विपक्षीले घेरेपछि राष्ट्रियसभामा बादल उठाउन एमालेको अलमल
परिस्थिति हेरेर मात्रै थप निर्णय लिन्छौँ : प्रदीप ज्ञवाली

कांग्रेस, माओवादीले माधवकुमार नेपालको समेत साथ लिएर घेराबन्दी कोसिस गरेपछि सत्तारुढ नेकपा एमालेले राष्ट्रियसभामा रामबहादुर थापा बादललाई उठाउने निर्णय केही समय कुरेर मात्रै लिने भएको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधवकुमार नेपाल समूहले बागमती प्रदेशका राष्ट्रिय योजना आयोग पूर्वअध्यक्ष डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय लिइसकेको छ। नेता नेपालनिकट देवकोटाले माओवादीको चुनाव चिन्ह हँसिया हथौडामा चुनाव लड्ने भएका छन्। 

माओवादीले एमाले प्रवेश गरेका बादलको पद राष्ट्रियसभामा रिक्त गरेपछि जेठ ६ मा उपनिर्वाचन हुन लागेको हो। एमालेले उपनिर्वाचनमा बादललाई लडाउने निर्णय यसअघि नै गरेको थियो।

तर विपक्षी दलले गठबन्धन गरेपछि बादललाई राष्ट्रियसभामा उठाउने नउठाउने कुराबारे बिहीबार बसेको एमाले स्थायी कमिटी बैठक अनिर्णित भएको हो। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले बादलको उम्मेदवारीबारे केही दिन पर्खेर मात्रै निर्णय लिइने जानकारी दिएका छन्। 

एमालेले बादलको जित पक्का हुने अवस्थामा मात्रै उनलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ। बागमतीमा एमाले एक्लैको बलियो मतभार भए पनि माधव नेपाल समूह पनि विपक्षीतिर मिलेपछि मत काटिने जोखिम धेरै छ। नेपालले आफूनिकट देवकोटालाई कांग्रेस-माओवादीको सहयोगमा उठाउने भएपछि एमालेले उम्मेदवारबारे टुंगो नलगाएको हो। 

बागमतीमा मत भार 



६ जेठमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख-उपप्रमुखले भोट हाल्नेछन्। यहाँ एमाले एक्लैको धेरै मतभार छ। तर अहिले मत बाँडिएकाले एमालेलाई अफ्ठ्यारो छ। 

बागमती प्रदेशसभामा १ सय १० जनाले पनि भोट हाल्नेछन्। जसमा एमालेका ५७ सांसद छन् तर तिनमा नेपाल समूहका २२ सांसद छन्। बागमतीमा माओवादी केन्द्रका २३ र कांग्रेसका २२ सांसद छन्। त्यसैगरी विवेकशील साझा पार्टीका ३ जना, राप्रपा र नेमकिपाका २ सांसद छन्। यहाँ जसपाका पनि १ जना सांसद रहेका छन्। 



बागमती प्रदेशसभामा मात्रै एमाले उम्मेदवारलाई ३५ सांसदले भोट हाल्छन्। उता माधवनिकट देवकोटाको पक्षमा ६८ भोट खस्छ। विवेकशील साझा, राप्रपा र नेमकिपासहितका ७ जनाले पनि एमालेको विपक्षमा भोट हाल्न सक्छन्। 

स्थानीय तह 

बागमतीको स्थानीय तहमा माधव नेपालसहितको एमालेका १ सय ३३ मतदाता छन्। बागमतीमा कांग्रेसका ६७ जना, माओवादी केन्द्रका ३३ र जसपाका १ जना जनप्रतिनिधि छन्। यहाँ राप्रपा र नेमकिपाका २-२ जनप्रतिनिधि छन् । 

यहाँ राष्ट्रियसभाका लागि मतदान गर्ने स्थानीय तहका २३८ प्रमुख-उपप्रमुखमा एमालेको पक्षमा १३३ जना छन्। उता कांग्रेस-माओवादी गठबन्धनको पक्षमा १०१ भोट हुन्छ। नेमकिपा र राप्रपाको चार भोट अनिर्णित छ। एमालेका १३३ जनामध्ये माधव नेपालतिर खुल्नेको संख्याको अलग्गै हिसाब हुन्छ।

एमालेको पक्षमा रहेका १ सय ३३ मध्ये नेता नेपाल पक्षमा कति जान्छन् भन्‍ने अझै टुंगो भएको छैन। नेपालनिकट नै उम्मेदवार उठाइएकाले एमालेको भोट विपक्षी गठबन्धनले तान्‍ने भएपछि एमालेले बालुवाटारबाट अझै केही दिन हेरेर उम्मेदवार टुंगो गर्ने निर्णय लिएको हो।

'हामीले बागमती प्रदेशमा उठाउने उम्मेदवारबारे निर्णय गरिसकेका छैनौँ, अझै केही दिन अवस्था हेरेर निर्णय लिन्छौँ', प्रवक्ता ज्ञवालीले भने, 'लुम्बिनीमा उठाउने उम्मेदवारबारे पनि हामी छलफलमै छौँ। दुवै ठाउँका उम्मेदवारबारे परिस्थिति हेरेर मात्रै निर्णय लिन्छौँ।' 

  • प्रकाशित मिति : वैशाख २३, २०७८ बिहीबार १२:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया