असारसम्ममा नेपालमा दैनिक ११ हजारको संख्यामा कोरोना संक्रमित हुने स्वास्थ्य तथा जन संख्या मन्त्रालयको प्रक्षेपण छ । त्यो पनि भारतमा देखा परेको अहिलेको नयाँ भेरिएन्टको कोरोना भाइरस भयो भने त त्यो दुई गुणा बढ्ने अनुमान छ ।
मन्त्रालयले आफ्नो मातहतका निकायलाई त्यही अनुसार सर्कुलर गरेको छ । यस्तो अवस्थामा असारसम्ममा नेपालमा ६ लाख कोरोना संक्रमित हुने छन् । नेपालमा हाल एक जना संक्रमितले दुईभन्दा बढीलाई संक्रमित बनाइरहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले अहिले युके भेरिएन्टका साथै डबल म्युटेन्ट भेरिएन्ट देखिएको बताए । यसले एक जना संक्रमितबाट चार जनासम्मलाई संक्रमित बनाइरहेको छ ।
सरकारी अधिकारीले गरेको प्रक्षेपणअनुसार संक्रमित भए भने नेपालको अवस्था के हुन्छ ? त्यसका लागि स्वास्थ्य मन्त्रालयको तयारी कस्तो छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम नेपालको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने बताउँछन् । दैनिक ११ हजार संक्रमित थपिए त्यसको १५ प्रतिशत अर्थात १६०० बिरामीलाई अक्सिजन, आइसियु तथा भेन्टिलेटरको आवश्यक पर्छ ।
यही गतिमा संक्रमित थपिँदै गए जेठ पहिलो साताबाटै नेपालको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने डा. गौतमको भनाइ छ ।
अहिले नेपालभर १ हजार २४९ आइसियु र ५२६ भेन्टिलेटर छन् । जुन केही दिनमै भरिनेछन् । त्यसपछि बिरामीलाई उपचार गर्न सम्भव नहुने डा. गौतम बताउँछन् ।
चीनमा कोरोना संक्रमितको उपचार गरेर फर्किएका डा. रमेश आचार्यले अब स्वास्थ्य संरचना नै कोल्याप्स हुने खतरा बढेको बताए । दिनमा ५ हजारको हाराहारीमा कोरोना संक्रमित थपिँदा त स्वास्थ्य मन्त्रालय हात उठाइसकेको अवस्थामा दिनमै १० हजार १५ हजारको संख्यामा थपियो भने त्यो नेपालको स्वास्थ्य संरचनाले नै थेग्न नसक्ने उनको भनाइ छ ।
अहिलेको प्रतिबन्धात्मक गतिविधि कत्तिको प्रभावकारी हुन्छ महामारी नियन्त्रणमा, त्यसमै भर पर्ने डा. पौडेल बताउँछन् ।
‘संक्रमति थपिएसँगै निको भएर घर फर्किने पनि उत्तिकै हुन्छन् । त्यसैले हरेस खाइहाल्नु पर्ने अवस्था आउँदैन । हिम्मतले काम गर्न सकियो भने केही असहजता बीच पनि सहजता हुनसक्छ’, डा. पौडेलले थपे ।
नेपालमा आजका दिन सम्ममा ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा, ३ हजार ८६९ संस्थागत आइसोलेसनमा, ५७८ जना आइसियुमा र १४२ जना भेन्टिलेटरमा छन् । देशभर १ हजार २८३ आइसियु र ५४६ भेन्टिलेटर छन् ।
त्यसो भए के गर्ने ?
डा. आचार्यले कोरोना महामारीको चेन ब्रेक गर्नका लागि कम्तीमा पनि ४० दिन कडा लकडाउन गर्नुपर्ने बताए ।
लकडाउन मात्र महामारी नियन्त्रणको अस्त्र नभएको भन्दै त्यसका साथै आरटी पिसिआर परीक्षण व्यापक बनाउने, कन्ट्याक्ट ट्रेसिङ, क्लोज कन्ट्याक्ट ट्रेसिङ जस्ता कामलाई एकदमै द्रुत गतिमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
आवश्यक परेको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गरेर भए पनि महामारी नियन्त्रणबाहिर जान दिन नहुने उनको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले भने आफूहरूले हरेस नखाएको तर, स्वास्थ्य संरचनाले थेग्न नसक्ने अवस्था आउन लागेको बताए । यस्तो अवस्थाबाट पार हुनका लागि सबैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेको खण्डमा कुनै समस्या नआउने उनको भनाइ छ ।
‘अरू केही होइन् ३ करोड नेपाली मास्क लगाएर दुई मिटरको भौतिक दूरी कायम गरिदिए सबै समस्याको समाधान हुन्छ,’ डा. गौतमले भने, ‘त्यसो गरेको खण्डमा नयाँ संक्रमित हुन पाउँदैनन् । अहिले भइरहेका संक्रमितले राम्रोसँग उपचार पाउँछन् ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पौडेल भने त्यति धेरै आत्तिइहाल्नुपर्ने अवस्था नआउने बताउँछन् ।
‘धेरैले खोप पनि लगाइसकेका छन् । पहिला संक्रमित भएकाहरूमा एन्टिजिन समेत बनिसकेको छ । यस्तो अवस्थामा हामीले धैर्यताका साथ अगाडि बढ्नुपर्छ ।’ डा. पौडेलले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।