कोरोना महामारी नियन्त्रण बाहिर गएकै हो त ?
स्वास्थ्य मन्त्रालय भन्छ : संघीय संरचनाका कारण कर्मचारी परिचालन गर्न कठिन भयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडि थप कोरोना संक्रमतिको उपचार गर्न नसक्ने भन्दै एक विज्ञप्ति जारी गर्‍यो । देशभरका अस्पतालका बेड, आइसियु तथा भेन्टिलेटर बिरामीले भरिएको भन्दै थप उपचार गर्न नसकिने मन्त्रालयको भनाइ थियो।

मन्त्रालयको विज्ञप्तिअनुसार नेपालमा कोरोना महामारी सरकारको नियन्त्रणबाहिर गइसक्यो भन्ने आंकलन गरिएको थियो । त्यसपछि धेरैले यसलाई चासोका साथ लिए । के साँच्चै नेपालको अवस्था भयाबह भएकै हो त ? 

त्यसका लागि एकछिन नेपालको कोरोना अपडेट हेरौं :

स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख २१ गतेसम्म नेपालमा सक्रिय कोरोना संक्रमित संख्या ५९ हजार ७९८ छ । जसमा ५५ हजार ५२० जना होम आइसोलेसनमा छन् । भने ४ हजार २७८ जना संस्थागत आइसोलेसन अर्थात् सरकारी आइसोलेसनमा छन् ।

त्यस्तै ६१६ जना आइसियु र १७९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। देशभर १ हजार ४०६ आइसियु र ५७२ भेन्टिलेटर छन् । अहिले पनि ७९० आइसियु बेड र ३९३ भेन्टिलेटर खाली छन् । यसमा दिनप्रतिदिन आइसियु र भेन्टिलेटरको संख्या थप भइरहेको छ। 

यो डाटालाई हेर्दा मन्त्रालयको विज्ञप्ति र व्यवहारमा तालमेल मिलिरहेको छैन । जनस्वास्थ्यविद्ले यसलाई सरकारको व्यवस्थापकीय कमजोरी भनेका छन् । 



जनस्वास्थ्य विद् डा. समीरमणि दीक्षितले महामारीको भयावह अवस्थाभन्दा पनि व्यवस्थापन गर्न नसकिएको बताए । सरकारी तथ्यांकले नै आइसियु र भेन्टिलेटरको संख्या देखाइरहेका बेला सरकारले नै थप बिरामीको उपचार गर्न सक्दैनौं भन्नु हास्यास्पद रहेको उनको भनाइ छ । 

‘अहिले नै भयावह अवस्था आएको देखिँदैन । व्यवस्थापन गर्न नसकिएको हो । काठमाडौं उपत्यका र बाँके, कैलाली, कञ्चनपुर लगायतमा क्षेत्रमा अलि बढी संक्रमण छ । त्यहाँका अस्पताल भरिभराउ छन् । अरु ठाउँमा भने खाली छन्’, डा. दीक्षितले भने।



जहाँ खाली छन्, त्यहाँका अर्को ठाउँमा ल्याएर हुन्छ वा बिरामीलाई त्यहाँसम्म छिटो छरितो लैजाने व्यवस्था गरेर हुन्छ त्यसको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
अर्का जनस्वास्थ्यविद् डा. रमेश आचार्यले बिरामीको चाप बढी भएको ठाउँमा स्रोत साधनको अभाव भएको बताए ।

‘बढी बिरामी भएका क्षेत्रमा स्रोत साधनको अभाव देखिएको छ । अरु ठाउँमा भने अझै पनि खाली छन् । यसमा व्यवस्थापन पक्ष निकै कमजोर देखियो’, उनले भने । 
यस्तै अवस्था केही दिन रहने हो भने नेपालको स्वास्थ्य संरचना नै फेल हुने उनको भनाइ छ । उपलब्ध स्रोत साधनको व्यवस्थापन गर्न नसक्नु राज्यको नै कमजोरी भएको उनी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले भने अहिलेको संरचनाले गर्दा व्यवस्थापनमा निकै जटिलता आइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने, ‘संघ अन्तर्गत २५ सय स्वास्थ्यकर्मी तथा कर्मचारी छन् । स्थानीय तह अन्तर्गत २५ हजार छन् । अब हामीले परिचालन गर्न सक्ने भनेको २५ सय स्वास्थ्यकर्मी तथा कर्मचारीलाई मात्र हो ।’

स्थानीय तह तथा प्रदेश अन्तर्गतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई मन्त्रालयले परिचालन गर्न नसक्ने उनको भनाइ छ । 

‘हामीले स्थानीय तहलाई अनुरोध गर्नुबाहेक केही पनि गर्न सक्दैनौं । उनीहरूलाई केही भन्यो भने हामीले त मेयरले भनेको मान्ने हो भन्नुहुन्छ । अब हामीले कसरी व्यवस्थापन गर्ने ?’ उनको प्रश्न छ।

स्वास्थ्य संरचनालाई संघ अन्तर्गत नराख्दा अहिलेको समस्या देखिएको बताए । सबैसँग समन्वय गरेर अगाडि बढ्दा केही समस्या भइरहेको उनको भनाइ छ।

  • प्रकाशित मिति : वैशाख २२, २०७८ बुधबार १४:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया