राष्ट्रियसभा उपनिर्वाचन : बादललाई मतदान गर्न एमालेको ह्वीप

नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा 'बादल' लाई मतदान गर्न ह्वीप जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले सोमबार बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार एवम् गृहमन्त्री बादललाई मत हाल्न ह्वीप जारी गरेका हुन् ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापामगर भएको जानकारी गराइन्छ,’ ह्वीप लगाइएको पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत जेठ ६ गते ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको एकल बहुमत छ । पार्टीको ह्विप अनुसार मतदान भएमा बादलको जित करिब पक्का भएको छ। माओवादीबाट एमालेमा लागेपछि बादललाई राष्ट्रियसभाबाट हटाइएको थियो। उपनिर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा लगायतले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन्। 

देवकोटा एमालेको माधवकुमार नेपाल समूहका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको विवादका क्रममा कांग्रेस-माओवादी समर्थनमा नेपालले देवकोटालाई बादलविरुद्ध अघि सारेका थिए। तर नेपाल र ओलीबीच वार्ता भएर कुरा मिल्न थालेपछि अब एमालेका उम्मेदवार बादल नै भएका छन्। 

यसअघि माओवादी केन्द्र बागमती प्रदेश कमिटीले राष्ट्रिसभा सदस्यमा नेकपा एमालेका माधवकुमार नेपालनिकट खिमलाल देवकोटालाई विजयी गराउन ह्वीप जारी गरिसकेको छ।



माओवादी केन्द्रका बागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमरकट्टेलले संयुक्त विज्ञप्ति निकालेर देवकोटालाई मत हाल्न ह्वीप जारी गरेका थिए।

उनीहरुले निकालेको विज्ञप्तिमा संघीयता र गणतन्त्रका उपलब्धिलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा विषय विज्ञ, ज्ञाता र सक्षम व्यक्ति डा. देवकोटालाई विजयी गराउन संघीयता पक्षधरहरुको दायित्व हुने जिकिर गरिएको छ। उनीहरुले बादल प्रतिगामी कित्तामा गएको आरोप पनि लगाएका छन्।



  • प्रकाशित मिति : जेठ ३, २०७८ साेमबार २२:१३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया