‘मेरो अन्तरआत्माले भन्छ, भोलिसम्म एमालेको विवाद समाधान हुन्छ’
नेपाल समूहका बुढाको तर्क : राजीनामासम्म पुग्दैन कुरो

काठमाडौं : सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि संसदबाट विश्वासको मत लिने तयारी गरिरहँदा माधवकुमार नेपाल–झलनाथ खनाल समूहका करिब २० सांसदले राजीनामा तयारी गरेका छन्। 

‌ओलीलाई असफल बनाउने सबैभन्दा ठूलो योजनासहित अघि बढिरहेका नेपाल पक्षले २ जेठ २०७५ मा नफर्किए सहमति हुन नसक्ने बताउँदै आएको छ। 

यही विवादबीच कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माधव नेपाल पक्षका एकजना संघीय सांसद राजबहादुर बुढा एमाले अझै पनि एक रहने सम्भावना रहने बताउँछन्। 

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको विवाद मिलाउन दोस्रो तहका नेता पनि असफल भएको अवस्थामा सांसद बुढाले अझै पनि एकता बचाउने सम्भावना रहेको उल्लेख गरे।

शुक्रबार र शनिबार दिनभर गरिएको प्रयास असफल भएपछि शनिबार साँझ नेपाल समूहले सामूहिक राजीनामा तयारी गरेको छ । आज बस्ने नेपाल समूहको भर्चुअल बैठकले यसबारे औपचारिक निर्णय गर्ने बताइएको छ। दैलेखबाट निर्वाचित सांसद बुढा नेपाल समूहको राजीनामा दिने सूचीमा छन् । 

तर, उनी अझै सामूहिक राजीनामा पहिले समाधान आउने तर्क गरिरहेका छन् । फरकधारसँग संक्षिप्त कुराकानी गर्दै सांसद बुढाले भने,‘हाम्रा नेताहरुको सामूहिक राजीनामा पहिला नै समाधान निकाल्नुपर्छ ।’



उनले नेताद्वय ओली र नेपाल विवेकशील भएको भन्दै पार्टीलाई बर्बाद नगर्ने पनि विश्वास लिएका छन्। ‘पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल हाम्रो पार्टीका विवेकशील नेताहरु हुनुहुन्छ', उनले भने, 'त्यति मूर्ख हुनुहुन्‍न, उहाँहरुले पार्टीलाई बर्बाद नगर्नुहोला । दुईजनाले भोलि बिहान १२ बजेसम्म समस्या समाधान गर्ने कुरा अझै पनि मेरो अन्तरआआत्माले भनिरहेको छ।'

सामूहिक राजीनामाबारे  शीर्षस्थ नेताहरुले भनिरहेको कुरामा फरकधारले ‘अझै पार्टी एक हुन्छ ?’ भनेर सोधेको प्रश्नमा बुढाले जवाफ दिए, ‘एकदमै ! असहज परिस्थिति देखिएको छ, यो सकसले निकास दिन्छ भन्‍ने लाग्छ ।’



उनले अझै पनि राजीनामासम्म पुग्ने अवस्था नआउने बताए। 'भोलिसम्म विवाद सुल्झिएन भने तपाईंको निर्णय के हुन्छ ?’ भन्‍ने अर्को प्रश्नको जवाफमा बुढाले भने, ‘त्यहाँसम्म हामीलाई पुर्‍याउनुहुन्छ होला जस्तो लागेको छैन। हाम्रा दुवै नेताहरुले, समस्याको समाधान निकाल्नुहोला।’

  • प्रकाशित मिति : वैशाख २६, २०७८ आइतबार १२:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया