अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै रोजगारी शिक्षा र सामाजिक सुरक्षाका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् । बिहीबारको संसद बैठकलाई सम्बोधन गर्दै बाइडेनले नयाँ प्रस्ताव गरेका हुन् ।
बाइडेनले आफ्नो कार्यकालको एक सय दिनको पूर्वसन्ध्यामा शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका लागि करिब ४ ट्रिलियन डलरको नयाँ योजना सार्वजनिक गरेका हुन् । उनको योजनालाई विश्लेषकहरुले सन् १९६० यताकै सबैभन्दा ठूलो योजना भएको बताएका छन् ।
यससँगै, बिहीबार बसेको संसदको संयुक्त बैठकले अमेरिकी इतिहासमा नयाँ रेकर्ड बनाएको छ । अमेरिकी संसदीय इतिहासमा पहिलो पटक उपराष्ट्रपति र सभामुख महिला उपस्थित रहेको सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरेका छन् ।
राष्ट्रपति बाइडेनले संयुक्त सदनलाई सम्बोधन गर्ने क्रममा उनको पछाडि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र तल्लो सदनको सभामुख न्यान्सी पेलोसी रहेका थिए । संयुक्त सदनको बैठकमा यसअघि यसरी उपराष्ट्रपति र सभामुख महिला रहेका थिएनन् ।
अमेरिकाले पहिलो पटक गत निर्वाचनमा कमला ह्यारिसलाई महिला उपराष्ट्रपति निर्वाचित गरेको थियो । सभामुख पेलोसी यसअघि नै धेरै पटक संयुक्त सम्बोधनमा राष्ट्रपतिको पछाडि बसेकी भए पनि उपराष्ट्रपति ह्यारिस भने पहिलो पटक उपस्थित भएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।