनलमा ७७ रनको पारी खेलेका थिए । 

सन्दीपको १०० औं टि-२० खेल 

सन्दीप लामिछानेले १०० औं टी–२० खेल खेल्ने पहिलो नेपाली खेलाडी बने । र, उनले सिरिजमा मलेसियाविरुद्धको दोस्रो खेलमा यो रेकर्ड कायम गरेका थिए । 
लामिछानेले पहिलो टी–२० खेल सन् २०१८ मा आइपिएल अन्तर्गत तत्कालीन दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिट्ल्स) का लागि रोयल च्यालेन्जर्स बैंगलर विरुद्ध खेलेका थिए ।

सन्दीपले सन् २०१८ मा विश्व ११ का लागि वेस्ट इन्डिजविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनी संयुक्त टोलीबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने एक्ला खेलाडी हुन् ।

सन्दीपले नेपालका लागि २६ (विश्व ११ का लागि खेलेको १ खेल समेत गरेर) र आइसिसिको मान्यता प्राप्त विभिन्न फ्रेन्चाइज लिगमा ७५ सहित कुल १०१ टी–२० खेल खेलेका छन् ।

दिपेन्द्रसिंह ऐरीको टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक र विकेट

नेपालका उपकप्तान दिपेन्द्रसिंह ऐरीले यही सिरिजमा आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरे । 

उनले नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा ३० बलको सामना गर्दै ३ चौका र ५ छक्काको मद्दतले ६० रनको पारी खेलेका थिए । 

दिपेन्द्रले यही सिरिजमा मलेसियाविरुद्धको पहिलो खेलमा पहिलो टि–२० अन्तर्राष्ट्रिय विकेट पनि हात पारे । उनले साद अजिजलाई आसिफ शेखबाट क्याच गराएका थिए । 

४ खेलाडीको डेब्यु

यो सिरिजमार्फत् ओपनिङ ब्याट्सम्यान कुशल मल्ल र आसिफ शेख, बलर कमलसिंह ऐरी र शाहब आलमले डेब्यु गर्ने अवसर पाए ।

कुशल, आसिफ र कमलले राम्रो छाप छाड्दा शाहबको भने सोच अनुसारको प्रदर्शन हुन सकेन । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका कुशलले ५ खेलमा ४ अर्धशतक सहित सर्वाधिक २७८ रन बनाए । आसिफले ५ खेलमा १ अर्धशतकसहित १५४ रन जोडे ।

शाहब आलमको भने यो प्रतियोगिता सोचेअनुरूप राम्रो हुन सकेन । ३ खेलमा मौका पाएका उनले ९ ओभर बलिङ गर्दा ८८ रन खर्चिएर २ मात्र विकेट लिए ।

दुई खेलमा मात्र मौका पाएका कमलले भने राम्रो छाप छाडे । ७.१ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिएर ५ विकेट लिए ।

  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १७:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया