तीन कारण जसले नैतिक संकट ल्याएको छ लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई

देशमा कोरोनाभाइरसको प्रकोप निरन्तर बढिरहेको छ । आइतबार दिनभर चाहिँ कोरोनाको कहरको होइन, सन्चारमाध्यममा लुम्बिनी प्रदेशमा भएको राजनीतिक खिचातानीका समाचार बढी आए । 

आइतबार विहानै जब लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए, त्यसपछि देशभर कोरोनाका कारण सेलाएको माहोल, लुम्बिनीमा ह्वात्तै बढ्यो ।

पोखरेलले आफू फेरि मुख्यमन्त्रीमा नियुक्त हुने निश्चित भएपछि राजीनामा दिएको अड्कलबाजी गर्न थालियो । हुन पनि आइतबार दिउँसो नै उनी बहुमत प्रमाणित गर्दै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । तर, पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यहाँको माहोल सेलाएको छैन, झन् गर्माएको छ ।

मुख्यमन्त्रीका लागि बहुमत प्रदेश सभा सदस्यहरुको नामावली जसै पोखरेलले प्रदेश प्रमुखलाई बुझाएका थिए, लुम्बिनीमा हलचल आयो, विमला वली माओवादी केन्द्रमा लागेको चर्चाले । केही समयमा उनले आफू माओवादी केन्द्रमा लाग्नुको कारण खुलाउँदै पत्रकार सम्मेलन पनि गरिन् ।

वली माओवादी केन्द्रमा लागेपछि नै पोखरेलले दाबी गरेको बहुमत गुमेको तर्क गर्न थालिएको छ ।

अर्कोतिर पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि सूर्य चिन्हमा नै निर्वाचनमा सहभागी भएका र जितेका केही सांसदहरुले राजीनामा दिएका छन्, केहीले पोखरेललाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।



तेस्रो पक्ष, माओवादी केन्द्रले नेतृत्व गरेको एक समूहले आफूहरुसँग बहुमत पुग्ने सांसद सदस्य संख्या रहेको भन्दै प्रदेश प्रमुखकहाँ आफूलाई समर्थन गरेका सांसदको सूची पुर्याएको छ । 

यी तीन कारणले नैतिक रुपमा फेरि मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई समस्या पर्ने देखिएको छ ।



  • प्रकाशित मिति : वैशाख १९, २०७८ आइतबार १७:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया