प्रदेश १ मा कोभिड अस्पतालका बेड भरिए, रेमडिसिभिरको पनि अभाव

प्रदेश १ मा कोरोना उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिएका छन् । 

सरकार र निजी क्षेत्रले सञ्चालनमा ल्याएका कोभिड उपचार केन्द्रका बेड भरिँदा उपचारमा समस्या देखिन थालेको छ ।

विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजले सञ्चालनमा ल्याएका कोभिड बेड भरिएपछि दुवै अस्पतालले त्यससँग सम्बद्ध बिरामी भर्ना लिन छाडेका छन् । 

विराट मेडिकल कलेजले शुक्रबार साँझबाट र नोवेल मेडिकल कलेजले शनिबारबाट कोरोनाका नयाँ बिरामी भर्ना लिन छाडेका हुन् । 

नोवेलमा कोभिड उपचारका लागि १० वटा बेडको आइसियु सञ्चालनमा छन् । अरु सामान्य बेडको संख्या ६० छ ।

कलेजले ११० बडेको कोभिड अस्पताल बनाउने तयारी गरेको भए पनि अहिले ७० बेड मात्रै छन् । ३९ वटा आइसियु बेड बनाउने तयारी भइरहेको प्रशासन प्रमुख दिपेश राईले जानकारी दिए ।



राईले अहिले भएका बेड भरिएपछि नयाँ बिरामी लिन सक्ने अवस्थामा नरहेको बताए । उनले भने, ‘बाँकी बेड थप्दैछौँ, बेड थप भएपछि केही राहत हुन्छ ।’

विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार विराटमा शुक्रबारबाटै बेड भरिएका हुन् । विराटले सञ्चालन गरेको ‘कोभिड १९ उपचार केन्द्रमा १३५ बेड छन् । 



सरकारीमा राहत

प्रदेश सरकारले विराटनगरमा सञ्चालन गरेको कोसी कोभिड अस्पताल र मेची प्रादेशिक अस्पताल र संघीय सरकार मातहतमा रहेको बिपी कोइराला कोभिड अस्पतालका बेडहरू पनि भरिने अवस्थामा पुगेका छन् ।

यही गतिमा संक्रमण बढे अस्पतालमा बेड पाउन मुस्किल हुने कोसी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।

प्रदेश सरकराले गरेको तयारीले मात्रै अहिलेको संक्रमण दर र संक्रमितको अवस्था हेरेर धान्न सक्ने अवस्था नरहेको दासले बताए । 

संक्रमणदर उच्च भएकाले अवस्था जटिल बनेको उनले बताए । 

प्रदेश सरकारले नेसनल ट्रेडिङको भवनमा ८० र गोदाममा ९६ बेडको कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको सय बेड पनि बिरामीले भरिएको अस्पतालले जनाएको छ ।

मेची प्रादेशिक अस्पतालका अक्सिजन प्वाइन्ट भएका २५ बेडमध्ये १५ वटा भरिएका छन् । १० बेड खाली छन् । 

मेची प्रादेशिक अस्पतालमा ७५ बेडको कोरोना उपचार केन्द्र बनाइएको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पीताम्बर ठाकुरले अस्पतालको क्षमता बढाउने काम भइरहेको जानकारी दिए । 

रेमडिसिभिर अभाव

विराटनगरमा सञ्चालित विभिन्न कोभिड-१९ विशेष अस्पतालहरूमा उपचार गराइरहेका कोरोना संक्रमितले रेमडिसिभिर नामक औषधी पाउन छाडेका छन् । औषधी व्यवस्था विभागमार्फत् केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरूलाई उपलब्ध हुँदै आएको औषधी रोकिएपछि बिरामीहरूले हैरानी व्यहोर्नु परेको छ ।

विराटनगरको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सरकारले औषधी उपलब्ध नगराएपछि बिरामीका आफन्तले ब्ल्याकमा औषधी किन्नुपर्ने अवस्था छ । 

बिरामीले प्रतिभाइल २० हजार रुपैयाँसम्म तिर्नु परेको गुनासो गरेका छन् ।

विराटनगरको विराट अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रमा करिब २५ जना बिरामीलाई नियमित रेमडिसिभिर चलाइएको छ ।

औषधी नपाउँदा समस्या भइरहेको सञ्चालक कार्कीले बताए ।

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १९:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया