सप्तरीमा सवारी साधनमा जोर-बिजोर प्रणाली

कोरोना संक्रमणको दोस्रो भेरियन्टको प्रभाव अप्रत्यासित रुपमा बढ्दै गएपछि स्थानीय प्रशासनले सप्तरी जिल्लामा सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले आइतबारदेखि जिल्लामा सञ्चालन हुने अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकले बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकल लगायतका सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने जनाइएको छ । त्यस्तै बजारमा खुला रुपमा ठेला तथा गाडीमा बिक्री हुने खाद्यान्न, लत्ताकपडा तथा तरकारी बिक्री-वितरणमा रोक लगाउने निर्णय समेत गरिएको छ । बढी भिडभाड हुने मालपोत, नापी लगायतका कार्यालयहरूमा सेवा प्रवाह गर्दा भिडभाड नहुने व्यवस्था मिलाउने निर्णय समेत गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

बैठकले राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधनमा रोक लगाउने निर्णय समेत गरेको छ । बैठकले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको पिसिआर ल्याबमा आइतबारदेखि दैनिक रुपमा निःशुल्क स्वाब परिक्षण गर्ने व्यवस्था मिलाउन अस्पतालका मेसुलाई निर्देशन दिइएको छ । 

आज बसेको बैठकले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित जिल्ला अस्पतालको हाताभित्र विगतमा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरलाई पुनः ५ दिनभित्र सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गरिदिन सो नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । 

बैठकले कोरोना संक्रमित भएर बाहिरी जिल्लामा उपचारका क्रममा मृत्यु भएको खण्डमा सप्तकोशी नदीको किनारमा र अन्यको हकमा आआफ्नो स्थानीय तहले तय गरेको स्थानमा आफ्नो धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्नसक्ने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार १६:५५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया