बिहे, ब्रतबन्ध पछि गरे हुँदैन ? हतारो गर्दा कोरोना संक्रमणको जोखिम बढ्दै गाउँघरमा

गत साता विवाह गरेकी २२ वर्षीया दुलहीको कोरोना संक्रमणबाट मृत्यु भयो । कपन पैयाँटारकी ती युवती विवाह गरेकै भोलिपल्ट कोरोना संक्रमित भएकी थिइन् । 
उपचारको क्रममा भक्तपुरको भेन्टिलेटरमा राखिएको थियो । त्यही उनको मृत्यु भयो । त्यही विवाहमा सहभागी अरूलाई पनि कोरोना संक्रमण देखिएको छ । 

काभ्रेमा एक विवाहमा गएका १५ जनामा कोरोना संक्रमण देखिएको छ । बिहेमा सहभागी एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि छर-छिमेकीको समेत पिसिआर परीक्षण गरिएको थियो । सोही क्रममा १५ जनामा संक्रमण देखिएको हो ।

काठमाडौंको एक होटलका १८ जना कर्मचारीमा कोरोना संक्रमण भयो । बिहे भोज आयोजना गरेको त्यो हाेटेलका कर्मचारी कोरोना संक्रमति भएका हुन् । 
केही साता अगाडि कञ्चनपुरका एक प्रिन्सिपलले आफ्नो छोराको अन्नप्राशन कार्यक्रम राखे । अन्नप्राशनकाे कार्यक्रम सकिएको केही दिनमै ती प्रिन्सिपल र उनकी श्रीमतीमा कोरोना संक्रमण देखियो । प्रिन्सिपलको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो । 

यो बैशाख महिनामा गाउँघरमा धेरैको बिहे भइरहेको छ । यस्तो महामारीको समयमा बिहे गर्नु अत्यन्तै जोखिम हुने चिकित्सकहरू बताउँछन् । टेकु अस्पतालका डा. शेरबहादुर पुनले महामारी दिन प्रतिदिन बढिरहेको बेला भिडभाड जम्मा गरेर बिहे गर्नु भनेको कोरोनालाई चारैतिर फैलाउनु सरह भएको बताए । 

‘बिहे गर्न पनि कति हतार भइरहेको ! केही समय रोकेको भए के नै बिग्रिन्थ्यो । यसरी हामीलाई त केही हुँदैन भनेर बिहे गर्नुको परिणाम धेरै ठाउँमा देखिरहेको छ । यस्तो बेला हतार नगरौं, बिहे केही महिनापछि सारे पनि भइहाल्छ’, डा. पुनले भने । 

जनस्वास्थ्यविद् डा. रमेश आचार्यले दुई मानिसहरूबीच पनि दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने बेला गाउँघरमा जम्मै मानिस जम्मा गरेर विवाह गराउँदा कोरोना संक्रमणको जोखिम बढ्ने मात्र नभई भयावह अवस्था आउने बताए ।  केही समयका लागि बिहे, ब्रतबन्धजस्ता भिडभाड हुने कार्यक्रममा स्थानीय प्रशासनले रोक लगाउनु पर्ने उनको भनाइ छ । 



‘हतार गरेर बिहे गर्दा कोरोना संक्रमण भयो भने एकातिर परिवारमा तनाव हुन्छ । अर्कोतिर यदि बिरामीको अवस्था गम्भीर भएर मृत्यु भयो भने त्यो परिवारले विवाहको खुसीयाली मनाउने कि मृत्युमा शोक मनाउने ?’ डा. आचार्यले प्रश्न गरे । 

अहिले बिहे, ब्रतबन्ध गर्ने समयभन्दा पनि कसरी महामारीबाट बच्ने प्रमुख चुनौती रहेको भन्दै सबैले सचेत र सजग हुनुपर्ने कुरामा ध्यान लगाउनु पर्ने बताउँछन् । 
यदि कसैको घरमा बिहेको निम्ता आएको खण्डमा सकेसम्म नजान डा. पुनको आग्रह छ । ‘कोरोना संक्रमणको भाइरस समुदायस्तरमा व्याप्त छ । यस्तो अवस्थामा बिहेको निम्तो आयो र त्यहाँ जानु भनेको कोरोना भाइरस आफ्नो घरमा लिएर आउनु हो । त्यसैले त्यो निमन्त्रणा नै अस्वीकार गर्नु एकदम राम्रो हो ’ डा. पुनले भने ।  



  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १६:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया