'सीता बिरामी हुँदा सबैभन्दा पहिले ओलीकै फोन आउँछ'
एमाले फुटाएर एउटासँग एकता गर्ने पक्षमा म छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई फुटाएर एउटा समूहसँग एकता गर्ने पक्षमा आफू नरहेको बताएका छन्। हिमालय टेलिभिजनसँग बिहीबार कुरा गर्दै उनले यसो भनेका हुन्। 
  
उनले यदि केपी शर्मा ओली नभएको भए सबै कम्युनिष्ट शक्तिलाई आफूले मिलाएर लैजान सक्ने बताए। 'यदि केपी नभएको भए म सबै कम्युनिष्टलाई मिलाएर लान सक्थेँ', दाहालले भने, 'केपी विदेशी प्रतिगामी शक्तिसँग मिले, उनी अँध्यारो सुरुङतिर गएका छन्।'

उनले प्रधानमन्त्री ओलीले आफूलाई राष्ट्रिय समस्या भनेको कुराको पनि जवाफ दिए। 'केपी ओलीले प्रचण्ड (म) लाई राष्ट्रिय समस्या भनेछन्। तर म राष्ट्रिय समाधान हो', दाहालले भने, 'अहिले पनि केपीजीसँग कुरा हुन्छ तर विचार र प्रवृत्तिमा समस्या भएर पो कुरा मिलेन त।'

उनले प्रधानमन्त्री ओलीले आफ्नी पत्नी सीता बिरामी हुँदा सबैभन्दा पहिले फोन गरेको बताए। 'अहिले पनि म्याडम (सीता दाहाल) अस्पतालमा छिन्। केपीजीले मलाई सबैभन्दा पहिले फोन गर्नुहुन्छ। सीताको स्वास्थ्य कस्तो छ? भन्‍नुहुन्छ', उनले भने, 'तर समस्या त विचार प्रवृत्तिको हो नि त। उहाँ लोकतन्त्रका लागि होइन, उल्टो बाटो हिँडेर पो समस्या भएको हो त।'

दाहालले आफू अहिले पनि एमाले विभाजित नहोस् भन्‍ने पक्षमा रहेको बताए। 'एमाले विभाजित नहोस् भनेको छु मैले, एमाले फुटाएर एउटा समूहसँग एकता गर्ने पक्षमा म छैन', दाहालले थपे, 'एमालेमा अहिले पनि विधिसम्मत बहस चल्यो भने सही प्रवृत्ति (माधव नेपालहरू)  विजयी हुन्छ। केपी ओली अल्पमतमा पर्छन्। २०७५ जेठ २ मा फर्किएर केपी ओली बैठकमा राख्न सक्दैनन्। किन भने त्यहाँ ओली र माधव नेपालको बराबर हैसियत छ।' 





  • प्रकाशित मिति : वैशाख १६, २०७८ बिहीबार २२:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया