एमालेमा दोस्रो तहको सक्रियता : मिल्ने सम्भावना सकियो कि बाँकी छ ?
‘जेठ २ मा नफर्किए पार्टी एक रहन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने दिन २७ वैशाखको तिथि नजिकिँदै जाँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विवाद पनि अब लगभग निर्णायक मोडमा पुगेको जस्तो देखिन थालेको छ । 

एमाले र नेकपा माओवादी केन्द्र दुई किनारा लागेपछि माओवादीले समर्थन फिर्ता लिन नसकिरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरे । 
उनको यो घोषणालाई कतिपयले एमाले विवाद मिलाउने ‘अस्त्र’को रुपमा ब्याख्या गरे भने कतिपयले चुनावमा जाने नयाँ बाटोको खोजीमा लागेको पनि बताए । 

यसैबीच पार्टीभित्र देखिएको विवाद उत्कर्षतिर जाँदै गर्दा एमालेका दोस्रो तहका नेताहरु विवाद मत्थर गर्नेतिर कसरत गरिरहेका छन् । सोही प्रयासस्वरुप आज (शनिबार) पनि उनीहरु छलफलमा जुट्दैछन् । 

यसअघि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, उपनेता नेम्वाङ र प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल छलफलमा थिए भने नेता माधव कुमार नेपालका तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई वार्तामा थिए । दोस्रो तहका नेताहरुले पार्टी जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् । 

एमाले ओलीपक्षको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार आजपनि छलफल निरन्तर हुनेछ । मिलन बिन्दु भेटिने सम्भावना छ त अझैं ? भन्ने फरकधारको प्रश्नमा नेम्वाङ भन्छन्, ‘मिलन बिन्दु भेटिने सम्भावना भएकै कारणले निरन्तर जारी राख्ने भनेका हौँ ।’

पार्टी एकताका लागि गम्भीर छलफल भइरहेको भन्दै नेम्वाङले त्यसलाई निरन्तरता दिइने सहमति भएको बताए । उनले अघि भने, ‘पार्टी एकताको लागि गम्भीर छलफल भएको छ । यसलाई जारी राख्ने भन्ने भएको छ । छलफलमा भएका केही कुराहरु अहिले नभन्ने भन्ने छ ।’



कसरी अघि बढ्दै छ छलफल ?
विशेषगरी ओलीले २८ फागुनमा बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी नरहने निर्णय गरेपछि पार्टी विवाद झाँगिदै गएको थियो । तत्कालीन नेकपा हुँदै तीव्र भएको विवाद अन्ततः एमाले ब्यूँतिएपछि नेताहरु माथिको कारबाहीसम्म पुगेको छ । 

यसैबीच ओली र वरिष्ठ नेता नेपालबीच गत ८ र ९ वैशाखमा वार्ता भयो । दुई दिनसम्म घण्टौँ चलेको उक्त वार्ताले केही सकारात्मक निर्णय लिन सक्ने अपेक्षा गरिएको थियो । तर, नेता नेपालले छलफलमा कुनै सहमति नभएकोदेखि ओली २ जेठ ०७५ मा फर्कन तयार नभएकोसम्म बताएपछि पुनः विवाद बढेको थियो ।
 
यसबीचमा ओलीले विश्वासको मत मागेपछि बढ्दो अकर्मण्यताका बीच एमाले दोस्रो तहका नेताहरु विवाद मिलाउन सक्रिय भएका हुन् । तर, २८ गतेको निर्णय खारेजी वा २ जेठमा फर्कन पर्ने अवस्थासँग समझदारी गर्नेतर्फ ओली समूह सकारात्मक देखिएको छैन् । नेपाल समूहले अदालतको फैसलाअनुसार २०७५ जेठ २ अर्थात् पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने बटम लाइन अघि सारेपछि शुक्रबारको बैठक पनि निर्णयविहीन भएको थियो ।



‘जेठ २ मा नफर्किए पार्टी एक रहन्न’
ओली पक्षका दोस्रा तहका नेताहरु वार्ताका लागि जुटेपनि नेपाल पक्षलाई विश्वास दिलाउने खाका भने प्रस्तुत भएको छैन । नेपाल समूहका एकजना प्रभावशाली नेता भन्छन्, ‘ओली जेठ २ मा नफर्किए त पार्टी नै एक रहेन नि । हामीलाई उनीहरुले जेठ २ मा आउनै दिएनन् भनेर बुझ्नपर्यो । फरक पार्टी भएपछि त हामीले रुखमुनि बस्ने कि, ओडारमा बस्ने कि, घर बनाउने कि, घरभित्रै बस्न नपाएपछि घर खोज्ने नै भयौँ नि ।’

शुक्रबार बालुवाटारमा भएको छलफलमा पनि कार्यदल बनाउने भन्नेबारे प्रस्ताव भएको थियो । तर, ओली पक्षसँग त्यसको ठोस खाका नै नभएकाले विश्वास गर्ने आधार नभएको नेपाल समूह बताउँछ । विगतमा पनि कार्यदल बनेका, त्यसको आधारमा पार्टी कमिटी निर्णयमा पनि पुगेको तर कार्यान्वयन नभएका उदाहरणहरू प्रशस्तै रहेकाले पनि अहिले सामान्य कुरामै विश्वास गर्न गाह्रो भएको ती नेताको भनाइ छ । 

सामूहिक राजीनामाको कुरा उठेको छ नि ? भन्ने फरकधारको प्रश्नमा नाम उल्लेख नगर्ने शर्तमा नेपाल समूहका एक नेता भन्छन्, ‘सामूहिक राजीनामाको कुरा माधव नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डेहरुले भन्नुपर्यो नि । हामी त आदेश दिएपछि मान्ने हौँ । हाम्रो राजीनामापत्र रेडी छ ।’

साथै, ओली आत्मआलोचित भएर आए विश्वासको मत दिने उनको तर्क छ । ‘केपी ओलीले विश्वासको मत हात पार्ने वा नपार्ने उनकै हातमा छ । उनी आत्मआलोचित भएर आए भने हाम्रो मत उनलाई नै हुन्छ । हामी एमाले मात्र नभई नेकपा सहित बचाउन पर्छ भनेर लागेका मान्छे, उनी सुध्रिएर आए भने नदिने भन्ने हुँदैन् ।’

सम्भावना सकियो !
दोस्रो तहका नेताहरुकै पहलमा नेता नेपाल र ओलीबीच २ चैत र वैशाख ८ र ९ गते भेट भयो । वार्ता भयो । तर, एक हुने कुनै छाँटकाँट देखिएन । त्यसपछि पनि दोस्रो तहका नेताहरु निरन्तर वार्ताकै अभ्यासमा छन् । 

तर, एमाले नेपाल समूहका एकजना नेता भन्छन्, ‘वार्ता त नगर्नुभन्दा गर्नै राम्रै हो, तर मिल्ने छाँटकाँट देखिँदैन क्या । बेकारमा वार्ता, वार्ता भन्ने अल्मल्याउने । निष्कर्षको कुरै नगर्ने जस्तो देखिएको छ ।’

उनका अनुसार ओली समूह फागुन २८ को निर्णय खारेज गर्ने र २ जेठमा फर्कने कुरामा विश्वस्त नै छैनन । उनले भने, ‘एकताको सम्भावना देख्दिनँ म त । प्रयास त गर्नै पर्यो, तर प्रयास असफल हुन्छ । अब सम्भावना कट्यो भन्छु मँ । उहाँले सहमति गर्नुहुन्न नै भन्ने लाग्छ मलाई । तीन तीन घन्टा अल्मल्याउने के गरेको होला ?’

नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्य पनि एमाले एकता सम्भावना निकै कम हुँदै गएको बताउँछिन् । उनले भनिन्, ‘स्थायी कमिटी सदस्यहरुले पहल त गर्नै पर्यो । एकताको प्रयास त गर्नै पर्यो । नमिल्नुभन्दा मिल्नु नै राम्रो हो नि त ।’

तर, ओलीलाई साथ दिनका लागि पनि आधार हुनुपर्ने उनको तर्क छ । उनले भनिन्, ‘तर, एकताको आधार के त ? के का लागि जुट्ने ? वा के का लागि ओलीलाई साथ दिने ? भन्ने त प्रष्ट हुनुपर्यो । एकताले आफैंलाई समस्या ल्याउँछ भने किन गर्ने ?’

  • प्रकाशित मिति : वैशाख २५, २०७८ शनिबार १२:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया