हराएका भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाही पोखराकै चरक अस्पतालमा भर्ना भएको अवस्थामा भेटिएका छन् ।
गण्डकी प्रदेश प्रयोगशालाले मंगलबारको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखाएका शाहीले बुधबार कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएर अस्पताल भर्ना भएको बुझिएको छ । उनले कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएपछि भर्ना गरेर उनको उपचार चलिरहेको अस्पतालले जनाएको छ ।
उनलाई भेट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चरक मेमोरियल अस्पताल पुगेका थिए । सांसद शाही चरक अस्पतालको आइसियूमा रहेको भन्ने खबर पाएपछि मुख्यमन्त्री गुरुङ उनलाई भेट्न सो अस्पताल पुगेका थिए ।
तर, अस्पताल प्रशासनले भने स्वास्थ्य जोखिम देखाउँदै भेट्न दिएको छैन । सो अस्पतालका निर्देशक कपिल पोखरेलका अनुसार जोखिम बढ्ने भएकाले भेट्न नदिइएको हो ।
गण्डकीको ६० सदस्यीय प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । एमालेका २८ सांसद छन् । सरकारमा रहेको जनमोर्चाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।
सांसद शाहीलाई भेट्न अस्पताल पुगेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।