निषेधाज्ञामा बजार अनुगमन गरिँदै

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सुर्खेतमा यही वैशाख १५ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा २१ गते राति १२ बजेसम्म रहने छ । निषेधाज्ञाको अवधिभर जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई समेत तिव्रता दिएको छ । 

जस अन्तर्गत शनिबार स्वास्थ्य संस्था, खाद्यान्न पसल, तरकारी पसल, सब्जीमन्डी गरी १३ वटा पसलको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा अनुगमन गरिएको हो । 

निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । उनले मेडिकलमा मास्क सेनिटाइजरको प्रयोग, बिक्री–दर लगायतका बारेमा बुझ्ने गरेको समेत बताए । 

अनुगमनका क्रममा विशेष गरी तेल, पिठोको मूल्य वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले  जानकारी दिए । उनले दैनिक उपभोग्य वस्तु ल्याएको कुनै पनि गाडी नरोकिएकाले कुनै व्यापारीले अस्वभाविक मूल्य वृद्धि गराएको पाइए कारबाही पनि गरिने चेतावनी दिएका छन्  । 

यसका साथै व्यापारीलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान बिक्री–वितरण गर्न सुझाव दिए ।  उनले तरकारी-मन्डी तथा खाद्य पसल व्यापारीलाई दैनिक रूपमा उपभोग्य वस्तु तथा तरकारीको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिएका छन् ।

निषेधाज्ञाको समयमा पनि अनुगमन गर्दा उपभोक्ता तथा सर्वसाधारणलाई व्यापारीले ठगी गर्न नपाउने हुँदा बाँकी अन्य दिनमा पनि निरन्तरता दिइने बताएका छन् । महतको नेतृत्वमा यस अघि पनि वीरेन्द्रनगर बजार क्षेत्रमा अनुगमन भइरहेको छ । 





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार १५:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया