सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिभराउ, खुल्ला आकाशमुनि  उपचार

कोरोना संक्रमितको दर दिन प्रतिदिन बढ्दो छ । अस्पतालमा बिरामी राख्ने ठाउँ छैन । सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र ग्यालरीसमेत भरिए पछि शंकास्पद र संक्रमितको खुल्ला आकाशमुनि उपचार थालिएको छ ।

कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको कोरोना अस्पतालसँगै सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, ग्यालरीसमेत भरिए पछि बाहिर उपचार सुरु गरिएको हो । उपचारका लागि अस्पताल पुगेका संक्रमित बेड नपाएपछि भुइँमै बस्न थालेका छन् । अस्पतालले उनीहरूको खुल्ला आकाशमा भए पनि उपचार सुरु गर्ने भनेको छ ।

५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको छ । १५ शय्याका आकस्मिक कक्षमा पनि उत्तिकै छ । आकस्मिक कक्षमा कोरोनाका लक्षण भएका र अन्य बिरामी पनि छन् । आकस्मिक कक्षकै ग्यालरी बाहिर आकाशमा उपचार भइरहेको छ ।

कोभिडका लक्षण भएका तर, पुष्टि नभएका बिरामीहरूको बाहिर खुल्ला आकाशमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

‘बेड छैन भनेर बिरामी फर्काउनु भन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु ठिक हो’ उनले भने ‘अहिले हामीले यसै गरी व्यवस्थापन गरिरहेका छौँ ।’ पिसिआरको रिपोर्ट आएपछि भने उनीहरूलाई त्यहाँबाट सारिने भएको छ ।

‘संक्रमित पुष्टि भएपछि कोरोना अस्पताल पठाउँछौँ । नभए सम्बन्धित वार्डमा लैजान्छौँ’ सूचना अधिकारीले फरकधारसँग कुरा गदै भने, ‘अहिले अवस्था जटिल बन्दै गइरहेको छ ।’ केही दिनयता रिपोर्ट आउनुभन्दा अघि नै आकस्मिक कक्ष र ग्यालरीमै संक्रमितको मृत्यु हुन थालेको छ ।



प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती अस्पतालमा शय्या अभावमा गम्भीर प्रकृतिका बिरामी भर्ना गर्न नसकिएको वरिष्ठ फिजिसियन डा. निराजन दत्त शर्माले बताए । ‘हामीसँग ठाउँ र जनशक्ति दुबैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यही उपचार गरिरहेका छौँ’ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।’ 

विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा उपचारमा संलग्न चिकित्सक र नर्स पनि संक्रमित भएपछि झन् समस्या भएको पाइएको छ ।
पछिल्लो समयमा कैलालीमा संक्रमित बढ्न थालेपछि प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ ।



प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले धनगढीको कोरोना अस्पताल छेउमै अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको लागि काम थालेको हो ।

धनगढीस्थित हाल सञ्चालनमा रहेको कोरोना अस्पताल नजिकैको शुभम् आवास गृहको हलमा थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १५:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया